टोल विकास संस्थाको भविष्य संकटमा पर्ने चिन्ता

शेयेर गर्नुहोस


टीकापुर ११ चैत /
टीकापुर नगरपालिकाले एक वर्ष अगाडि मात्रै दर्ता प्रक्रियामा ल्याइएका टोल विकास संस्थाको भविष्य संकटमा परेको छ ।
टोल विकास संस्था मार्फत समुदायमा नागरिकहरूलाई समाजप्रति जिम्मेवार बनाउने र समुदायलाई जागरुक बनाउने उद्देश्यका साथ गैरसरकारी संस्थाको समन्वयमा नगरपालिकाले गठन गरेका टोल विकास संस्थाको भविष्य संकटमा परेको हो । द एसिया फाउन्डेसनको आर्थिक सहयोगमा सहकर्मी समाज नेपालको साझेदारीमा नगरपालिकाले हालसम्म एक सय ६६ टोल विकास संस्था दर्ता प्रक्रियामा ल्याएको भए पनि ती संस्थाको नवीकरण प्रक्रियामा देखिएको उल्झनले संस्थाको भविष्य अन्योलमा पर्दै गएको छ ।
टोल विकास समितिले समुदायमा विकास निर्माण देखि लागत सहभागिताको क्षेत्रमा सकारात्मक काम गर्दै आएका छन् । संस्थाले समुदायको सरसफाइलाई प्रमुख प्राथमिकतामा राखेका छन् । त्यतिमात्र नभई उनीहरूले मासिक बचत संकलन गर्नुका साथै स्थानीय सरकारको साझेदारीमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने योजना समेत बनाएका छन् । तर, अहिले दैनिक टोल विकास संस्थामा पदाधिकारी संस्था नवीकरणका लागि नगरपालिका पुग्ने गरे पनि त्यसै फिर्ता भैरहेका छन् ।
सहकर्मी समाजको नगरपालिकामा तीन सय ३५ टोल विकास संस्था गठन गर्ने अवधारणा रहेको भए पनि समयावधि पुगेका टोल विकास संस्था नवीकरणका लागि नगरपालिकाले कार्यविधि बनाउन गरेको ढिलाइका कारण यो समस्या देखिएको हो । “हाम्रो शान्तिनगर टोल विकास संस्था गत वर्ष माघ १८ गते दर्ता दर्ता भएको थियो ।” संस्थाका अध्यक्ष रमेश बहादुर सिंहले भने, “पटकपटक नवीकरणका लागि नगरपालिका आइने काम मात्रै भएको छ । नवीकरण कहिले हुन्छ, टुंगो छैन ।” नगरपालिकाको तथ्यांकमा गत वर्ष माघ १५ गते संघर्ष टोल विकास संस्था दर्ता भएको थियो । विधानअनुसार एक वर्षमा संस्थाको नवीकरण गर्नुपर्ने व्यवस्था छ भनिएको छ तर, नवीकरण कसरी गर्ने भन्ने कार्यविधि नबनेका कारण समस्या सिर्जना भएको देखिन्छ ।
टोल विकास संस्थालाई बलियो बनाउने भनेको नगरपालिकाले सहकर्मी समाज मार्फत चार जना कर्मचारीको तलबभत्ता समेत खर्च गर्दै आएको छ । १० जना सहजकर्ताको तलबभत्ता द एसिया फाउन्डेसनले उपलब्ध गराउँदा चार जनाको नगरपालिकाले बेहोर्ने गरेको सहकर्मी समजका कार्यक्रम अधिकृत नवराज जोशीले जानकारी दिएका छन् । जोशीले संस्था नवीकरणको काम आफ्नो नभएको बताउँदै संस्था गठन गरेर स्थानीय सरकारसँग समन्वय गराउने काम मात्रै समाजको भएको बताएका छन् ।
“गठन भएका संस्थाको नवीकरण नगरपालिकाले गर्नुपर्ने हो । त्यसमा हाम्रो भुमिका हुँदैन ।” उनले भने, “किन कति कारणले नवीकरण हुन सकेन र त्यसका लागि आवश्यक समन्वय नगरपालिकासँग हामीले गर्न सक्छौं ।” उनका अनुसार संस्थामा समाजले सन् २०२७ सम्म काम गर्ने छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाले त्यसको निगरानी गर्ने र समन्वयका लागि खटाइएको कर्मचारीले प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । उनले संस्थाको जिम्मेवारी पाएकी कर्मचारी अमृता रावलको जिम्मेवारी भित्र पर्ने बताए । “जुन कर्मचारीले जुन जिम्मेवारी पाएका छन्, त्यो गर्नुपर्यो । टोल विकास संस्थाको कुरा पनि त्यहीँ हो ।” उनले भने, “जुन कुरा आवश्यक हो त्यो कुराको जानकारी गराएपछि हामीले थाहा पाउने हो । सबै हामीलाई थाहा हुने कुरा पनि भएन नि ।” उता नगरपालिकाकी फोकल पर्सन अमृता रावलल फाउन्डेसन र समाजका पदाधिकारी सहित कार्यविधि बनाउने विषयमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएको बताएकी छन् । उनले आफ्नो तर्फबाट पटकपटक संस्था नवीकरणको प्रयास भए पनि त्यसलाई कार्यपालिकाको एजेन्डा नबनाइएको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *