शेयेर गर्नुहोस
टीकापुर ०६ असार/
टीकापुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तेर्हौं नगर सभाबाट पारित भएको छ ।
मंगलबार भएको नगरपालिकाको १३ औं नगर सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । नगर प्रमुख रामलाल डंगौरा थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले पुराना कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । नगरपालिकाले यसभन्दा पहिलेको हाम्री छोरी, प्यारी छोरी कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै टीकापुर अस्पतालमा सञ्चालन भैरहेको विशेषज्ञ सेवालाई निरन्तरता दिने भएको छ ।
नगरपालिकाले बिद्यार्थीमा उच्च नैतिक चरीत्र र अनुशासनको विकासका लागि ६ कक्षादेखि ८ कक्षासम्म हाम्रो टीकापुर नामक स्थानीय पाठ्यक्रम तयार गरी शैक्षिकसत्र २०८१ बाट कक्षा ६ बाट लागू हुने गरी पाठ्यपुस्तक तयार पारिने भएको छ । सबै बालबालिकालाई बिधालयमा भर्ना गर्नका लागि सघन बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।
पुर्वाधारतर्फ सबै वडा जोड्ने सडकको स्तरोन्नतिको कार्यलाई निरन्तरता दिने भनिएको छ । नगरपालिकाले सम्झौता अनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम जरिवाना गर्ने प्रावधानमा कडाइका साथ लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
केही कार्यपालिका सदस्यले केही बुदाहरु सच्याउन र थप्न माग समेत गरेका थिए । एक वडा एक गौरवको आयोजना अन्तर्गत सबै वडामा कालोपत्रे सडक निर्माणको कामलाई निरन्तरता दिइने भनिएको छ ।
त्यस्तै बायो उर्जालाई वैकल्पिक उर्जाको रुपमा विकास गरी नगरपालिकाको आम्दानीको स्रोतको रुपमा विकास गर्नका लागि वडा नं. १ मा रहेको मनब मलमुत्र प्रशोधन केन्द्र र वडा नं.५ मा रहेको गोबर ग्यास प्लान्टलाई सञ्चालनमा ल्याउने बताइएको छ । जुन आयोजना निर्माण सम्पन्न भएको दुई वर्ष हुनै लागेको छ । त्यस्तै नगरपालिकाले चालू आर्थिक वर्षमा पनि राखेको टीकापुर पार्कलाई प्लास्टिक जन्य फोहोर मुक्त क्षेत्र घोषणा कार्यक्रमलाई बिधालय, हाट बजार र अस्पतालमा पनि लागु गर्ने भनेको छ । तर नगरपालिकाको चालू आर्थिक वर्षमा पार्कलाई प्लाष्टिक जन्य फोहोर मुक्त क्षेत्र बनाउन सकेको छैन । नगरपालिकाले मेरो नगर मै सफा गर्छु अभियान समेत सञ्चालन गर्ने बताएको छ ।
नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई वडा नं.१ का वडा अध्यक्ष मोहन विकले नीति तथा कार्यक्रम बढी महत्वाकांक्षी जस्तो देखिएको बताएका छन् । उनले नगरपालिकाको स्रोतसाधनले भ्याउने खालको नीति तथा कार्यक्रम ल्याउन सके त्यसलाई कार्यान्वयनमा सहज हुने बताएका छन् । त्यस्तै कार्यपालिका सदस्य रामबहादुर नगार्जीले नीति तथा कार्यक्रमका बुँदा हेर्दा निकै लोभलाग्दा भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न ध्यान पुर्याउनुपर्ने बताएका छन् । उनले लोकप्रिय बनेको नीति तथा कार्यक्रममा समावेश भएका विषयवस्तुहरु कार्यान्वयन नभए त्यसको औचित्य नहुने बताएका छन् ।
नगर प्रमुख रामलाल डंगौरा थारुले नगरको स्रोतसाधनले भ्याउने गरी नीति तथा कार्यक्रम आएको बताएका छन् । उनले विगतका राम्रा कुराहरूलाई निरन्तरता दिँदै केही नयाँ र नगरको आवश्यकताको आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् । “सबै कुरा नयाँ हुनुपर्छ भन्ने छैन । विगतका राम्रा कुराहरूलाई पनि हामीले निरन्तरता दिएका छौँ र दिनु पनि पर्छ ।” नगर प्रमुख थारुले भने, “हाम्रो स्रोतसाधन जति छ त्यति मै रहेर नीति तथा कार्यक्रम आएको छ । यसले नीति तथा कार्यक्रममा समावेश भएका विषयहरुलाई कार्यान्वयन गर्नका लागि सहज हुनेछ ।”