दुई दशकपछि पोष्टमार्टम सेवा सुरु

शेयेर गर्नुहोस


पदम राज जैशी,भजनी ०४ असोज /
बन्द भएको करिब दुई दशक पछि भजनी प्राथमिकता स्वास्थ्य केन्द्रमा पोष्टमार्टम सेवा सुचारु भएको छ ।
२०६२ सालमा बन्द भएको पोष्टमार्टम सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो । पोष्टमार्टम सेवा सुचारु भएपछि टीकापुर, धनगढीसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जनशक्तिको अभावका कारण पटकपटक सञ्चालनको तयारी गर्दै स्थगित हुने पोष्टमार्टम सेवाको संघीय सांसद गंगाबहादुर चौधरीले उद्घाटन गरेका हुन । उद्घाटनका क्रममा सांसद चौधरीले पोष्टमार्टम सेवा सुचारु भएसँगै भजनी लगायत आसपासका छिमेकी पालिकाका नागरिकहरूलाई पनि सहज हुने विश्वास व्यक्त गरेका छन् । “लासको पोष्टमार्टमका लागि वर्षौंदेखि टीकापुर, धनगढी जानुपर्ने बाध्यताको अन्त्य भएको छ । सबै स्रोतसाधन हुँदाहुँदै पनि बन्द अवस्थामा रहेको सेवा सुचारु भएको छ ।” सांसद चौधरीले भने, “स्वास्थ्य क्षेत्रको विकासका लागि स्थानीय सरकारसँग मैले गर्न सक्ने अन्य सहयोग र समन्वयमा कुनै कमि हुनेछैन । हामीले नागरिकहरूको समस्यामा केन्द्रित भएर काम गर्नुपर्छ र गर्दै पनि आएका छौं ।”
भजनी नगरपालिकाले स्वास्थ्य केन्द्रका लागि एकजना मेडिकल अधिकृतलाई करार सेवामा नियुक्त गरेर तालिमका लागि पठाएको थियो । दुई वर्षका लागि करार सेवामा नियुक्त भएका डा. सुर्य प्रकाश चौधरी तालिमबाट फर्किएपछि पोष्टमार्टम सेवा सुचारु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताएका छन् । “स्वास्थ्य केन्द्रमा भवन पुरानै थियो । त्यसको मर्मतसम्भार र आवश्यक संरचना निर्माण नगरपालिकाले गरेपछि पुरानै भवनबाट पोष्टमार्टम सेवा सुचारु भएको छ ।” स्वास्थ्य शाखा प्रमुख चौधरीले भने, “पोष्टमार्टम सेवा सुचारु भएसँगै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पुनः एक खुड्किला पार गर्न सफल भएको छ ।”
उसो त भजनी स्वास्थ्य चौकीमा चारजना मेडिकल अधिकृतको दरबन्दी छ । दरबन्दी अनुसार चिकित्सक नहुँदा पनि स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदै आएको छ । स्वास्थ्य केन्द्र विगत लामो समयदेखि संघीय सरकारको दुई वर्षे करार सेवाका स्वास्थ्यकर्मीले चलाउँदै आएका छन् । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले स्थानीय सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई नागरिकहरुका लागि सर्वसुलभ गर्ने उद्देश्यका साथ काम गरिरहेको बताएका छन् । उनले भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गर्ने योजनामा स्थानीय सरकार लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *