शेयेर गर्नुहोस
टीकापुर २८ जेठ /
सार्वजनिक सेवा प्रवाहका लागि नेपाल सरकारद्वारा नियुक्त भएका कर्मचारीको प्रमुख काम हो सेवाग्राहीको सेवा प्रवाह ।
नागरिकहरुको सेवा प्रवाहका लागि नियुक्त भएका कर्मचारीहरुले नीति नियम र कानुनको परिधिभित्र रहेर सेवा प्रवाह गर्ने कुरामा दुई मत छैन । त्यसका लागि कर्मचारीहरुले अनुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने हुन्छ । तर केही कर्मचारीहरुको आडम्बरीपनका कारण राम्रा कर्मचारीहरुले पनि त्यसको दोष खेप्नुपरेको छ । भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीलाई त्यस्ता अनुशासन र बिधि र नितिको कुनै प्रवाह छैन ।
शुक्रबार समाधान न्युज दैनिकको टोलि नगरपालिकामा उनको कार्यकक्षमा पुग्दा उनले टेबलमा खुट्टा तेर्साएर बसेको दृश्य खिचेको थियो । त्यो दृश्यको बारेमा उनले खासै चासो दिएनन् । उल्टै यो मेरो टेबल र कुर्सी हो म जे पनि गर्न पाउँछु भन्दै प्रश्नको जवाफ दिए । “यो बसेको कुर्सी मेरो हो । मैले खुट्टा राखेको टेबल मेरो हो । यसमा म जे पनि गर्न सक्छु ।” स्वास्थ्य शाखा प्रमुख चौधरीले भने, “सामान्य कुरालाई ठूलो बनाइराख्न जरुरी छैन । पत्रकारले अरु गर्न नै के सकेको छ । त्यहीँ लेख्ने काम त हो लेख्नुहोस न !”
उनले नगरपालिकामा स्थायी कर्मचारीहरुको युनियन समेत रहेको खुलाएका छन् । युनियनले गरेको काममा स्थायी कर्मचारीहरु सधै एक ठाउँमा रहने उनको प्रतिक्रिया दिएका छन् । “हामी स्थायी कर्मचारी एक ठाउँमा छौं । एउटालाई समस्या पर्यो भने हाम्रो युनियनले त्यसको खण्डन गर्छ ” चौधरीले भने । उनको भनाइबाट नगरपालिकामा रहेका अस्थायी र स्थायी कर्मचारीहरु बिचको भिन्नतालाई प्रष्ट्याउन कठिन थिएन ।
पत्रकार खेमराज पाण्डेले नगरपालिकामा कर्मचारीका यस्ता कैयौं कमजोरीका कारण सेवाग्राहीले दैनिक दुख पाउने गरेको बताएका छन् । उनकाअनुसार नागरिकहरुले एउटै कामको लागि दैनिक नगरपालिका धाउनुपर्ने बाध्यता छ भने पहुँच र पावर भएकाहरुको भनसुनकै आधारमा काम हुने गरेको छ । “कसैको काम एकैछिनमा हुन्छ । कसैलाई त्यहीँ प्रकृतिको कामका लागि हप्ता दिनसम्म नगरपालिका धाउनुपर्ने बाध्यता छ ।” पाण्डे भन्छन्, “भनौं भने नगरपालिका भित्र कैयौं कमजोरीहरु छन् । ती कमजोरीलाई केलाउने हो भने कोहि अछुतो छैन । गाह्रो प्रमाण जुटाउन मात्रै हो ।”