शेयेर गर्नुहोस
सम्पादकीय १७ बैशाख /
स्थानीय तहको कामकाज प्रभावकारी हुनुपर्नेमा सबैको जोड छ । नजिकको सरकार भएका कारण पनि स्थानीय सरकार प्रतिको अपेक्षा नागरिकहरूमा हुनु स्वभाविक कुरा हो । तर, स्थानीय तहमा यति सम्मको फर्जी काम हुन्छ त्यो सबैलाई जानकारी नै छ । यतिसम्मको फर्जी काम हुन थालेको छ कि स्थानीय तहको दर्ता चलानीमा समेत बदमासी हुन थाएको छ । कुनै चिट्ठी पत्र आएकै वा गएकै दिनमा दर्ता वा चलानी गर्नुपर्ने हुन्छ । तर, दर्ता चलानी बुकमा केही भाग खाली राख्ने चलन बढेको छ । कुनै महत्त्वपूर्ण किर्ते काम गर्नुपरेको खण्डमा त्यो खाली राखेको भागले काम गर्ने भएको छ ।
त्यतिबेला छोडिएको दर्ता चलानी रजिस्टर भर्ने काम हुँदा स्थानीय तहले कति गैरजिम्मेवार काम गर्दै आएको छ भन्ने कुरालाई सहजै अनुमान लगाउन सकिन्छ । यसरी हुने किर्ते कामहरु नागरिकहरुको पक्षमा भने हुने कुरा नै भएन । कसैलाई विना जानकारी हुने कामले कर्मचारी बढिमा भए जनप्रतिनिधि भन्दा अरुलाई फाईदा पुग्न सक्दैन । त्यसमा पनि स्थानीय तहका शाखाहरुले त्यस्ता कामहरू बढी गर्ने गरेका छन् । विशेषगरी कार्यालय प्रशासनको जिम्मेवारी पाएको कार्यालय प्रमुख नै अवैध काम गर्न कर्मचारीलाई प्रेरित गर्छ भने त्यहाँ जनताको भावनाअनुरूप काम हुन सकेको होला त ? एउटा दर्ता चलानी मै यति ठूलो गैरजिम्मेवारी पुर्ण काम हुन्छ भने अन्य विषयगत शाखाको हविगत कस्तो होला सहजै नजरअन्दाज लगाउन सकिन्छ ।
यदि प्रशासनलाई चुस्त दुरुस्त बनाउने हो भने यस्ता फर्जी काम गर्ने कर्मचारी र शाखाहरुमा निगरानी बढाउन जरुरी छ । दर्ता चलानी शाखा व्यवस्थित र भरपर्दो बनाउन जरुरी छ । कार्यालयका हरेक काम कारबाही दर्ता चलानी शाखासँग जोडिएको हुँदा त्यो शाखा भरपर्दो बन्न सकेन भने त्यसबाट राम्रो कुराको अपेक्षा गर्नु बेकार मात्रै हो । आएका कागजातको समयमै दर्ता हुन सके र गएका कागजातको त्यसैदिनको चलानी बनाउन सके काम प्रति कर्मचारीहरुको गैरजिम्मेवार पनको अन्त्य हुनसक्छ ।