शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २२ असार /
खेलकुद क्षेत्रका लागि भन्दै टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले चैत १४ गते एक कार्यक्रमका बीच कभर्डहलको शिलान्यास गरेका थिए ।
टीकापुर नगर विकास समितीको लागतमा निर्माण हुने भनिएको कभर्डहलको शिलान्यास भन्दा बाहेकको कुनै काम हुन सकेन । चालू आर्थिक वर्षमा नगर विकास समितिको दुई करोड बजेटबाट काम सुरु गर्ने कुरा शिलान्यासको बेला नगर प्रमुख रावलले बोलेका थिए । टेन्डरनै नभएर शिलान्यास भएको कभर्डहल बन्ने कुरामै शंका उत्पन्न हुन थालेको छ ।
यतिबेला कभर्डहलको लागि शिलान्यास भएको क्षेत्रमा ठेकेदारले माटो भण्डारण गरेको छ । शिलान्यास भएको क्षेत्रलाई समेत आफ्नो व्यापारिक प्रयोजनका लागि राखिएको माटोले पुरिसकेको छ । नगरपालिकाले निर्माण गर्न लागेको स्थानमा समेत निर्माण व्यवसायीहरुले निर्माण सामाग्रीहरु थुपारेको पाइएको छ । चैतमा शिलान्यास भएको क्षेत्रमा संरचना बन्ने हो भन्ने सम्म नबुझेर आफ्नो फाइदाको लागि हुने गतिविधिले राज्यको सम्पत्तिमा ब्याक्तीको रजाइँ हुन थालेको छ ।
नगर विकास समितिका सव इन्जिनियर नेत्र रावलले दुई करोड बजेट नगर विकास समितिले विनियोजन गरेको भएपनि बाँकी रकमको स्रोत नहुँदा काम अगाडि बढ्न नसकेको हुनसक्ने बताएका छन् । उनले कभर्डहलका लागि विनियोजन भएको रकम खर्च गर्ने निर्णय समेत नभएको बताएका छ । “नगर विकासको दुई करोडले कभर्डहल बन्ने अवस्था भएन । बाँकी रकमको स्रोत निश्चित नहुँदा पनि काम अगाडि बढ्न सकेन ।” सव इन्जिनियर रावलले भने, “अब नयाँ नेतृत्व आएको छ । त्यसले शिलान्यास भएको कभर्डहललाई पूरा गर्ला । चालू आर्थिक वर्षमा जति भयो त्यति नै हो ।”
कतिपयले कभर्डहलको शिलान्यासलाई चुनावी फन्डा समेत भनेका थिए । टीकापुर नगरपालिकाकी लेखा प्रमुख लक्ष्मी वडले कभर्डहलका लागि विकास समितिबाट बजेट विनियोजन भएको बताएकी छन् । “बजेट विनियोजन भएको थियो । टेन्डर हुन सकेन । बजेट पनि खर्च भएको छैन ।” लेखा प्रमुख वडले भनिन्, “यो वर्ष उक्त बजेट फ्रीज जाने भएको छ । आगामी आर्थिक वर्षका लागि विकास समितिले निर्णय गर्ला ।” नगर विकास समितिले कभर्डहलको डिपिआरमा पाँच लाख खर्च भएको बताउँदै लेखा प्रमुख वडले कभर्डहल र डिपिआरका लागि फरकफरक बजेट विनियोजन भएको बताइन् ।
पाँच लाखको लागतमा कभर्डहलको पाँच करोड ५४ लाख ६२ हजार २८ रुपैयाँको लागत स्टिमेट गरेको छ । डिपिआरको जिम्मा ड्रीम हाइट इन्जिनेरिङ एण्ड कन्सल्टेन्शीले काठमाडौले पाएको थियो । टेन्डर बिनाको कभर्डहलको शिलान्यास भएका कारण अहिलेको सरकारले त्यसैलाई निरन्तरता दिने सम्भावना समेत कम देखिएको छ । यसरी हेर्दा कभर्डहल निर्माण अनिश्चित जस्तै बनेको गुनासो आउन थालेको छ ।
आजको समाधान न्युजमा खबर छ ।