शेयेर गर्नुहोस
लक्ष्मण विक, टीकापुर ३० असार /
टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा प्रवाह, कार्यक्रम र आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले नगरपालिकाको समग्र विषयवस्तुमा चिन्ता व्यक्त गरेका छन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा समाजसेवी ललित थापाले नगरपालिकामा नागरिकहरुले तिरेको कर निजीकरण भएको आरोप लगाएका छन् । उनले नागरिकहरूले घर निर्माण गर्दा मापदण्ड अपनाउनुपर्ने तर त्यहीँ मापदण्ड बनाउने नगरपालिकाले निर्माण गरेका भवन वर्ष दिनमै जिर्ण हुनुको कारण खोजेका छन् । थापाले बिद्यालय समायोजन र दरबन्दी मिलानमा नगरपालिका उदासीन देखिएको बताएका छन् । लोकबहादुर बुढा क्षेत्रीले छिमेकी पालिकाबाट सामुदायिक चौपाया टीकापुर केन्द्रित हुन थालेपछि त्यसको व्यवस्थापनमा चुनौती थपिएको बताएका छन् ।
मातृकाप्रसाद तिमिल्सिनाले पर्यावरणको मापदण्डमा वडाको विकास गर्नुपर्ने भन्दै नगरपालिकाले तीन नगरसभा सम्पन्न गर्दा पनि वडा बिभाजनको विषयलाई प्रवेश नगराएको भन्दै आपत्ति व्यक्त गरे । उनले सार्वजनिक सुनुवाइ गर्न पनि स्थानीय तह डराएको भन्दै नगर प्रमुख र उपप्रमुखको नाममा विनियोजन भएको बजेटले टीकापुर बन्न नसक्ने बताएका छन् । बालकृष्ण चौधरीले सर्वसम्मत नभए अल्पमत र बहुमतको आधारमा भएपनि वडा विभाजन हुनुपर्ने भन्दै विकासका कार्यक्रमलाई पनि तीन तहको सरकारबाट आउने बजेटको आधारमा वर्गीकरण गरेर काम गर्न सुझाव दिएका छन् । उनले नगरपालिकाले स्वरोजगारका लागि भएका प्रयासहरुबाट भएको उपलब्धि खोजेका थिए ।
ध्रुव खत्रीले स्थानीय सरकारले पहुँचका आधारमा विकासका कार्यक्रम अगाडि बढाइएको भन्दै प्राथमिकताको आधारमा काम गर्न आग्रह गरेका छन् । तेजबहादुर ठकुल्लाले समस्या आएपछि मात्रै समाधानको विकल्प खोजिँदा त्यसले ठूलो क्षति पुग्ने गरेको बताउँदै कर्णाली नदी नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्ने सहभागीहरुले समग्र टीकापुरको विकास र सम्भावनाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले नगर प्रमुख र उपप्रमुख बिचको दुरीका कारण पनि धेरै सम्भावनाहरु ओझेलमा परेको टीकापुर बनाउनका लागि सबै एक ठाउँमा आउनुपर्ने बताएका छन् ।
सहभागीहरुका प्रश्नहरुको जवाफ दिँदै नगर प्रमुख रामलाल डंगौरा थारुले नागरिक स्तरबाट उठेका प्रश्नहरुको गम्भीर समिक्षा गर्दै सुझावलाई अनुसरण गरेर अगाडि बढ्ने बताएका छन् । “हामी सबैलाई टीकापुर सुन्दर भएको हेर्ने धोको छ । सबैलाई टीकापुर बन्नुपर्छ भन्ने चिन्ता छ । त्यो चिन्ता हामीलाई पनि छ ।” नगर प्रमुख थारु भन्छन्, “म एक्लैले चाहेर टीकापुर बन्दैन । टीकापुर बनाउनका लागि हामी सबैको साथ, सहयोग र समन्वय चाहिन्छ । त्यसको अपेक्षा म गर्छु ।”
उनले सिमित स्रोतसाधनले धेरै कामहरू गर्नुपर्ने भएका कारण पनि जनताको अपेक्षाअनुसार परिणाम आउन नसकेको बताएका छन् । “हामी केही राम्रा पालिकाको स्थितिलाई हेरेर हाम्रो क्षेत्रलाई तुलना गरिरहेका छौं । एउटा महानगरपालिकाको बजेट एउटा प्रदेशको बजेट बराबर छ । अनि कसरी तुलना हुन्छ् ?” नगर प्रमुख थारुले भने, “हामी हाम्रो क्षमताले भ्याएको गरिरहेका छौं । गर्ने पनि छौं । सबैलाई सँगसँगै समेटेर लिने प्रतिबद्धता पनि छ । पर्खनुहोस विकास हुन्छ ।”
नगर उपप्रमुख खडक शाहले नामको भन्दा कामले दिएको परिणामको खोजी गर्न आग्रह गरेका छन् । सहभागीबाट उठेका प्रश्नको जवाफ दिँदै नगर उपप्रमुख शाहले एकै वर्षमा धेरै अपेक्षा गर्न नहुने भन्दै परिणाम आउन समय लाग्ने बताएका छन् । “हामीले भरखरै रुख उमारेका छौं । त्यसले फल दिन अझै समय लाग्छ । त्यसका लागि पर्खन सक्नुपर्यो ।” नगर उपप्रमुख शाहले भने, “यदि आगामी दिनमा पनि कुनै परिवर्तन हुन सकेन । त्यो महसुस गर्न सकिएन भने प्रश्न गर्नुहोला ।”
संघ र प्रदेशका विकास आयोजनालाई छिटोछरितोका लागि खबरदारी गर्ने काम गर्न सके पनि कारबाही गर्ने अधिकार स्थानीय तहलाई नभएको बताउँदै काम छिटोछरितोका लागि सम्बन्धित क्षेत्रमा खबरदारी गर्ने काम निरन्तर भैरहेको नगर उपप्रमुख शाह बताउँछन् । सुकुम्बासी समस्या समाधानका लागि पनि काम भैरहेको बताउँदै त्यो सुविधा पाउनेले पाउने शाह बताउँछन् । उनले वडा विभाजनको विषयलाई हिउँदे अधिवेशनबाट टुंगोमा पुर्याउने पनि बताए ।
प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाही, वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रसँग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । सामुदायिक रेडियो टीकापुर एफएमको सहजीकरणमा भएको कार्यक्रमको सञ्चालन एकिन्द्र तिमिल्सिनाले गरेका थिए ।