थोत्रा सवारी : जोखिमको यात्रा

शेयेर गर्नुहोस


टीकापुर ०१ कार्तिक /
चाडपर्वको समयमा अन्य समयको तुलनामा सार्वजनिक यातायातमा यात्रुको चाप निकै बढी हुने गर्छ ।
खासगरी दशै तिहारको समयमा सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रुले यात्रा गर्नुपरेको देखिन्छ । त्यसमा पनि सुदुरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लाका लागि छुट्ने सवारीसाधनको स्थिति हेर्दा गन्तब्यमा नपुगेसम्म चिन्ताले मन अशान्त बनाएको हुन्छ । साँघुरो बाटो, थोत्रा सवारीसाधन, अपरिपक्व चालक, क्षतमा भन्दा बढी यात्रु जस्ता समस्याले यात्रु सहजरूपमा यात्रा गर्न सक्दैन ।
कैलाली र कञ्चनपुरबाट सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला पुग्ने अधिकांश सार्वजनिक सवारीको निकै बिजोग देख्न सकिन्छ । कतिपय सवारीसाधन भगवान भरोसा पहाडबाट तराईका जिल्ला पुग्ने गरेको पनि पाइन्छ । पहाडी जिल्लामा सवारीसाधन बिग्रेको खण्डमा मर्मतसम्भार गर्ने ठाउँ छैन । मर्मतसम्भारका लागि धनगढी पुग्नुपर्ने बाध्यता हुँदा यात्रुलाई जोखिममा राखेर चालकले सवारीसाधन जेनतेन तराई पुर्याउने गरेको पाइएको छ ।
असोज २८ गते अछामको जयगडबाट टीकापुरका लागि छुटेको कर्णाली यातायात प्रालिको २४३७ नम्बरको बस बिना ब्रेकको जयगडबाट झण्डै ५० जना यात्रु बोकेर धनगढी पुग्यो । जुन बसको पछाडिका दुई चक्काको ब्रेक नै थिएन । “साफेबगरमा ब्रेक बनाउँदा ब्रेक बन्दैन । सामान ग्यारेजमा छैन । सकेसम्म यात्रु बोकेर नजान चालकलाई भनेको सुनेको थिए ।” त्यसै बसमा यात्रा गरेर टीकापुर पुगेका वीरेन्द्र खनालले भने, “उसको कुरा नसुनेरै बिना ब्रेकको बस चालकले जेनतेन धनगढी पुर्यायो ।” ग्यारेज मिस्त्रीसँग भएको कुरा सुनेका उनले त्यो कुरा अन्य यात्रुलाई भन्ने आट सम्म गर्न सकेनन् भने आफू पनि रातभर ब्रेक नभएको बस कतिबेला के हुन्छ भन्ने चिन्तामै कैलाली पुगे ।
पहाडी जिल्लामै पनि अछाम रुटमा चल्ने अधिकांश सार्वजनिक बसको स्थिति हेर्दा निकै बिजोग देखिन्छ । सवारीसाधन काम नलाग्ने भएर नथन्किएसम्म जबर्जस्ती चलाउन सवारी मालिकले बाध्य गराउने गरेको देखिएको छ । मर्मतसम्भार गर्न नसकेर ६ महिना घरमा थन्किएको पछि दशै तिहारको मौका छोपेर मर्मत नगरेरै चलाएको त्यो २४३७ नम्बरको बस एक उदाहरण मात्रै हुनसक्छ ।अधिकांश सवारीसाधनको स्थिति त्यो भन्दा फरक छैन ।
यात्रु बस्ने सिटको व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ । बसमा भएका झ्यालको अवस्था त्यस्तै हुन्छ । बसमा भएका कर्मचारीको व्यवहारले यात्रुहरु झन दिक्क हुने गरेका छन् ।
जुगाड गरेर चलाएका सवारीसाधनले कतिबेला साथ छोड्ने हो त्यसको लेखाजोखा कसैसँग छैन । यात्रुहरू सार्वजनिक बसको हविगत देखेर भगवान भरोसा यात्रा गर्नु परिरहेको बताउँछन् । केही सवारीसाधनमा हिड्ने कर्मचारी लागुऔषधको प्रयोग गर्ने गरेको पनि पाइएको छ । जहाँसम्म प्रहरी प्रशासनको ध्यान पनि पुग्न सकेको छैन ।
“यात्रुको ज्यानलाई हत्केलामा राखेर बस व्यवसायीले कमाउने धन्दा मात्रै गरेको देखिन्छ । त्यसैको उपज अन्य प्रदेशको तुलनामा सुदुरपश्चिमका पहाडी जिल्लामा सवारी दुर्घटना पनि बढी भएको पाइन्छ ।” यात्राकै क्रममा भेटिएका विष्णु थापाले भने, “सबै निकाय निरीह छन् । सबैलाई कमिसन चाहिएको हुन्छ । नागरिक सहायता कक्ष स्थापना गरेर बसेको प्रहरी त गलत गर्ने सवारीसाधनलाई कारबाही गर्नुको साटो दुईचार सयमा बिक्री हुँदा नागरिकहरूको सुरक्षा कसले गर्छ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *