टीकापुर महोत्सव सुरु

शेयेर गर्नुहोस


टीकापुर २८ पुस/

सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८० शुक्रवारदेखि सुरु भएको छ ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको उद्घाटन कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले विकास र सम्भावनाहरुलाई स्थापित गर्न तीन तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । टीकापुर महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विकास र सम्भावनालाई स्थापित गर्न तीन तहको सरकारको समन्वय आवश्यक हुने बताउनुभएको हो ।
“हामीसँग भएका सम्भावनाहरुलाई प्रदेश सरकारले पहिचान गर्दै त्यसमा संघीय सरकारले लगानी गरेर त्यसको परिचालनका लागि स्थानीय सरकार एक ठाउँमा आउनुपर्छ ।” उहाँ भन्नुहुन्छ, “एउटा सरकारबाट मात्रै धेरै अपेक्षा गरेर सबै कुरा पुरा हुन सक्दैन । तिनै तहको सरकार जिम्मेवार भएर समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्छ ।” उपप्रधानमन्त्री खड्काले सुदुरपश्चिम ठूलो आर्थिक सम्भावना बोकेको प्रदेश भएको बताउँदै त्यसबाट फाइदा लिन सक्नुपर्ने बताउनुभयो । “आर्थिक सम्भावनालाई हेर्दा सुदुरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ । ती सम्भावनाहरुको पहिचान गरेर कार्यान्वयनमा ल्याउन सरकारले काम गरिरहेको छ ।” उपप्रधानमन्त्री खड्का भन्नुहुन्छ, “पश्चिम सेती, पञ्चेश्वर, महाकाली सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ लगायत पर्यटकीय क्षेत्रको विकासले सुदुरपश्चिम सुन्दरपश्चिम बन्छ ।”उहाँले १० हजार मेगावाट भन्दा बढी जलविद्युतको उत्पादनको सम्भावना रहेको कर्णाली नदीको प्रारम्भिक अध्ययन सरकारले सुरु गरेको पनि बताउनुभयो । “
महोत्सव सम्बोधनका क्रममा खड्काले स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सवहरुले भुमिका खेल्नुपर्ने समेत बताउनुभयो । उहाँले स्थानीय उत्पादनका सम्भावनाहरुलाई उजागर गर्न पनि आग्रह गर्नुभयो । “स्थानीय उत्पादनको बजारीकरणलाई बलियो बनाउन सक्यो भने त्यो क्षेत्रलाई समृद्ध बनाउन समय लाग्दैन ।” उपप्रधानमन्त्री खड्का भन्नुहुन्छ, “समस्या उत्पादनको नभई बजारीकरणको छ । बजारीकरण भएपछि उत्पादनको क्षेत्र आफै फराकिलो बन्नसक्छ ।”
कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज रावलले टीकापुर विकासका दृष्टिकोणले अझै पछाडि परेको बताउँदै टीकापुरकै इतिहासमा मन्त्री बनेकाहरुले झण्डा हल्लाउँदैमा केही हुन नसक्ने प्रतिक्रिया दिएका छन् । “टीकापुरले दोस्रोपटक संघीय मन्त्री पाएको छ । पहिलोपटक बनेका मन्त्री खड्गबहादुर सिंहले टीकापुर बनाए । अबका मन्त्रीबाट टीकापुरले विकास चाहेको छ । झण्डा हल्लाउँदैमा टीकापुर बन्न सक्दैन भन्ने बुझ्न जरुरी छ ।”
सुदुरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष अनुपकुमार उपाध्यायले टीकापुर सम्भावना बोकेको क्षेत्र भएपनि त्यसको समयानुकूल विकास हुन नसकेको बताएका छन् । उनले प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनले सुदुरपश्चिमका सम्भावनालाई उजागर गर्ने र लगानीको वातावरण बनाउने आश्वासन व्यक्त गरेका छन् । प्रदेश सांसद ललिता सुनारले स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि पनि महोत्सव महत्त्वपूर्ण हुने बताएकी छन् ।
महोत्सवका प्रमुख अतिथि तथा उपप्रधानमन्त्री खड्कालाई टीकापुर उद्योग वाणिज्य संघले सत्ती भन्सारमा क्वारेन्टाइन स्थापना, कर्णाली नदीको सन्कट्टिमा निर्माण हुने पुलको काम समयमै सम्पन्न हुने गरि पहल गर्न, टीकापुर विमानस्थल सञ्चालन, टीकापुरलाई केराको पकेट क्षेत्र घोषणा, टीकापुर पार्कलाई ऐतिहासिक संग्राहलयको रुपमा विकास गर्नुपर्ने लगायत सात बुदे मागपत्र समेत पेस गरेको छ ।
संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सन्तोष खड्काले गरेका थिए भने सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।
महोत्सव माघ आठ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, बिज्ञान प्रदर्शनी, थारु गाउँ स्थानीय कला संस्कृतिको प्रदर्शनीदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *