शेयेर गर्नुहोस
टीकापुर २२ पुस/
सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको तयारी तिब्र पारिएको छ ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा यहीँ पुस २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने टीकापुर महोत्सवको मिति नजिकिँदै जाँदा तयारी तिब्र पारिएको हो । महोत्सव सञ्चालनका लागि आवश्यक संरचना निर्माण लगायत कामहरूलाई तिब्रताका साथ अगाडि बढाइएको छ । महोत्सवको घेरबार निर्माण, स्टल, रमाइलो मेला, थारु गाउँ निर्माण, मञ्च निर्माण देखि राष्ट्रिय कलाकार सहित अन्य आवश्यक कामहरूमा काम भैरहेको संघका महासचिव प्रकाश तिमिल्सिनाले जानकारी दिएका छन् ।
“समय नजिकिँदै गएपछि हामी संघको कार्यसमितिलाई निकै व्यस्तता बढेको छ । संघका पदाधिकारीहरुलाई जिम्मेवारी बाँडफाँड गरेर काम भैरहेको छ ।” उनले भने, “महोत्सव अवलोकनका लागि आउने दर्शकलाई कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा गम्भीर भएर काम हुँदै छ ।” उनले दर्शकलाई सहज बनाउने उद्देश्यले यसपटकबाट महोत्सवको टिकट इ-सेवाबाट पनि काट्न पाइने व्यवस्था गरिएको महासचिव तिमिल्सिनाले जानकारी दिएका छन् । महोत्सव अबलोकन गर्नका लागि लाइनमा लागेर टिकट काट्नुपर्ने झन्झट इ-सेवाबाट टिकट उपलब्ध हुँदा कम हुने विश्वास संघले गरेको छ ।
महोत्सव अवलोकन गर्नका लागि प्रती टिकट एक सय लाग्ने छ । बिद्यार्थीले ५० रुपैयाँ मै महोत्सव अवलोकन गर्न पाउने छन् भने, एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकहरूलाई महोत्सव अवलोकनका लागि कुनै शुल्क लाग्ने छैन । महोत्सवमा अभिनेता पल शाह, गायक दुर्गेश थापा, एलिना चौहान, शान्ति श्री परियार, प्रकाश सपूत, चक्र बम, टंक तिमिल्सिना, लालबहादुर धामी अछामी बड्डो, मञ्जु पौडेल लगायतका दर्जनौं राष्ट्रिय कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा बिधालय स्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन हुने छ ।
त्यतिमात्र नभई, महोत्सवमा कृषि प्रदर्शनी, बिज्ञान प्रदर्शनी, रमाइलो मेला, थारु गाउँ लगायतका थुप्रै आकर्षणहरु रहने संघका महासचिव तिमिल्सिनाले जानकारी दिएका छन् । उनले टीकापुर महोत्सवलाई सफल बनाउनका लागि सबैको साथ सहयोगको अपेक्षा पनि गरेको बताएका छन् ।










