दमकलको अभावमा आगलागीको जोखिम बढ्दो

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी ११ चैत /
यहीँ चैत ६ गते भजनी नगरपालिका वडा नं. ५ का भक्त बहादुर भण्डारीको घर आगलागीबाट सखाप भयो ।
भण्डारीको घरसँगै रहेको एक घर सहित चार गोठ पनि जले । लाखौं धनमाल आगोले जलेर नष्ट भयो । विद्युत सट भएर लागेको लागो निभाउन स्थानीयलाई निकै समय लाग्यो । झण्डै ३० किलोमीटर बाढा टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आयो । यदि भजनी नगरपालिकासँग दमकल भएको भए जुन क्षति भयो त्यो क्षति हुनबाट जोगिने स्थानीयको भनाइ छ ।
“गर्मी मौसममा आगलागीका घटना निकै हुन्छन् । ठूलो धनमाल नष्ट हुँदै आएको छ । आगो नियन्त्रणका लागि अन्य पालिकासँग हारगुहार गरेर दमकल माग्नुपर्ने हुन्छ ।” स्थानीय श्यामसुन्दर चौधरी भन्छन्, “नगरपालिकाले आफ्नो स्रोतले दमकल खरिद गर्न सकेको भने समयमा यस्ता आगलागीका घटनालाई नियन्त्रणमा लिन सकिन्थ्यो । ” बाहिरबाट आउने दमकल घटनास्थलसम्म पुग्दा ठूलो क्षति भैसक्ने उनको भनाइ छ ।
नगरपालिकासँग आगलागी हुँदा आगो नियन्त्रणका लागि कुनै पुर्व तयारीको योजना नभएको पाइएको छ । आगो नियन्त्रण गर्न प्रयोग हुने आवश्यक सामाग्रीहरु छन् । ती सामाग्रीहरुको प्रयोग गरेर आगो नियन्त्रण गर्ने जनशक्ति भने नगरपालिकासँग नभएको विपद व्यवस्थापन शाखाका प्रमुख विष्णुप्रसाद न्यौपानेले बताएका छन् । “पुर्व तयारीका लागी सामाग्री भएर मात्रै भएन, भएको सामग्री प्रयोग गर्ने जनशक्ति पनि चाहिन्छ, जुन जनशक्ति हामीसँग छैन ।” उनले भने, “अब दमकल खरिदको प्रक्रिया नगरपालिकाले गरेको छ । त्यसपछि हामीलाई तयारी गर्न सजिलो हुनेछ ।”
नगरपालिकाले दमकल खरिदका लागि सुचना आह्वान गरिसकेको शाखा प्रमुख न्यौपानेले बताएका छन् । उनका अनुसार नगरपालिकामा यसैवर्ष दमकल आउने छ । दमकल नभएका कारण आगलागीबाट ठूलो क्षति हुँदै आएको उनको भनाई छ । उनका अनुसार नगरपालिकासँग दमकल भए क्षतिलाई कम गर्न सकिने छ ।
उसो त जोशीपुर गाउँपालिकासँग दमकल छैन । जोशीपुर पनि दमकलका लागि बर्सेनि आगलागीका घटना हुँदा टीकापुर, लम्कीचुहा नगरपालिकासँग गुहार माग्दै आएको छ । जानकी गाउँपालिकाले पनि दमकल खरिद गर्न सकेको छैन । जानकीका लागि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकल उपयोगी बन्दै आएको छ । बिरामीलाई उपचारमा सहजरूपमा अस्पताल लैजान महत्त्वपूर्ण मानिएको एम्बुलेन्स जस्तै महत्त्वपूर्ण साधनको रुपमा दमकललाई पनि लिइने गरेको छ । त्यो दमकल पनि आफ्नो पालिकामा कुनै काम नलागेको खण्डमा मात्रै अन्य पालिकाको समस्या समाधानका लागि पठाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *