दुई वर्षपछि मेयर तथा उपमेयर कप सुरु

शेयेर गर्नुहोस


टीकापुर २८ माघ /
कैलालीको टीकापुर नगरपालिका स्थापना कालदेखि सञ्चालन हुँदै आएको मेयर तथा उपमेयर कप रनिङ फुटबल प्रतियोगिता दुई वर्षपछि पुनः सञ्चालन भएको छ । कोरोना संक्रमणका कारण दुई वर्ष स्थगित भएको मेयर तथा उपमेयर कप रनिङ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै कैलाली क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठले टीकापुरलाई खेलकुदको हबको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । उहाँले खेलकुदका लागि आवश्यक संरचना निर्माण गरेर खेलकुद र खेलाडीहरुको विकासमा ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै लगानीको अभावले खेलकुद क्षेत्रको विकास पछाडि परेको बताउनुभयो ।
“नगरपालिकाले कार्ययोजना बनाएर दियो भने त्यसका लागि मैले गर्ने पहल म गर्ने छु । कति बजेट चाहिन्छ ? कहाँ के निर्माण गर्ने भन्ने कुराको निक्र्योल नगरपालिकाले गरोस् ।” श्रेष्ठले भन्नुभयो, “खेलकुद क्षेत्रको विकास भएसँगै टीकापुरलाई खेलकुद क्षेत्रलो हबको रुपमा अगाडि बढाउन सक्छौं ।” उहाँले खेलकुदले बालबालिकालाई अनुशासनका साथै स्वस्थ्य क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै समाजमा हुने आपराधिक गतिविधिलाई पनि कम गर्न सकिने बताउनुभयो ।
“हामीसँग सम्भावना छन् । ती सम्भावनालाई पछ्याउन निकै आवश्यक छ । त्यो मध्येको खेलकुद पनि एक हो ।” श्रेष्ठ भन्नुहुन्छ, “आज खेलकुदका गतिविधि सुस्ताएकै कारण आपराधिक घटना बढेका छन् । त्यसलाई रोक्नको लागि पनि खेलकुदको निरन्तरता अपरिहार्य छ ।”
उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुरमा खेलकुदका थुप्रै सम्भावनाहरु हुँदाहुँदै पनि ती सम्भावनाहरुले मुर्तरुप लिन नसकेको बताउनुभयो । “आज टीकापुरमा राम्रो खेलकुद मैदान छैन । खेलकुदमा उत्साह हुँदाहुँदै पनि हामी संरचनागत विकासमा चुकेका छौं ।” चौधरीले भन्नुभयो, “अब खेलकुदका गतिविधिसँगै संरचनाहरुमा पनि ध्यान दिनुपर्छ । त्यसका लागि प्रदेशबाट हुनसक्ने सहयोगका लागि मेरो सक्रियता रहने छ ।”
नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले खेलकुद आफैमा मर्यादित क्षेत्र भएको बताउँदै टीकापुर क्षेत्रमा खेलकुदको माध्यमबाट सामाजिक सद्भाव कायम गर्न सकिने बताएका छन् । “खेलकुद मर्यादित र अनुशासित बिधा हो । त्यसको माध्यमबाट हामीले सामाजिक सद्भावलाई स्थापित गर्न सक्छौं ।” नगर प्रमुख डंगौरा थारुले भन्नुभयो । उहाँले टीकापुरको खड्ग स्मृति रंगशाला यसक्षेत्रको गौरव भएको बताउँदै त्यसलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्याक्त गर्नुभयो ।
टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले मेयर तथा उपमेयर कप टीकापुरका लागि गौरवको कार्यक्रम रहेको बताएका छन् । उनले नगरपालिकाको स्थापनाकालदेखि सुरु भएको खेलकुद कार्यक्रमले थुप्रै खेलाडीहरु उत्पादन गर्न सफल भएको बताएका छन् । “हिजो यहीँ मेयर कप खेल्ने खेलाडीहरु आज मेयर तथा उपमेयर कप खेलाउँदै हुनुहुन्छ । केही राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा सहभागी भएको हामीले देखेका छौं ।” निवर्तमान नगर प्रमुख रावलले भने, “यस प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा थप इट्टा थप्ने काम गरेको छ । खेलकुद बहुआयामिक बनेको छ ।”
उनले आफू नगर प्रमुखको भुमिकामा हुँदा बहुआयामिक कभर्डहलको शिलान्यास भएको बताउँदै त्यसलाई अहिलेको नेतृत्वलाई निरन्तरता दिन आग्रह गरेका छन् । “हामीले बजेट अभावमा धेरै कामहरू गर्न सकेनौं । तर सुरुवात भने गरेकै हौं ।” निवर्तमान नगर प्रमुख रावलले भने, “चालू आर्थिक वर्षमा प्रदेश सरकारले खेलकुद एकाडेमीको निर्माणका लागि बजेट विनियोजन गरेको थियो । त्यस बजेटको खोजी अहिलेको नेतृत्वले गर्नुपर्छ । टीकापुरलाई खेलकुदको माध्यमबाट चिनाउनको लागि हाम्रा गतिविधि अगाडि बढ्न जरुरी छ ।”
राष्ट्रिय खेलकुद परिषदका पुर्व निर्देशक दिपक बहादुर शाहीले टीकापुर लगायत पश्चिम क्षेत्रमा खेलकुदको क्षेत्रमा सोचेजस्तो काम हुन नसकेको बताएका छन् । उनले मेयर तथा उपमेयर कपलाई पनि खेलाडी छनोटको रुपमा लैजान आवश्यक रहेको बताउँदै नगरपालिकाले क्षमता भएका खेलाडीहरुको सक्षम टिम निर्माण गरेर राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउने वातावरण बनाउनुपर्ने बताएका छन् ।
नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले बिद्यार्थीहरुलाई घोषित पाठ्यक्रममा मात्रै सिमित नराखेर सैद्धान्तिक तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट पनि प्रभाव पार्नुपर्ने बताउँदै त्यस्ता क्रियाकलापमा नगरपालिका जिम्मेवार रहेको बताएका छन् । उनले खेलकुदको माध्यमबाट टीकापुरलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चिनाउन सकिने भन्दै त्यसमा सबैले सकारात्मक सहयोग र समन्वय आवश्यक रहने बताएका छन् । “हामीसँग खेलकुदका लागि चाहिने सबै कुरा छ । प्रत्येक टोलटोलमा सार्वजनिक स्पेसहरु छन् । मात्रै तिनको विकास र संरक्षण चाहिएको छ ।” वडा अध्यक्ष विकले भने, “त्यसका लागि नगरपालिकाले एक्लैले गर्न सक्दैन । प्रदेश र संघीय सरकारले समन्वय गर्न सके हामीलाई खेलकुदको माध्यमबाट चिनाउन सक्छौं ।”
मेयर तथा उपमेयर कप यसभन्दा पहिलेको छात्रतर्फ खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुल र छात्रातर्फ बिरेन्द्र बिधामन्दिर माविले हात पारेको थियो । मेयर तथा उपमेयर कपको बिजेताले ५१ हजार, उपविजेताले ३६ हजार र तृतीय हुने टिमले २१ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्रतर्फ ३२ र छात्रातर्फ २१ बिधालयले सहभागिता जनाएका छन् । प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुने छ ।
कर्णाली माद्यामिक बिधालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले सञ्चालन गरेको कार्यक्रमको स्वागत शिक्षा अधिकृत तथा कार्यक्रम संयोजक नरेश अवस्थीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *