शेयेर गर्नुहोस
टीकापुर २६ भदौ/
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न लागि परेको बताएका छन् ।
सुदुरपश्चिम प्रदेश बादी उत्थान बिकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार बादी तथा दलित समुदायको अधिकार सुनिश्चितका लागि लागि परेको बताएका हुन । प्रदेश सरकार गरिब, असहाय र विपन्न वर्गको सरकारका रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको उनले बताएका छन्
“महिला, गरिब, असहाय, बालबालिका, नवयुवा, बादी तथा सुकुम्बासी समुदायमैत्री सरकार निर्माणसँगै सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी भैरहेको छ ।” उनले भने, “हरेक लक्षित वर्गको अधिकारलाई समेट्ने गरी प्रदेश सरकारले काम गरिरहेको छ ।”
उनले राज्यमा अझै पनि असमानता र विभेद कायम रहेको बताउँदै त्यसको अन्त्यका लागि राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताएका छन् ।
दशवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने धेरै प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले अझै पनि त्यस्ता विभेद समाजबाट पुर्ण रुपमा हट्न नसकेको बताए । दलित समुदायलाई सशक्त बनाउन मुख्यमन्त्री भट्टले आगामी बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । दलित समुदायमाथिको छुवाछुत पूर्ण रूपमा अन्त्य गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने गरी कार्यक्रम तथा योजना अघि बढाइने मुख्यमन्त्री भट्टले प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशको औचित्य पुष्टि हुने गरी बजेट निर्माण गरिने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बादी समुदायका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । “राज्यले अझै धेरै विभेदको अन्त्य गर्न बाँकी रहेको छ । सबै समुदायको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित हुनुपर्छ ।” उनले भने, “त्यो पहिचान, आत्मसम्मान सहितको अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार भएर काम गरिरहेको छ ।”
दलित समुदायभित्रै रहेको विभेद र छुवाछुतको समेत अन्त्य गर्न आवश्यक रहेको बताउँदै समानता, सामाजिक न्याय र सम्मानमा आधारित समाज निर्माणका लागि प्रदेश सरकारले आगामी बजेटमार्फत विशेष पहल गर्ने मुख्यमन्त्री भट्टले बताएका छन् ।










