शेयेर गर्नुहोस
टीकापुर ०८ असार /
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तिल बहादुर परियार (तिलक) ले पार्टीको केन्द्रीय समिति सदस्य पदबाट राजीनामा दिएका छन् ।
आठौं महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका परियारले आइतबार संयोजकलाई सम्बोधन गर्दै राजीनामा सो पदबाट राजिनामा दिएका हुन । पार्टीले तय गरेको राजनीतिक तथा वैचारिक कार्यदिशाबाट क्रमशः विचलित हुँदै गएको, विचार र सिद्धान्तभन्दा गुटगत स्वार्थ हाबी भएको तथा संगठन व्यक्ति केन्द्रित बन्दै गएको आरोप लगाउँदै अलग भएको घोषणा गरेका हुन ।
राजीनामा पत्रमा परियारले आठौं महाधिवेशनले पारित गरेको कार्यदिशाले देश र जनताको भविष्यप्रति आशा जगाएको भए पनि पछिल्लो समय पार्टीभित्र गुटबन्दी र व्यक्तिगत स्वार्थका गतिविधि बढ्दै गएको उल्लेख गरेका छन् । उनले पार्टीको हितभन्दा नेतृत्वको वरिपरि घुम्ने र व्यक्तिगत लाभ खोज्ने प्रवृत्ति मौलाएको दाबी गरेका छन् ।
परियारले इमानदार कार्यकर्तालाई पाखा लगाउने, युवा पुस्तालाई अवसरबाट वञ्चित गर्ने तथा किसान, मजदुर, दलित र जनजातिजस्ता आधारभूत वर्गसँग पार्टीको सम्बन्ध कमजोर बन्दै गएको आरोप पनि लगाएका छन् । उनका अनुसार पार्टी जनसरोकारका मुद्दाभन्दा सत्ता केन्द्रित राजनीतितर्फ उन्मुख हुँदै गएको छ । पार्टीका संगठनात्मक संरचना चुस्त र व्यवस्थित बन्न नसकेको, अनुशासन र गोपनीयता कमजोर बन्दै गएको तथा संगठनभित्र गणेश प्रवृत्तिको प्रभाव बढ्दै गएको उनको भनाइ छ ।
पार्टीभित्र देखिएका यस्ता प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै परियारले वर्तमान अवस्थामा केन्द्रीय समिति सदस्य पदमा रहिरहन आफ्नो नैतिकताले अनुमति नदिएको निष्कर्षसहित राजीनामा दिएको बताएका छन् । राजीनामा पत्रमा उनले पार्टीमा रहँदा सहयोग गर्ने सम्पूर्ण सहयोद्धा, नेता तथा कार्यकर्ता प्रति आभार समेत व्यक्त गरेका छन् ।
उनले पार्टीको केन्द्रीय जिम्मेवारीबाट अलग भए पनि पार्टीबाट भने अलग नभएको बताएका छन् । “म पार्टीमा साधारण सदस्य भएर अहिलेलाई बस्ने छु ।” उनले भने, “महाधिवेशन पछि पार्टी सुदृढीकरण भयो भने पार्टी भित्र पुनः उपयुक्त जिम्मेवारीमा फर्कने छु ।










