शेयेर गर्नुहोस
टीकापुर २८ असोज /
जगननथ्या ग्रुपको आयोजनामा दोस्रो जगननथ्या फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।
टीकापुर नगरपालिकाको मुख्य प्रायोजनमा टीकापुर नगरपालिकाको वडा नं. ६ बेलुवा खेलकुद मैदानमा फुटबल प्रतियोगिता सुरु भएको हो । जगननथ्या ग्रुपकका अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षतामा भएको उद्घाटन गर्दै टीकापुर नगरपालिका कार्यवाहक नगर प्रमुख लालबीर चौधरीले बढ्दै गएको लागुऔषध दुर्व्यसनीलाई न्यूनीकरण गर्नका लागि पनि खेलकुदका कार्यक्रम सहयोगी बन्ने बताएका छन् ।
खेलकुदका कार्यक्रमलाई सरकारी तथा निजि क्षेत्रबाट सञ्चालन भैरहनुपर्ने बताउँदै युवाहरूको क्षमताको पहिचान पनि खेलकुदबाट गर्न सकिने उनको भनाई छ । “युवा विकासको संवाहक हो । देशकै आशालाग्दो जनशक्ति पनि हो ।” उनले भने, “खेलकुदले अनुशासन पनि सिकाउने हुँदा देशको पहिचानसँग जोडिएका युवाहरूलाई पहिचान गर्नका लागि पनि खेलकुद आवश्यक छ ।” कार्यक्रममा कार्यबाहक नगर प्रमुख चौधरीले आगामी दिनमा पनि खेलकुदका हरेक बिधालाई स्थानीय सरकारले सञ्चालनका लागि सहयोग गर्ने बताए ।
टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले खेलकुद प्रतियोगिताले स्थानीय तहमा राम्रो क्षमता भएका खेलाडीलाई राष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले युवाहरुमा सधैं परिवर्तनको अपेक्षा हुने भन्दै त्यो परिवर्तनमा युवाको भुमिका महत्त्वपूर्ण रहँदै आएको बताए ।
टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले खेल प्रती लगाव भएका र खेलमै भविष्य देखेका युवाहरूका लागि खेलकुद प्रतियोगिता महत्त्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पनि खेलकुद सहयोगी बन्दै आएको बताएका छन् ।
ग्रुपका सदस्य शिवराज चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार लिखराम चौधरीले गरेका थिए । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार नगद सहित ट्रफी लगायतको पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ७५ हजार नगद सहित ट्रफी लगायतको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ३ गते समापन अर्थात फाइनल हुने छ ।










