शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १२ भदौ /
टीकापुर सामुदायिक पुस्तकालयको पाचौं वाषिर्क चुनावी साधारणसभाको उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि
सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पुस्तकालय अनौपचारिक विश्वविद्यालय भएको बताएका छन् । प्रदेश प्रमुख जोशीले पुस्तकालयबाट धेरै कुराको ज्ञान् लिन सकिने र एउटै ठाउँमा धेरै कुराको सिकाई हुने भएकोले पुस्तकालय विश्वविद्यालय भएको बताएका हुन ।
“पुस्तकालयमा धेरै विषयवस्तुहरु राखिएका हुन्छन् । ती विषयवस्तुबाट हामिलाई धेरै कुराको सिकाई हुनसक्छ ।” प्रदेश प्रमुख जोशीले भने, “हामिले एउटै ठाउँम बसेर धेरै कुराको ज्ञान् आर्जन गर्न सक्ने भएकोले नै पुस्तकालयलाई अनौपचारिक विश्वविद्यालय मान्न सकिन्छ ।” उनले पुस्तकले पाठकको भोक मेटाउने काम समेत गर्ने गरेको बताए । “पुस्तकले ज्ञानको भोक मेट्छ । त्यस्तो भोक मेटाउने क्षेत्र मध्येको एक पुस्तकालय हो ।” प्रदेश प्रमुख जोशीले भने, “शिक्षाको मुल्यांकन पुस्तकबाट हुने भएकोले पनि ज्ञानको मापन गर्ने स्थल पुस्तकालय नै हो ।”
उनले एउटा पुस्तकले देशलाई बदल्न सक्ने बताउँदै पुस्तक र पुस्तकालयको सम्बन्धलाई नागरिकसामु मजबुत बनाएर लैजानुपर्ने बताएका छन् । पुर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले पुस्तकालयलाई अबका दिनमा नयाँ ढंगबाट अगाडि बढाउन सक्नुपर्ने बताएका छन् । उहाँले त्यसैअनुसारको नेतृत्वलाई आगामी दिनमा अवसर दिनुपर्ने बताए ।
कार्यक्रममा पुर्व सांसद गंगाबहादुर कुँवरले बदलिँदो समयअनुसार पुस्तकालयलाई पनि परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् । उनले अहिलेको प्रविधिले पुस्तकालयलाई ओझेलमा पारेको महसुस हुन थालेको बताएका छन् । नेपाली काँग्रेसका टीकापुर नगर सभापति नरेश कुमार खत्रीले सामाजिक संस्थामा निर्वाचन गरिरहनु उचित नहुने बताउँदै सहमतिको आधारमा नेतृत्व चयन गरिनुपर्ने बताएका छन् । उनले पुस्तकालयमा गएर अध्ययन गर्ने बानिको विकास गर्ने वातावरण सिर्जना गर्नसक्ने क्षमता भएको ब्याक्तीलाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् ।
पुस्तकालयको पाचौं वार्षिक चुनावी साधारणसभाको अवसरमा साहित्यकार तथा पुस्तकालयका नियमित पाठक बालकृष्ण खनाल, उत्कृष्ट कर्मचारीको रुपमा सह लेखापाल रेखा गिरी सम्मानित भएका छन् । पुस्तकालयका उपाध्यक्ष ताराप्रसाद जोशीले स्वागत गरेको कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौंरा थारु, नगर उपप्रमुख खडक शाह, वडा नं.१ का वडा अध्यक्ष मोहन विक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचीव कण्ठराज गिरीले गरेका थिए ।