शेयेर गर्नुहोस
टीकापुर २८ कार्तिक /
जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले खेलकुदले स्वास्थ्यमा मात्रै नभई खुशीको वातावरण पनि सिर्जना गर्ने बताएका छन् । अध्यक्ष चौधरीले एकाताको सन्देश समेत प्रवाह गर्ने काम गरेको बताए । “खेलकुदमा विभिन्न क्षेत्रबाट सहभागिता भएको हुन्छ । त्यो सहभागिताले सामाजिक सद्भाव र एकताको काम पनि गरेको हुन्छ ।” उनले भने, “यसबाट आपसी सम्बन्ध स्थापित हुनुका साथै अनुभव आदानप्रदानको काम समेत भएको हुन्छ ।”
प्रतियोगिताको अवसरमा गाउँपालिसँग आपसी सम्बन्ध कायम गर्नको लागि छिमेकी पालिकासँग मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना समेत गरिएको उनले जानकारी दिएका छन् । “यो प्रतियोगिता एउटा खुशी साटासाट गर्ने थलो हो भने आफ्नो क्षमता देखाउने स्थान पनि हो ।” अध्यक्ष चौधरी भन्छन्, “त्यसकारण प्रतियोगितालाई सिकाईको एउटा महत्त्वपूर्ण आधारको रुपमा पनि लिन सकिन्छ ।” कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले खेलकुदका माध्यमबाट राष्ट्रलाई अन्तरास्ट्रिय स्तरमा चिनाउन विशेष भुमिका खेल्ने बताउँदै उत्कृष्ट खेलाडी पहिचान गर्ने पहिलो आधार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको बताएका छन् ।
खेलकुद बिद्यार्थीको अन्तर्निहित क्षमताको विकास सँगै स्वास्थ्यका हिसाबले पनि महत्त्वपूर्ण रहेको जानकी गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले जानकारी दिएकी छन् । उनले पछिल्लो समयमा बालबालिकाहरुमा बढ्दै गएको मोबाइल फोन प्रयोगको लतलाई कम गर्नको लागि पनि यस्ता प्रतियोगिता आयोजना भैरहनु पर्नेमा जोड दिएकी छन् । प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले खेलकुदको विकास र खेलाडी उत्पादनको आधार बिधालयस्तरबाट नै सुरु हुने बताउँदै राष्ट्रलाई चिनाउने महत्त्वपूर्ण माध्यम खेलकुद भएको बताएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा नं. ८ का वडा अध्यक्ष तिर्थराज उपाध्यायले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पालिका स्तरीय छनोट कार्यक्रम सुरुवाती चरण भएको भन्दै यसैबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको खेलाडीको उदय हुने बताएका छन् । कार्यक्रममा कार्यपालिका सदस्य पार्वती डगौरा, बिधालय व्यवस्थापन समितिको तर्फबाट लक्ष्मण अधिकारी र प्रधानाध्यापकको तर्फबाट कपिलराज भाटले आफ्नो धारणा राखेका थिए ।
गाउँपालिकाका सामाजिक विकास समिती संयोजक तथा वडा नं. ७ का वडा अध्यक्ष कमल महतोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शंकर न्यौपानेले गरेका थिए । प्रतियोगिता गाउँपालिका भित्रका ३७ बिधालयले सहभागिता जनाएका छन् । सोही प्रतियोगिताको अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरु बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिको छ । जसमा जानकी गाउँपालिका सहित भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सहभागिता रहेको छ ।
कार्यक्रममा शिक्षण पेशाबाट अवकाश पाएका जनक बहादुर थापा, बलीराम कठरिया, नथनी शाह र स्वर्गीय रामनारायण चौधरीलाई सम्मान गरिएको थियो । मंसिर १ गतेसम्म सञ्चालन हुनेछ ।