शेयेर गर्नुहोस
टीकापुर ०२ चैत /
टीकापुर नगरपालिकामा लामो समयदेखि फोहोर व्यवस्थापन ठुलो चुनौतीको रुपमा देखिन थालेको छ् ।
अहिलेसम्म फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधानको उपाय खोज्न नसकेको नगरपालिकालाई दिनप्रतिदिन त्यसको दिगो व्यवस्थापनमा चुनौती देखिन थालेको हो । केही वर्षदेखि नगरपालिका भित्रका विभिन्न खाल्डाखुल्डी फोहोर हालेर व्यवस्थापन गर्दै आएको नगरपालिकाका लागि अब त्यस्ता खाल्डाखुल्डी पनि सकिएका छन् । खासगरी बजारबाट संकलन भएको फोहोर व्यवस्थापनका लागि अब किनै उपाय नभएपछि आइतबार नगरपालिकाले सर्वदलीय छलफलबाट निकास निकाल्ने प्रयास गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले राजनीतिक दल र स्थानीयको सहमति बेगर फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्न चुनौती देखिएको बताएका छन् । उनले राजनीतिक दलको आडमा नागरिकहरु निर्मम बन्ने गरेको बताउँदै त्यसरी फोहोर व्यवस्थापन गर्न नसकिने बताएका छन् । “तत्कालका लागि अल्पकालीन क्षेत्र निर्धारण गरेर भएपनि फोहोर व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यो विकल्प नगरपालिका भित्रका सरोकारवाला सबैले दिए राम्रो हुन्थ्यो ।” उनले भने, “दीर्घकालका लागि हामीले टीकापुर नर्सरी र भगरैया नर्सरीलाई अघि सारेका छौँ । तर, त्यहाँका नागरिकहरुलाई बुझाउनै सकिएको छैन ।”
उनले हरेक समस्या आइपर्दा विरोध गरेर समाधान नहुने बताउँदै समाधान सहितको सुझाव नगरपालिकाले खोजेको बताएका छन् । “एक दिन फोहोर उठेन भने विरोध सुरु हुन्छ । संकलन भएको फोहोर यो ठाउँमा व्यवस्थापन गर्दा राम्रो हुन्छ भनेर सुझाव दिए राम्रो हुन्थ्यो ।” प्रमुख प्रशासकीय अधिकृत धिताल भन्छन्, “पटकपटक सरसफाइ कर्मचारीको कुरा आउने गरेको छ । त्यो ज्यालादारीमा राखिएका कर्मचारी हुन । उनीहरूले काम गरिरहेका छन् । यदि ती कर्मचारी चाहिँदैन भन्ने हो भने हटाउन समस्या छैन । तर फोहोरको समस्याको विषयमा विरोध हुनु भएन ।” धितालले फोहोर सेग्रीकेशन सहितको व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दललाई स्थान निर्धारणमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
छलफलका क्रममा समाजसेवी मातृकाप्रसाद तिमिल्सिनाले फोहोर व्यवस्थापनको दिगो समाधानमा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिएका छन् । उनले फोहोर व्यवस्थापनलाई आम्दानीसँग जोड्नुपर्ने उल्लेख गर्दै नागरिक स्तरमा फोहोरको वर्गीकरणमा सचेतना फैलाउन आवश्यक रहेको बताएका छन् । त्यसैगरी समाजसेवी नवराज रावलले फोहोर व्यवस्थापन यथाशीघ्र हुनुपर्नेमा जोड दिए । उनले नगरपालिकामा भएका यसभन्दा पहिलेका सबै घटनाक्रमलाई स्वयतपत्र मार्फत सार्वजनिक गर्न माग गर्दै आगामी दिनमा नयाँ योजना र सोचका साथ काम गर्न आग्रह गरे ।
अर्का समाजसेवी नर साउँदले फोहोर व्यवस्थापन केन्द्र निर्माण हुने सम्भावित क्षेत्रका नागरिकहरुलाई राम्रो काम भैरहेको क्षेत्रको अवलोकन भ्रमण गराएर उनीहरूको सहमति लिन सकिने बताएका छन् । फोहोर व्यवस्थापन केन्द्र आवश्यक रहेको उल्लेख गर्ने राजनीतिक दल तथा सरोकारवालाहरुले नगरपालिकाले खोजेको निकास भने दिन सकेनन् । सर्वदलीय छलफलबाट कुनै निष्कर्ष नआएपछि अझै फोहोर व्यवस्थापन गर्न भैरहेको चुनौती कम हुने सम्भावना टरेको छ् । जबसम्म राजनीतिक दल एक ठाउँमा आउँदैनन् र कुनै ठोस निर्माण हुँदैन, तबसम्म कुनै निष्कर्ष नआउने देखिएको छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि भन्दै वडा नं. १ का वडा अध्यक्ष मोहन विकको संयोजकत्वमा केही महिना अगाडि समिती गठन गरेको थियो । समितिले नगरपालिकाको स्वामित्वमा रहेको टीकापुर नर्सरी, भगरैया नर्सरी र भैरवनाथ सामुदायिक वनलाई उपयुक्त क्षेत्र हुन सक्ने भन्दै प्रारम्भिक सुझाव नगरपालिकामा पेश गरेको छ ।










