शेयेर गर्नुहोस
टीकापुर ०९ पुस /
टीकापुरमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले टीकापुर बजार सरसफाइ गरेको छ ।
समाजका करिब ११० जनाले मिलेर वातावरण सरसफाइ गरेका छन् । बिहान ९:०० बजेबाट सुरु भएको वातावरण सरसफाइ ३ घण्टासम्म गरिएको थियो । स्वयंसेवकहरूले ती फोहोरहरू सङ्कलन गर्नुका साथै सडक छेउका झारहरू उखेल्ने, ड्रेनेज होलहरूमा जमेर बसेको हिलो र धुलोहरू सफा गरेका थिए । १७५ वटा देशहरूमा लगभग ७,५०० वटा स्थानीय मण्डलीहरू भएको परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, छिमेकीलाई सहयोग, आपतकालीन राहत, शैक्षिक सहयोग र कोभिड-१९को बेला जोखिम वर्गलाई सहयोग गर्ने जस्ता विविध पक्षबाट परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गरिरहेको छ ।
सो मण्डलीले नेपालमा पनि टीकापुरमा मात्र नभई काठमाडौं, पोखरा, ललितपुर, रुपन्देही, भरतपुर, हेटौंडामा पनि स्थानीय वातावरण संरक्षण गर्ने कार्यलाई निरन्तरता दिँदैआएको छ । वृद्धाश्रमको सान्त्वनादायक भ्रमण, ईटहरीको गैरी गाउँमा बाढीले क्षति पुऱ्याएको ठाँउमा मर्मत-सम्भारको कार्य गरी मण्डलीले स्थानीय समुदायमा न्यानोपन थपेको छ । त्यसै गरी श्री जनता आधारभूत विद्यालयका सबै विद्यार्थीलाई ७० थान विद्यालय पोशाक उपलब्ध गराउनुको साथै ईटहरीको श्री सरस्वती माध्यमिक विद्यालयलाई स्कूल बसको लागि मण्डली अनुदान सहयोग गरेको छ । मानव-जातिको मुक्तिको लागि ख्रीष्टको बलिदानको सम्झनामा मण्डलीले विश्वव्यापी रूपमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम, रक्तदान अभियान’ पनि सक्रियतापूर्वक गर्दैआएको छ । यो वर्ष मात्रै मण्डलीका करिब ९६० रक्तदाताहरूले रक्तदान गरे, जुनचाहिँ कुल सहभागीको ७० प्रतिशतभन्दा बढी हो ।
यसरी अनवरत रूपमा जारी हुँदैआएको परमेश्वरको मण्डलीको प्रेम बाँड्ने कार्य २०७२ सालको भूकम्पको बेला पनि सक्रिय थियो । मण्डलीका करीब १५ हजार सदस्यहरूद्वारा ७१० वटा प्रभावित क्षेत्रहरूमा मर्मत-सम्भार तथा घाइतेहरूलाई उद्धार गर्ने कार्य गरियो, र विस्थापित भएका पीडितहरूलाई आपत्कालीन राहत सामग्री तथा अनुदान सहयोग गरियो । यातायात अवरुद्ध भएको सेर्तुङ र तिप्लिङ जस्ता हिमाली क्षेत्रका गाउँहरूमा १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक खाद्यान्न पुर्याइयो । अनि सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालयमा पुनर्निर्माण तथा शैक्षिक सामग्री सहयोग गरी भविष्यका कर्णधारहरूको मनमा आशा रोप्ने कार्य गरियो ।
यस किसिमको नि:स्वार्थ सेवाका लागि परमेश्वरको मण्डलीलाई नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, सुनसरी तथा भक्तपुर शाखाका सभापति, श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक, श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूद्वारा प्रशंसा-पत्र, कदर-पत्र जस्ता थुप्रै अवार्डहरू प्रदान गरिएको छ । अनि मण्डलीले विश्वव्यापी रूपमा ४,०००भन्दा बढी विभिन्न अवार्डहरू प्राप्त गरिसकेको छ, जसमा संयुक्त राज्य अमेरिकाका ३ राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदक, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड समावेश छन् ।