दाङबाट मौरी घार बोक्दै कैलाली पुगेका हमाल

शेयेर गर्नुहोस

 

झलनाथ खनाल
टीकापुर २९ मंसिर

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का बिनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरी पालन सुरु गर्नुभयो । उद्योग बाणिज्य संघ तुलसीपुरले दिएको मौरी पालन तालिम लिएपछि हमालले मौरी पालन ब्यबसाय सुरु गर्नुभएको हो । अहिले उहाँसंग अहिले झण्डै छ सय घार मौरी छन। हमाल मौरीका घारहरु बोकेर अहिले कैलालीको भजनी नगरपालिका पुग्नुभएको छ ।
हमालले करिब २ सय मौरीका घार बोकेर तोरी फुलेका खेतहरुमा मौरी घारहरु सार्दै भजनी पुग्नु भएको हो । जहाँ फूल फूल्यो, त्यहीँ मौरी घार बोकेर हिँड्ने हमालले २ सय घार माहुरी भजनी नगरपालिका वडा नं. ३ र ८ को हुलाकी सडक छेउका खेतमा लगाएको तोरी बारीमा राख्नु भएको छ भने १ सय ५० घार बर्दियामा राख्नु भएको छ ।
माहुरीलाई मह उत्पादनका लागि फूल महत्वपूर्ण हुने भएका कारण हमाल २०५८ सालदेखि नै दाङबाट बर्सेनि माहुरी घार बोकेर आउने गरेको बताउनुहुन्छ । ‘मैले २०५५ सालदेखि व्यवसायिक मौरी पालन सुरु गरेको हुँ । र, २०५८ सालदेखि कैलालीमा माहुरी ल्याएर आउन थालेको हुँ ।’ हमालले भन्नुभयो, ‘पहिले कैलालीकै लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा जाने गथ्र्यों । अहिले भजनी आएका छौ ।’ उहाँले मौरी घार ल्याएर जस्को घरमा बस्नुभयो उहाँहरुपनी अहिले उहाँकै सिकाईबाट प्रेरित भएर व्यावसायिक मौरी पालनमा लागेका छन।
स्वर्गद्वारी बी कन्सल्ट्स प्रालिका प्रबन्धक समेत रहेका हमालले वार्षिक ३ करोडभन्दा बढीको महको कारोबार गर्दै आएको बताउनुभयो । ‘हामी कहिल्यै घर बस्दैनौं । जहाँ फूल फुल्छ, त्यहीँ मौरीका घार बोकेर पुग्ने गरेका छौं ।’ हमालले भन्नुभयो, ‘कहिले तराई, कहिले पहाड त कहिले जंगलमा पनि हाम्रो बास हुन्छ ।’
दाङ क्षेत्रमा असोज कार्तिकमै तोरी फूल्ने भएका कारण मौरी पालन व्यवसायहरु दाङकेन्द्रित हुने भए पनि मंसिरदेखि पुससम्म कैलालीमा तोरी फूल्ने भएका कारण विभिन्न क्षेत्रमा पुग्ने गरेको बताउदै हमालले कैलाली पछि बर्दियामा तोरी फुल्ने भएका कारण बर्दिया जाने तयारी भएको बताउनुभएको छ । हमाल मात्र नभई थुप्रै मौरी पालक किसानहरूले त्यसैगरी मौरीका घार बोक्दै फुल फुलेको ठाउँमा जानेगरेका छन । दाङबाट अन्य मौरी पालक किसान मैरी घार बोकेर कैलालीकै विभिन्न ठाउमा आएको हमाल बताउनुहुन्छ । उहाँले प्रति घार २० देखि ३० केजीसम्म मह उत्पादन गरेको बताउँदै एक हप्तादेखि १० दिनभित्र मह निकाल्न मिल्ने बताउनुभयो । ‘माहुरीलाई फूल अनिवार्य चाहिन्छ । त्यही फूलको रसकै लागि हामीले घार बोकेर हिँड्ने गरेका हौं ।’ हमालले पुनः भन्नुभयो, ‘उत्पादन राम्रो छ । बजारको कुनै समस्या छैन । अझै पनि हामीले मागको पूर्ति नै गर्न सकेका छैनौं ।’
स्वर्गद्वारी बी कन्सल्ट्स प्रालिले स्वर्गद्वारी हनी ब्राण्डको नामबाट मह उत्पादन तथा बजारीकरण गर्दै आएको छ । उत्पादन गरेको मह प्रति केजी ६ सय २५ रुपैयाँदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । तोरीको मह, रुदिलोको मह, चिउरीको मह, जामुनको मह गरी फरक/फरक फूलको रसबाट उत्पादन भएको महको दर रेट पनि फरक / फरक रहेको हमाल बताउनुहुन्छ । उहाँले तुलसीपुर उपमहानगरपालिकासँगै काठमाडौंको सामाखुसी, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रमा बिक्री केन्द्रहरु राखेर मह बिक्री गर्दै आएको बताउनुभएको छ । हमालले अन्य किसानहरूले उत्पादन गरेको मह खरिद गरि बजारीकरण समेत गर्दै आउनुभएको छ।
हमालले १४ जनाले प्रत्यक्ष रुपमा रोजागारी पाएको बताउँदै पैसाकै लागि विदेशिनु मुर्खता मात्रै भएको बताउनुभयो । ‘मैले उद्योग वाणिज्य संघ तुलसीपुरले दिएको मौरीपालन तालिमबाट व्यवसाय सुरु गरेको थिएँ । मसँगै तालिम लिएका १७ जनाले व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका थियौं ।’ हमालले भन्नुभयो, ‘अहिले ५/६ जनामात्र योे व्यवसायमा छौं । अरुले छोडिसके भने नयाँ व्यवसायको रुपमा थुप्रै मौरीपालनतर्फ आकर्षित भएका छन् ।’ उहाँले गत वर्ष साना तथा मझौला आय स्तर बृद्धि आयोजनाबाट एक करोडको अनुदान पाएको बताउँदै त्यसबाट ६ सय घार माहुरी किसानहरुलाई वितरण गर्न सफल भएको बताएका बताउनुभयो । उहाँले प्रधानमन्त्री आधुनिकीकरण ब्लकबाट समेत सहयोग प्राप्त गरेको बताउँदै सरकारले मौरीको लागि पनि एम्बुलेन्ससरहको सडकमा छुट गर्नुपर्ने बताउनुभएको छ ।
कोरोनाले ब्यबसायमा नोक्सान
कोरोना संक्रमणका कारण व्यवसायमा टिक्न गाह्रो भएको बताउँदै महको माग बजारमा अत्याधिक भए पनि बीचमा भएको बन्दाबन्दीले सयौं घार माहुरी हराएको बताउनुभयो । उहाँले कैलालीको जानकी गाउँपालिकाको कैलाशेश्वर सामुदायिक वनमा चराउन राखिएका घारहरु बन्दाबन्दीको बेला दाङबाट आउन सक्ने अवस्था नहुुँदा माहुरी घार छोडेरै हराएको बताउनुभएको हो । ” चैतमा घार सार्नुपर्ने हुन्छ । बन्दाबन्दिले धार सार्न सकिएन ।” हमालले भन्नुभयो, ” लाखौको नोक्सानी ब्यहोर्नुपर्यो । सरकारले केही राहत दिन्छ कि भन्ने आसामा छौ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *