दुग्धजन्य पदार्थको मुल्य समायोजनका लागि छलफल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २७ माघ /

दूध तथा दुग्धजन्य पदार्थको मूल्य समायोजनका लागि दुध उत्पादक, दुग्ध संकलक र उपभोक्ता हित संरक्षण मञ्च टीकापुरसँग टीकापुर नगरपालिकाले छलफल गरेको छ
डेरि व्यवसायी टीकापुरले फागुन १ गतेको निर्णयले दूध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि भएपछि त्यसको मूल्य निर्धारण एकलौटी भएको भन्दै विवाद हुन थालेपछि दूध उत्पादक, दुग्ध संकलक र उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले विवाद भएपछि नगरपालिकाले त्यसको समन्वय गरेको हो । छलफलमा व्यवसायी नरेश रावलले दुध उत्पादक देखि संकलक, डेरि व्यवसायी र उपभोक्ता कसैलाई पनि मर्का नपर्ने गरी मूल्य निर्धारण गर्नुपर्ने बताएका छन् ।
किसान दुर्गा जैशीले बजारमा अन्य बस्तुको मूल्य बढ्दै गएको अवस्थामा सबैभन्दा मर्कामा उत्पादक किसान परेको बताउँदै लागत उठ्नेगरी किसानको पिडालाई सम्बोधन गर्नेगरी दुधको मूल्य निर्धारण हुनुपर्ने बताएका छन् । किसान चक्र बहादुर बटालाले अहिलेकै अवस्था रहे कैयौं किसानहरू विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै किसानलाई टिकाउनको लागि पनि स्थानीय सरकार गन्भिर हुनुपर्ने बताएका छन् । दूध संकलक कर्ण विकले उत्पादक र डेरिको मूल्य समायोजन गर्दा गाउँगाउँबाट दूध संकलन गर्ने व्यवसायीको समस्या पनि समाधान हुनुपर्ने बताएका छन् । किसान ललित थापाले उत्पादक किसानहरू भन्दा बढी टीकापुरमा डेरि भएको बताउँदै त्यसको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
डेरि व्यवसायी रवीन्द्र खड्काले आफुहरुले नेपाल सरकारले दुधको मूल्य वृद्धि गरेपछी त्यसैको आधारमा डेरि व्यवसायीले पनि मूल्य समायोजन गरेको बताउँदै गुणस्तरको कुरामा नगरपालिकाले निगरानी बढाउनु पर्ने बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष ऐकिन्द्र तिमिल्सिनाले डेरि व्यवस्थापनमा स्थानीय सरकार निकै चुकेको बताउँदै अहिले बजारमा दुधको कालोबजारी मौलाएको बताएका छन् ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख यज्ञराज जोशीले अहिले किसानहरू सबैभन्दा बढी मर्कामा रहेको बताउँदै एउटै पक्षले मात्रै गरेर केही नहुने भन्दै त्योसँग जोडिएका सबैको समन्वय आवश्यक रहेको बताएका छन् ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले उपभोक्ताहरुमा गुणस्तरीय बस्तु भन्दा सस्तोमा बस्तु खरिदको बानी परेको कारणले पनि बजारको सन्तुलन कायम गर्न नसकिएको बताएका छन् । उनले नगरपालिकाले पनि व्यवसायीक रुपमा संयुक्त लगानी गर्न चाहेको बताउँदै त्यसका लागि साझा योजनाका साथ व्यवसायीहरुलाई आउन आग्रह गरेका छन् । “नगरपालिकाको स्वामित्व रहनेगरी काम गर्न हामी तयार छौं । संयुक्त धारणा बनाएर आएको खण्डमा एकदुई करोड लगानी गर्न कुनै समस्या छैन ।” नगर प्रमुख रावलले भने, ” समन्वयको अभाव भने निकै देखिएको छ । त्यो दुरिलाई घटाउनुपर्छ । व्यवसायी र उपभोक्ता दुबैलाई हित हुनेगरी काम गर्ने स्थानिय सरकारको चाहना हो ।”
छलफलका क्रमममा मूल्य समायोजनका लागि नगरपालिकाले सात सदस्यीय मूल्य निर्धारण समिती गठन गरेको छ । जसमा नगरपालिकाको तर्फबाट पशु शाखा प्रमुख श्यामराज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चबाट ऐकिन्द्र तिमिल्सिना, डेरि व्यवसायीबाट रवीन्द्र खड्का, दूध उत्पादकबाट ललित थापा, दुग्ध संकलकको तर्फबाट कर्ण विक, ईलाका प्रशासनको तर्फबाट जयराज ढुंगाना र ईलाका प्रहरी कार्यालय टीकापुरको तर्फबाट राजु शाह समितीमा रहेका छन् । समितीले यहीँ माघ २९ गतेभित्र दूध तथा दुग्धजन्य पदार्थको समर्थन मूल्य कायम गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *