तारा एयरलाइन्सले दिएन पेश्की खर्चको हिसाब

शेयेर गर्नुहोस


झलनाथ खनाल,टीकापुर १८ कार्तिक/
गतवर्ष कार्तिक १२ गते परिक्षण तथा व्यावसायिक उडान सुरु भएको टीकापुर विमानस्थल सात महिनादेखि बन्द अवस्थामा रहेको छ ।
कार्तिक १२ गते नेपाल एयरलाइन्सले परिक्षण उडान सफल भएको टीकापुर विमानस्थलबाट सोही दिन नै तारा एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु भएको थियो । निकै तामझामका साथ सुरु भएको विमानस्थल एकाएक बन्द भयो । बन्द भएपछि विमानस्थल महिलाहरूको घाँस काट्ने थलो मात्रै बनेन बाख्रा चराउने मैदान बन्यो । त्यतिमात्र होइन लागुऔषध दुर्व्यसन गर्नेहरुका लागि राम्रो थलो बन्यो । अनैतिक क्रियाकलापमा संलग्नलाई सुरक्षीत स्थान बन्यो । सात महिनामा विमानस्थल लगभग खणडहर बन्यो ।
त्यो बेला टीकापुर नगरपालिकाले तारा एयरलाइन्ससँग १५ सिट अग्रिम बुकिङ गरेर जहाज चलाउने सहमति गरेपछि सुरुवातमा हप्ताको दुई दिन टीकापुर-नेपालगन्ज- काठमाडौं जहाज चलेको थियो । नेपालगन्जसम्म तारा एयरले टीकापुरबाट यात्रु पुर्याउने र त्यहाँबाट काठमाडौं यति एयरले लैजाने गरी सम्झौता नगरपालिकाले तारा एयरलाइन्ससँग गरेको थियो ।
सम्झौतामा १५ यात्रु नभएको स्थितिमा १५ सिटको भुक्तानी नगरपालिकाले गर्नुपर्ने उल्लेख थियो । सोही सम्झौता अनुसार प्रती सिट सुरुमा काठमाडौंसम्मको भाडा ९ हजार कायम गरिएको भए पनि पछि यात्रुको चापलाई मध्यनजर गर्दै हप्ताको तीन दिन जहाज सञ्चालन गर्ने र भाडादर पाँच सय घटाएर ८ हजार ५ सय कायम गरिएको थियो । त्यसै सम्झौता अनुसार नगरपालिकाले तारा एयरलाइन्सलाई ७ लाख ५१ हजार पाँच सय रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।
फागुन ८ गतेसम्म तारा एयरलाइन्सका ४८ उडान भएको तथ्यांक नगरपालिकासँग छ । नगरपालिकाले त्यो ४८ उडानमा एक सय एक सिटको रकम सम्झौताअनुसार भुक्तानी गरेको छ । जसमा नगरपालिकाले तीन लाख ३७ हजार पाँच सय रुपैयाँ भुक्तानी भएको नगरपालिकाका लेखापाल देवीकृष्ण जैशीले बताएका छन् ।
उनका अनुसार त्यसपछि नगरपालिकाले सम्झौता अनुसार पेश्की मार्फत दोस्रोपटक भुक्तानी गरेको चार लाख १४ हजार रुपैयाँको कुनै रिपोर्ट एयरलाइन्सले नगरपालिकालाई दिएको छैन । “४८ उडानको एक सय एक सिटको तीन लाख ३७ हजार पाँच सय भुक्तानी भएको भएको छ ।” उनले भने, “सम्झौता अनुसार डिपोजिट जम्मा गर्नुपर्ने हुँदा त्यसलाई पेश्की मार्फत चार लाख १४ हजार दोस्रोपटक भुक्तानी भएको रकम कति खर्च भयो, कति बचत छ त्यसको कुनै विवरण उपलब्ध भएको छैन ।”
उता तारा एयरलाइन्सका प्रतिनिधि सुवास खड्काले वर्षातको समयमा धावनमार्गको समस्याका कारण उडान भर्न नसकिएको बताएका छन् । उनले वर्तमान स्थितिमा जहाज अभावले सञ्चालन गर्न नसकिएको बताउँदै हिमाली क्षेत्रको उडान कम भएसँगै उडान गर्न सकिने बताएका छन् । “हामीसँग जहाज कम छन् । जहाजको अभावले उडान भर्न नसकिएको हो ।” उनले भने, “केही समयपछि आवश्यक समन्वय गरेर उडान भर्न सकिन्छ ।” उनले आर्थिक विषयमा आफुलाई जानकारी नभएको बताए ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु यतिबेला विमानस्थल सञ्चालनको लागि काठमाडौंमा छन् । संघीय सरकारले विमानस्थल सञ्चालनमा चासो नदिएको अवस्थामा यसपटक पनि गतवर्ष जस्तै नगरपालिकाले जिम्मा लिएर विमानस्थल सञ्चालनमा ल्याउने तयारीमा लागेको उनले बताए । “विमानस्थल सञ्चालनका लागि तारा एयरलाइन्ससँग छलफल भैरहेको छ । छलफल अनुसार केही दिनमा विमानस्थल पुनः सञ्चालन हुन्छ ।” उनले भने, “प्राविधिक कुराहरू जाँच गरेर ताराको विमान गत वर्षजस्तै चलाउने सहमति भएको छ ।”
विमानस्थलको धावनमार्ग कालोपत्रे नभएका कारण वर्षातको समयमा विमान चलाउन नसकिएको नगर प्रमुख थारुले बताए । “धावनमार्ग ग्राभेल छ । ग्राभेलमा विमान अवतरण गराउन विमान कम्पनी मान्दैनन् ।” उनले भने, “विमानस्थलको धावनमार्ग कालोपत्रे सहित बढाउनका लागि आवश्यक बजेटको समन्वय पनि भैरहेको छ ।” चालू आर्थिक वर्षमा विमानस्थल मर्मतसम्भारका लागि संघ सरकारले तीन करोड बजेट विनियोजन गरेको छ भने प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ । त्यसमा केही रकम नगरपालिकाले पनि विनियोजन गरेको छ । संघ सरकारले तीन करोड भन्दा कमका योजना कटौती गर्ने भने पनि विमानस्थलको बजेट कटौती नगर्ने आश्वासन अर्थमन्त्रीबाट पाएको नगर प्रमुख थारुको भनाई छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *