मकै बेचेर जीवन निर्वाह गर्दै

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०७ बैशाख /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ भुपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जिविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जिविका चलाउँदै आउनुभएका कलैया एक वर्षभन्दा बढी समयदेखि घरमै हुनुहुन्छ । कामको खोजीमा दौडधुपमा रहनुभएका कलैयाले पछिल्लो समय सडक छेउमा मकै पोलेर बिक्री गरेर जिविका चलाउँदै आउनुभएको छ ।
अरुको बारीबाट मकै खरिद गरेर श्रीमान श्रीमती दुबैजना दिनभर मकै बेच्न व्यस्त देखिन्छन् । सानो मकै २० रुपैयाँ र ठूलो मकै २५ रुपैयाँमा बिक्री हुन्छ । श्रीमान पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न । “केही गरेर खानलाई आफुसँग तागत भन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्नका लागि जग्गा छैन ।” कलैया भन्नुहुन्छ, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्रि गर्ने गरेका छौं । त्यसैबाट आएको पैसाले घर खर्च चलाउन थालेका छौं ।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्मको कमाई हुनेगरेको कलैया बताउनुहुँन्छ ।
एकतापुर शिविरकी कल्याणी चौधरीको दैनिकी बजारका चोकचोकमा बित्ने गरेको छ । खाना खाएर मकैको कठ्ठा बोकेर टीकापुर पुग्ने कल्याणी तीन वर्षदेखि मकै बिक्रि गर्दै आउनुभएको छ । अहिले मकैको बेसिन भएका कारण कल्याणीले पोलेको मकै बिक्रिमा समस्या छैन । “ज्यालादारीमा भनेबेला काम पाइदैन । पाएको काममा पनो कमाई भन्दा बढी वचन सुन्नुपर्ने ।” कल्याणी भन्नुहुन्छ, “त्यो भन्दा काचो मकै ल्याएर पोलेर बिक्रि गर्दा राम्रो । कमाई पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने ।” उहाँले आफुसँग खेती गर्नका लागि जग्गा नभएको बताउँदै अरुबाट काचो मकै ल्याएर बिक्रि गर्ने गरेको बताउनुभयो ।
टीकापुर नगरपालिका वडा नं. २ बन्दिपुरकी सञ्जिबनी चौधरीका दुई छोरा नेपाल आर्मीमा हुनुहुन्छ । श्रीमान पनि भारतमा कमाउनुहुन्छ । उहाँलाई कसैको कमाई खाएर बस्ने रहर छैन । आफुसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जिबनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्नुहुन्छ । “आफुसँग काम गर्ने तागत छ । किन अरुको भरोसामा बाच्नु । आफ्नै कमाईले जीवन चलाउन मैले जानेकी छु ।” उहाँ भन्नुहुन्छ, “आफ्नो कामबाट सन्तुष्ट छु । वार्षिक पाँचदेखि ६ लाखसम्म कमाई हुन्छ ।”
उहाँले पाँच कट्टा जग्गामा मकै खेती गर्नुभएको छ । आफैले फलाएको मकै ल्याएर उहाँ बजारमा बिक्री गर्नुहुन्छ । “पोलेर बिक्रि गर्नकै लागि पाँच कट्टामा मकै खेती गरेकी छु । त्यहीँ मकै ल्याएर आगोमा पोलेर बिक्रि गर्दै आएकी छु ।” सञ्जिबनी भन्नुहुन्छ, “एक सिजनमा मकै बेचेर ५० देखि ६० हजार कमाई हुन्छ । अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुने गर्छ ।” सिजनमा तरकारी खेतीबाट पनि उहाँले राम्रो आम्दानी गर्नेगरेको बताउनुभयो ।
यतिबेला गर्मी सुरु भैसकेको छ । बजारका विभिन्न ठाउँमा रुख मुनि शिथिलतामा बसेर मकै पोलेर बेच्नेहरु बढ्दै गएका छन् । पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । कतिपयले मकै खेती आफै गरेका छन् भने कतिपयले अरु किसानबाट १० रुपैयाँमा मकै खरिद गरेर २० देखि २५ रुपैयाँमा सजिलै बिक्री गर्ने गरेका छन् । विपन्न परिवारका पुरुषहरु कमाउनको लागि बाहिर जाने र महिलाहरू सिजनमा गाउँमै ज्यालादारी गर्ने गर्छन् । काम नभएको समयमा किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्ने लगायतका काममा व्यस्त हुनेगरेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमीटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्नुहुन्छ । श्रीमान श्रीमती दुबै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोल्ने र बिक्रि गर्ने गर्नुहुन्छ । ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँ चार वर्षदेखि सिजनमा बजारमा मकै बेच्ने गर्दै आउनुभएको हो । “थोरै मिहेनतमा राम्रो आम्दानी हुनेभएपछी सिजनमा राम्रो आम्दानी हुनेगरेको छ । मकै बेचेर केही महिनाको घर खर्च र अहिले छोराछोरीको बिधालय भर्नाको जोहो भैहाल्छ ।” राधेश्याम भन्नुहुन्छ, “गर्मीयाममा मजदुरी गरेर जिविका चलाउन पनि मुस्किल हुन्छ । मजदुरी गर्नुभन्दा यो सिजनमा मकै बेच्नु राम्रो छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *