ढल तथा मानव मलमुत्रीय फोहोर ब्यबस्थापन आयोजनाको सार्वजनिक सुनुवाइ

शेयेर गर्नुहोस


लक्ष्मण बि.क.
मंसिर ०८, टीकापुर/ टीकापुर वर्षाते ढल तथा मानव मलमूत्रीय फोहोर व्यवस्थापन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
तेस्रो साना सहरी खानेपानी तथा सरसफाई क्षेत्रगतको आयोजना आयोजना व्यवस्थापन कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन काठमाडौंको आयोजनामा उक्त ढल तथा मानव मलमूत्रीय फोहोर व्यवस्थापन आयोजना सम्पन्न हुने भएको छ । टीकापुर साना शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष भैरव रावलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल रहेका थिए।कार्यक्रममा प्रमुख अतिथी रावलले टीकापुर बर्षाते ढल तथा मानव मलमूत्रीय फोहोर व्यवस्थापन आयोजना करिब ९७ करोडको योजनामा कार्यक्रम हुने जानकारी दिएका छन् । उनले उक्त योजना नगरपालिकाका लागि गौरवको आयोजना समेत रहेको बताएका छन् । उनले उक्त योजनामा टीकापुर नगरपालिकाको समेत १५ प्रतिशत लगानी रहेको जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाकी नगर उप-प्रमुख केशरी बिष्टले जुन ढल निकासको योजना आयो त्यो योजना नगरपालिकाले गौरव गर्नुपर्ने आयोजना आएको बताएकी छन् । उनले टीकापुरको वर्षाते ढल तथा मानव मलमूत्रीय फोहर व्यवस्थापन आयोजना टीकापुर नगरपालिकाका लागि अहिलेसम्मकै सबभन्दा ठूलो योजना भएको बताएकी छन् । उप-प्रमुख बिष्टले आयोजनाको काम गर्दा स्थानीय स्तर तथा बजार क्षेत्रमा केही हानी/नोक्सानी भए तापनि त्यो हानी/नोक्सानी केही क्षणका लागि मात्र हुने र स्थानीय जनतालाई दीर्घकालीन रुपमा लाभ हुने बताएकी छन् । उनले ढल निकास तथा फोहोर व्यवस्थापनका लागि नगरपालिका र वडागत रुपमा छुट्याइएको बजेटलाई यसै आयोजनासँग जोडी काम गर्ने समेत बताएकी छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गंगाराम आचार्यले गौरवको योजना अनुरुप नगरबासीलाई मात्र नभई वडाबासीका लागि पनि खुशीको कुरा रहेको बताएका छन् । विकासको क्रममा बिनाश अवश्य नै हुने बताउँदै वडाअध्यक्ष आचार्यले तर त्यो विनाश अल्पकालीन रुपमा रहने बताए । यसबाट दीर्घकालीन रुपमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बताएका छन् ।
कार्यक्रममा प्रारम्भिक वातावरणीय परीक्षाका वातावरणीय अधिकृत लक्ष्मण जौशी र आयोजनाका वातावरणीय इन्जिनियर दिपेन्द्र तिमिल्सिनाले काम गर्ने क्रममा जनता तथा स्थानीयबासीलाई के-कति असर पर्ने भन्ने कुराको जानकारी दिएका थिए । उनले आयोजनाको काम ४९ दशमलव ००१ किलोमिटर भए तापनि पहिलो चरणमा करिब २९ किलोमिटर मात्र काम हुने बताएका छन् । आयोजनाको ढल निकास ज्ञानी कुलो र जमरा कुलाका गरी २१ स्थानबाट ढल निकास गरिने बताएका छन् र आयोजनाको काम आउदो डिसेम्बर महिनाको अन्तिम देखि सुरु हुने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *