शेयेर गर्नुहोस
टीकापुर ०५ भदौ /
कल्याणकारी सभा कैलाली क्षेत्र नं. १ को आयोजनामा टीकापुरमा पनि गुरिया (गुरही) पर्व मनाइएको छ ।
देशभरका थारु समुदायले नागपञ्चमीकै दिन अर्थात श्रावण शुल्क पञ्चमीको दिनलाई वर्षको पहिलो तिहारको मनाउँदै आएको गुरिया पर्व मनाइएको हो । थारु कल्याणकारी सभाका क्षेत्रीय अध्यक्ष लौटन चौधरीको अध्यक्षमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले गुरिया पर्व थारु समुदायको महत्त्वपूर्ण पर्व भएको बताउँदै त्यस्ता पर्वले सामाजिक सद्भावको भुमिका खेल्ने बताएका छन् । उनले गुरिया पर्व बर्खाको खेती लगाएर किसान फुर्सदमा भएको बेला लगाएको खेतीम रोगव्याधी नलागोस भन्ने जनविश्वास रहेको बताएका छन् ।
वडा अध्यक्ष चौधरीले नागपञ्चमी र गुरिया पर्वको सम्बन्ध पारस्परिक रहेको बताउँदै त्यसको जनविश्वास एउटै रहेको बताएका छन् । “थारु समुदायले आजको दिनलाई गुरिया पर्वको रुपमा मनाउने गरेको छ, भने पहाडी समुदायले नागपञ्चमीको रुपमा ।” वडा अध्यक्ष चौधरी भन्छन्, “यसको आस्था र जनविश्वास एउटै छ । मनाउने तरिका मात्रै हो ।” कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका कैलाली जिल्ला अध्यक्ष प्रदिप कुमार चौधरीले सरकारले स्थानीय स्तरमा रहेका विभिन्न कला, संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै लोप हुनलागेका कला संस्कृतिलाई संरक्षणको माध्यमबाट जिवित गर्न आवश्यक रहेको बताएका छन् ।
यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ। बालिका वा केटीहरूले गुरियासहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन्। फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने /पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना पनि भनिन्छ। गुरिया पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ। यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ। गुरियालाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ।
नेपाली काँग्रेसका टीकापुर नगर सभापति नरेश कुमार खत्री लगायतले शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा थारु कल्याणकारी सभाले नगरपालिकालाई टीकापुर स्थित भानु चोकको नाम गुरिया चोक नामकरण गर्न ज्ञापनपत्र बुझाएको छ । कार्यक्रमको सञ्चालन दिब्या प्रयासीले गरेकी थिइन । सोमबार गुरिया पर्वको अवसरमा कैलालीका ११ स्थानीय तहले सार्वजनिक बिदा समेत दिएका थिए ।