टिकेन झुट, परेन विमानस्थलका लागि बजेट

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १३ पुस/
टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने भन्ने कुरा टीकापुरका लागि नौलो कुरा होइन ।
पटकपटक टीकापुर विमानस्थल सञ्चालनको विषय उठ्ने मात्रै गरेको छैन । त्यो भन्दा बढी टीकापुरका सरोकारवालाहरु विमानस्थल सञ्चालनका लागि सरकार परिवर्तन हुने बित्तिकै काठमाडौ पुग्ने गरेका छन् । पछिल्लोपटक गठबंधनको सरकार बनेपछि विशेषगरी नेपाली काँग्रेस र नेकपा माओवादीका नेताहरू काठमाडौ पुगेर कर्णाली नदी सन्कट्टिमा पुल निर्माण,सत्ती भन्सारको व्यवस्थापन र टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने भन्दै अर्थमन्त्री, पर्यटन मन्त्रालयमा पुगेर छलफल मात्रै गरेनन् । चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत अर्थमन्त्रीले पारित गरेको बजेटमा टीकापुर विमानस्थलको संरचना विकासको लागि डल्लो बजेटमा छुट्याइएको भन्ने कुरा बाहिर आएको थियो ।
त्यतिबेला सामाजिक सञ्जालका भित्ताहरु त्यही सनकट्टी र टीकापुर विमानस्थलका लागि बजेट विनियोजन गराउन सफल भयौं भनेर भरिए । तर, त्यो झुट धेरै दिन टिक्न सकेन । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आइतबार बाहिरिएको बजेटमा टीकापुर विमानस्थलको नाम नै उल्लेख छैन । सुदुरपश्चिम प्रदेशका दशवटा विमानस्थलका लागि तीन करोड देखि एक अर्ब बजेट विनियोजन हुँदा टीकापुर विमानस्थलका लागि बजेट विनियोजन नहुनु टीकापुरलाई केन्द्रले निकै उपेक्षा गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका प्रेस सल्लाहकार बिमलबहादुर बिष्टले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको बैठकले कुन विमानस्थललाई कति बजेट विनियोजन गर्ने भन्नेबारे निर्णय भएको बताउँदै सामाजिक संजालमा देखिएको बजेट यथार्थ रहेको र अब मन्त्री परिषदको निर्णयबाट पारित भएर कार्यान्वयनमा जाने बताएका छन् ।
तर, तत्कालीन विमानस्थलका अध्यक्ष टीकाराम जैशीले समाधान न्युज दैनिकको गत भाद्र २९ गते प्रकाशित समाचारमा विमानस्थलका लागि छुट्टै बजेट विनियोजन नभएको भएपनि डल्लो बजेटबाट यसै चालू आर्थिक वर्षबाटै स्तरउन्नतिको काम सुरु हुने बताएका थिए । डेलिगेशनका लागि जैशी पनि मन्त्रालयसम्म पुगेका थिए । “छुट्याउने कुरा भएको थियो । तर अहिले खै के कति कारण बजेट परेन त्यो थाहा भएको छैन ।” अध्यक्ष जैशीले भने, “डल्लो बजेटमा छ भन्ने आश्वासन पाएका थियौं । अब चालू आर्थिक वर्षमा विमानस्थल निर्माणको काम सञ्चालन हुने सम्भावना अब निकै कम छ ।”
त्यसबेला डेलिगेशनमा गएका सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि विमानस्थल सञ्चालनमा आउने दाबी गरेका थिए । त्यतिमात्र होइन, रावलले टीकापुरमा कार्तिक १ गते आएको बाढीका कारण भएको क्षतिको स्थलगत अनुगमनमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरलाई हेलिकप्टरबाटै विमानस्थलको अवलोकन गर्न लगाएको र विमानस्थलको काम यसै वर्षबाट सुरु हुने बताएका थिए । नेता रावलले बोलेको कुरालाई नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको बैठकले भनिएको डल्लो बजेट फुटाउँदा सुदुरपश्चिम प्रदेशका दशवटा विमानस्थलका लागि सफल भएपनि टीकापुरका लागि त्यसले छुन सकेन । डा. रावलले टीकापुर विमानस्थलका लागि बजेट नपरेपछि सोमबार मन्त्री आलेसँग छ्लफल गरि दुई करोड बजेट विनियोजन गरिएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
टीकापुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज रावलले त्यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भइनसकेको अवस्थामा वर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले टीकापुर विमानस्थलका लागि १० देखि २० करोड बजेट विनियोजन गर्ने आश्वासन दिएको बताए । “हामिले भेट गर्दा मन्त्री आले नियुक्त भएका थिएनन् । कुरा अर्थमन्त्रीसँग भएको थियो ।” रावलले भने, “स्थानीय तहले प्रयास गर्नुपर्ने हो । टीकापुर नगरपालिकाले कुनै भुमिका खेल्न सकेन । बजेट विनियोजन गर्ने कुरा भएर अहिले बजेट नआउनुमा हामी पनि चकित भएका छौँ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रले टीकापुर विमानस्थललाई बजेट नपर्नुमा एमालेको सरकार भएर हो कि भन्दै प्रश्न गरेका छन् । उनले एकातिर विमानस्थल सार्नुपर्छ भनेर सर्वदलीय निर्णय गर्ने र अर्कोतिर त्यहीँ विमानस्थल सञ्चालनको लागि प्रयास गर्ने जस्ता कुराहरूले सस्तो लोकप्रियता कमाउने काम मात्रै भएको बताएका छन् । “टीकापुरमा विमानस्थल हुनुपर्छ । त्यसका लागि मैले गर्नुपर्ने कामका लागि म जे पनि गर्न तयार छु । हिजोका दिनमा विमानस्थल सार्ने कुरा भएर पनि मन्त्रालयबाट तीन सदस्यीय टोलिले अनुगमन समेत गरेर गएको छ ।” नगर प्रमुख रावलले भने, “सामाजिक सञ्जालका भित्ता भर्दैमा विकास हुँदैन । बरु अनुगमनमा आएको समितीले बनाएको प्रतिवेदन कता पुग्यो त्यसको खोजी गरौं ।”
उनले नगर खेलकुद विकास समितीको जग्गा र विमानस्थलको जग्गा सट्टापट्टा गर्ने कुरामा अहिले प्रधानमन्त्री समेत आफ्नै प्रदेशको र नागरिक उड्डयनमन्त्री पनि आफ्नै प्रदेशको भएको समयमा जग्गाको समस्या समाधान गर्नतिर लाग्न सके भोलिका दिनका लागि पनि राम्रो हुने बताएका छन् । नगर प्रमुख रावकले अहिलेकै विमानस्थल सञ्चालनका लागि स्थानीय तहको प्रमुखको हैसियतले जहाँ जानुपर्ने भएपनि आफू जान तयार रहेको बताउँदै सस्तो लोकप्रियताको लागि एउटै कुरा भजाएर समाजमा सरोकार राख्नेहरुले हिड्न नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *