तलब नपाउँदा स्वास्थ्यकर्मी आन्दोलित

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी ०६ बैशाख /
कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी चार महिनासम्म तलब नपाएको भन्दै आन्दोलित भएका छन् । संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आउनुभएका ४० जना स्वास्थ्यकर्मीहरुले चार महिनादेखि तलब नपाएपछि तलबको माग गर्दै आन्दोलित भएका हुन ।
नगरपालिका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरीले लामो समयदेखि तलबभत्ता उपलब्ध नहुँदा निकै समस्या भएर संघर्षमा उत्रनुपरेको बताउनुभयो । “४० जना स्वास्थ्यकर्मी छौं । चार महिनासम्म तलब छैन । अन्य भत्ता छैन । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीहरुले तलब पाइसक्नुभयो । अन्य कर्मचारीहरुले तलब पनि आइसक्यो ।” चौधरीले भन्नुहुन्छ, “हामी भने चार महिनादेखि विना तलब काम गर्नुपरेको छ । घरमा के खाने भन्ने स्थिति आइसक्यो ।”
उहाँका अनुसार पटकपटक विभागमा तलबको पैसा हाल्न आग्रह गर्दा पनि सुनुवाइ भएको छैन । उल्टो स्थानीय तहबाट तलबभत्ता बुझ्न भनेको छ । संघ सरकारले गत आर्थिक वर्षमा दुई किस्तामा बजेट पठाएको थियो । पहिलो किस्तामा एक करोड ९२ लाख र दोस्रो किस्तामा ४२ लाख पठाएको स्वास्थ्य शाखा प्रमुख चौधरी बताउनुहुँन्छ । उहाँकाअनुसार चालू आर्थिक वर्षमा भने एक करोड ४२ लाख बजेट मात्रै आएको छ । “नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर उपप्रमुख लगायत वडा अध्यक्षलाई समेत लिएर विभागमा बजेटका लागि पुगेका थियौं । त्यो बेला रकम पठाउने आश्वासन पाएका थियौं ।” चौधरीले भन्नुभयो, “अहिले विभाग बजेट नै छैन भन्ने प्रतिक्रिया आएको छ । स्थानीय तहबाट तलब बुझ्न भन्दै आएको छ । स्थानीय तहले बजेट नभएको भन्दै टार्दै आएको छ ।”
संघ सरकारबाट नियुक्त भएर स्थानीय तहमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहमा समायोजनका लागि सहमति दिएपछि दोहोरो सहमतिका आधारमा कर्मचारी समायोजन हुँदै आएका छन् । स्वास्थ्यकर्मीहरुले मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले मंगलबारदेखि हातमा कालो पट्टी बाधेर काम सुरु गरेका छन् । १० गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने योजना उहाँहरुको छ । त्यसैगरी, स्वास्थ्य क्षेत्रको मासिक रिपोर्ट नपठाउने लगायतका कामहरू रोकेर विरोध गर्ने स्वास्थ्यकर्मी बताउनुहुँन्छ । तर, उहाँहरूले तत्काल नगरपालिकाबाटै भएपनि दुई महिनाको तलब उपलब्ध भएको स्थितिमा आन्दोलनको कार्यक्रम फिर्ता लिने पनि बताएका छन् ।
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भने स्वास्थ्यकर्मीको समस्या तत्काल नगरपालिकाले समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले नगरपालिकाको अहिलेको स्थितिले समस्यालाई समाधानको बाटोमा लैजान नसक्ने भन्दै स्वास्थ्यकर्मीको सेवा उपलब्ध गराउने जिम्मा संघीय सरकारको भएको बताउनुभएको छ ।
“कर्मचारी संघीय सरकारबाट आएका हुन । उनको सेवासुविधा संघ सरकारले नै बेहोर्नुपर्छ ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “हामीले नियुक्त गरेका कर्मचारीहरुलाई सेवासुविधा रोकेका छैनौं । उहाँहरुको नियमानुसार काम भैरहेको छ ।” उहाँले नगरपालिकासँग बजेट भए त्यसको दीर्घकालीन नभए पनि अल्पकालीन समाधान गर्न सक्ने भन्दै त्यस्तो स्रोतको पहिचान गरेर समस्या समाधान हुने देखिए त्यसमा काम गर्ने बताउनुभयो ।
केही दिन पहिले जोशीपुर गाउँपालिकामा पनि स्वास्थ्यकर्मीहरु छ महिनादेखि तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए । एक महिनाभन्दा लामो आन्दोलनपछि गाउँपालिकाले एक महिनाको तलबभत्ता उपलब्ध गराएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *