देशमै सम्भावना देखेका देवकोटाले सुरु गरे देवकोटा फुड पोइन्ट

शेयेर गर्नुहोस


टीकापुर २७ जेठ /
काम गर्ने इच्छाशक्ति भएपछि देशमा धेरै सम्भावना छन् भन्ने कैयौं उदाहरण हाम्रा अगाडि छन् ।
विदेश गएर मात्रै आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने मानसिकतालाई त्यागेर लगनशीलताका साथ व्यवसायमा लागेका कैयौं युवाहरू समाजका लागि उदाहरण बनेका छन् । त्यसको एक उदाहरण हुन बाबू देवकोटा ।अध्ययनसँगै जागिरमा जोडिएका टीकापुरमा बाबू देवकोटा सफल व्यवसायीको रुपमा स्थापित हुन सफल हुनुभएको छ । स्नातकसम्मको अध्ययन गर्नुभएका उहाँ पुस्तक व्यवसायी हुँदै होटल व्यवसायीको रुपमा स्थापित बन्दै जानू भएको हो ।
२०६९ सालमा टीकापुरको खप्तड प्याराडाइज होटलको लेखापाल हुँदै बननाज एग्रो रिसोर्टको व्यवस्थापकको अनुभव भएका बाबुले तीन वर्षको जागिर अनुभवले आफुलाई व्यवसायी बनाएको बताउनुहुँन्छ । “काम सानो ठूलो हुँदैन भन्ने भावनाले मैले अध्ययनसँगसँगै काम पनि सुरु गरेको थिए । त्यो समयमा होटलमा काम गर्छु भनेर साथीहरूलाई भन्दा अप्ठ्यारो लाग्थ्यो ।” उहाँ भन्नुहुन्छ, “आज त्यहीँ कामले व्यवसायी बनाएको हो ।”
जागिर छोडेर आफ्नै काम गर्नुपर्छ भन्ने सोचका साथ पुस्तक पसल सुरु गर्नुभएका बाबू पुस्तक पसलबाट सफल व्यवसायी मात्रै नभई छोटो समयमा उदाहरणीय बन्नुभयो । जागिरबाट बचत भएको पैसाबाट सुरु भएको पुस्तक पसलसँगै होटलमा समेत उहाँले लगानी गर्नुभएको छ । देवकोटा लिट्रेचर पुस्तक हाउस सञ्चालन गर्दै आउनुभएका उहाँले देवकोटा फुड पोइन्ट सञ्चालनमा ल्याउनुभएको छ ।उहाँका अनुसार व्यवसायमा एक करोड लगानी पुगेको छ । “पैसा नै कमाउनका लागि विदेश जानू राम्रो कुरा होइन ।” उहाँ भन्नुहुन्छ, “जति समय विदेश हुँदा कामको लागि खर्च गर्छौं, त्यति समय नेपालमा काम गर्न सक्यो भने त्यहाँको जति पैसा कमाउन सकिन्छ ।”
कुनै समय पारिवारिक समस्या बढ्दै जाँदा विदेश जाने सोच बनाउनुभएका देवकोटाले विदेश जान लाग्ने पैसाले नेपालमै थप व्यवसाय गर्ने मनसाय बनाउनुभएको थियो । त्यहीँ मनसायबाट धूम्रपान र मध्यपान रहित होटल उहाँले सञ्चालन गर्नुभएको छ । जहाँ ६/७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “पुस्तक पसल बिक्री गरेर विदेश जाने सोच लगभग भैसकेको थियो ।” उहाँले भन्नुभयो, “मेरालागि विदेशको योग रहिन छ । त्यहीँ विदेश जान लाग्ने रकम खर्चेर होटल सुरु गरेको छु ।”
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरेर सुपथ मुल्यमा खानालाई प्राथमिकता दिइएको उहाँको भनाई छ । “क्याम्पस लक्षित भएका कारण होटलमा धूम्रपान र मध्यपान निशेध गरिएको छ । यो होटल व्यवसायमा नौलो कुरा पनि हो ।” उहाँले भन्नुभयो, “आगामी दिनमा व्यापारलाई थप बढाउँदै लैजाने योजना छ ।” व्यवसायले आफ्नो व्यवस्था मात्रै नभई ६/७ जनाको परिवारलाई समेटेको बताउँदै देवकोटाले आफ्ना लागि मात्रै नभएर अरुका लागि पनि आफुले काम गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *