जानकी र लम्कीचुहामा सीमा विवाद

शेयेर गर्नुहोस


टीकापुर २६ जेठ /
जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाबिच सीमा विवाद देखिएको छ ।
लम्की–टीकापुर सडकमा लम्कीचुहा नगरपालिकाले स्वागत गेट बनाउन थालेपछि सो विवाद देखिएको हो। सो स्थल जानकी गाउँपालिका वडा नं. ५ मा परेको भन्दै गाउँपालिकाले विरोध जनाएको छ। नगरपालिकाको गेट बनाइ छाडने र जानकीले बन्न नदिने अडान लिएपछि शनिवारदेखि यहाँ स्थानीयविच तनाव उत्पन्न भएको छ ।
जानकी गाउँपालिकाले बैठक गरी बल मिच्याँइ गरेर गेट निर्माण नगर्न विज्ञप्ति नै जारी गरेको छ। पालिकाका अध्यक्ष गणेश चौधरीद्वारा जारी विज्ञप्तिमा जिल्ला समन्वय समितिसँग समन्वय गरी नापी विभागको सहयोगमा समाधान निकाल्नु पर्नेमा हदैसम्मको बलमिच्याँइ भएको भनिएको बताइएको छ ।
जनप्रतिनिधिहरु आआफ्नै दावीमा लागेका बेला आइतबार लम्कीचुहा नगरपालिकाले नगरप्रहरी खटाएर काम जारी राखेपछि जानकी गाउँपालिका नागरिकहरु अवरोध गरेका छन् । विवाद भइरहेको स्थल पुग्नुभएका जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख खगराज भुषालले दुवै पालिका प्रमुख र जनप्रतिनिधिहरु बसेर विवाद टुङ्ग्याउनु पर्ने र जनता लडाइमा उत्रिन नहुने बताए । नगरपालिकाले बनाउन लागेको गेटको पूर्वपट्टिको खम्बा अमौरी गाउँमा र पश्चिमपट्टिको खम्बा शिवपार्वती सामुदायिक वनमा परिरहेको छ। जानकी गाउँपालिकाले वन र अमौरी गाउँसहित तीन सय मिटर परसम्म गाउँपालिकाको सीमाना रहेको दावी गरेको छ।
सो क्षेत्रलैओ लम्कीचुहाले पनि आफ्नो दावी गरिरहेको छ । यहाँ लम्कीचुहा नगरपालिकाले करिब ३३ लाखको लागतमा स्वागत गेट बनाउन निर्माण कम्पनीलाई ठेक्का दिएको छ । दुवैको दावीबिच ठेकेदारले काम सुरु गरेपछि विवाद सतहमा आएको हो । लम्कीचुहा नगरपालिकाको सीमा जोडिएको जानकी, मोहन्याल गाउँपालिकासँग नदी स्रोतको स्वामित्वका विषयमा पनि सीमामा विवाद हुँदैआएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *