टेकबहादुर साउँद स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

शेयेर गर्नुहोस


टीकापुर १५ असार /
सहिद टेकबहादुर साउँद स्मृति केन्द्रको आयोजनामा प्रथम ब्याडमिन्टन पक प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
स्मृति केन्द्रका उपाध्यक्ष गणेश ओझाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कराते खेलका प्रशिक्षक बबरजंग शाहीले खेलाडीहरु प्रकृतिलाई चुनौती दिएर खेल्न बाध्य भएको बताउँदै इन्डोर खेलकुदको लागि निकै समस्या रहेको बताएका छन् । उनले खेलकुद क्षेत्रमा स्थानीय सरकारले लगानी गर्दै आएको बताउँदै संरचनागत विकासमा प्रदेश र संघीय सरकारले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
“खेलकुद क्षेत्रमा संरचनागत विकासमा अझै राज्यको लगानी हुन सकेको छैन । देशकै लागि ठूलो सम्भावना भएका खेलाडीहरु अभावले बाहिर प्रस्तुत हुन सकेको देखिँदैन ।” उनले भने, “खेलाडीका लागि आवश्यक पुर्वाधार निर्माण गर्न सक्यो भने मात्रै खेल क्षेत्रको विकास गर्न सकिन्छ ।” शाहिले खेलकुद क्षेत्रमा भविष्य नभएपछि कयौं खेलाडी खेल क्षेत्रबाट पलायन भएको बताएका छन् ।
कार्यक्रममा नेकपा एमालेका कैलाली जिल्ला सदस्य भुपेन्द्र साउँदले खेलकुद क्षेत्रमा राज्यको लगानी निकै कम रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने खालका पुर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकापुर नगर अध्यक्ष रवीन्द्र विष्टले खेलकुदले अनुशासनको पाठ सिकाउने बताउँदै खेलकुदका गतिविधिले समाजमा हुने आपराधिक घटनामा कमि ल्याउन सकिने बताएका छन् ।
स्मृति केन्द्रका सचीव बीरबहादुर चौधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत सल्लाहकार कमलराज जोशीले गरेका थिए । प्रतियोगितामा ५०टिमको सहभागिता रहेको छ । बुटवल देखि कञ्चनपुरसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने टिमले ३१ हजार नगद पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *