नगरपालिकाको बजेट गाउँपालिकाको भन्दा कम

शेयेर गर्नुहोस


टीकापुर २२ जेठ /
टीकापुर नगरपालिकामा आउने आर्थिक वर्षका लागि संघीय सरकारबाट पाउने बजेट घटेको पाइएको छ ।
चालू आर्थिक वर्षमाको तुलनामा नगरपालिकालाई संघीय सरकारले दिइँदै आएको अनुदानमा दुई करोड २६ लाख कम बजेट छुट्याइएको छ । आउने आर्थिक वर्षमा नगरपालिकाले ५२ करोड ७८ लाख संघीय सरकारबाट अनुदान पाउने छ । तुलनात्मक रुपमा हेर्दा यो बजेट जानकी गाउँपालिकाले आएको बजेटभन्दा झण्डै १२ करोड कम हो । जानकी गाउँपालिकाले चालू आर्थिक वर्षको भन्दा १७ करोड ९० लाख बढि बजेट प्राप्त गरेको छ । उसले जम्मा ६४ करोड १३ लाख रुपैयाँ बजेट संघबाट प्राप्त गरेको छ ।
टीकापुर नगरपालिकाको र जोशीपुर गाउँपालिकाको बजेटको अनुपात लगभग मिल्दोजुल्दो छ । आउने आर्थिक वर्षका लागि जोशीपुरले ५२ करोड २७ लाख बजेट संघीय सरकारबाट पाएको छ । जोशीपुरले गतवर्ष ३९ करोड ३८ लाख संघीय बजेट पाएको थियो । उसो त जोशीपुर गाउँपालिका कैलालीका १३ वटा स्थानीय तहमा महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु भएको पालिका पनि हो ।
उता भजनी नगरपालिकाको बजेट झन कम देखिएको छ । जुन जोशीपुर गाउँपालिकाको भन्दा पनि कम छ । नगरपालिकाले आउने वर्षका लागि ४१ करोड ७६ लाख रुपैयाँ मात्रै पाएको छ उसो त भजनी नगरपालिकाले लगातार दुई वर्ष संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदान पाउन सकेको छैन । आउने वर्षका लागि लम्कीचुहा नगरपालिकाको नाम पनि विशेष अनुदानमा छैन । लम्कीले अन्य बजेट भने ५५ करोड २९ लाख प्राप्त गरेको छ । जुन चालू आर्थिक वर्षको भन्दा ७ करोड ५७ लाख कम हो ।
उता बर्दगोरिया गाउँपालिकाले आउने वर्षका लागि ५२ करोड २७ लाख बजेट छ । त्यसैगरी घोडाघोडी नगरपालिकाले भने ६२ करोड ५१ लाख बजेट पाएको छ ।जुन चालू आर्थिक वर्षको भन्दा दुई करोड २० लाख कम हो । गौरीगंगा नगरपालिकाले ४२ करोड १४ लाख बजेट पाएको छ । गोदावरी नगरपालिकाले पनि कम बजेट पाएको छ । ६७ करोड ८६ लाख बजेट प्राप्त गरेको नगरपालिकाले एक करोड ३२ लाख कम पाएको हो ।
जिल्लाको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले ९९ करोड एक लाख बजेट संघ सरकारबाट पाएको छ । त्यसैगरी कैलारी गाउँपालिकाले पनि आउने वर्ष संघीय सरकारबाट पाउने बजेट कम पाएको छ । आउने वर्ष चार करोड ३४ लाख कम पाएको गाउँपालिकाको लागि ४७ करोड ९४ लाख बजेट आउने छ । मोहन्याल गाउँपालिकाले ३२ करोड ९१ लाख बजेट प्राप्त गर्दा चुरे गाउँपालिकाले ३३ करोड ४९ लाख बजेट पाएको छ ।
उसरी हेर्दा संघीय सरकारबाट नगरपालिकामा सबैभन्दा कम बजेट भजनी नगरपालिकाले पाउँदा गाउँपालिका तर्फ सबैभन्दा कम बजेट मोहन्यालले पाएको छ । नगरपालिकामा सबैभन्दा बढी बजेट गोदावरी नगरपालिकाले पाएको छ भने गाउँपालिकामा सबैभन्दा बढि बजेट पाउने जानकी गाउँपालिका रहेको छ ।
संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक बजेट अनुसार कैलालीका १३ वटा स्थानीय तहलाई ७ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेट अनुसार १३ वटा स्थानीय तहले ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ पाएका हुन । जुन चालुतर्फ ५ अर्ब ६६ करोड चार लाख र पुँजिगततर्फ एक अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ । जसमा समानिकरण अनुदानतर्फ दुई अर्ब चार करोड ६१ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ चार अर्ब ७१ करोड ४१ लाख, विषेश अनुदानतर्फ १८ करोड १५ लाख र समपूरक अनुदानतर्फ १७ करोड एक लाख बजेट कैलालीका स्थानीय तहको लागि विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संघ सरकारले कैलालीका पालिकालाई ६ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको भए पनि आगामी आर्थिक वर्षको लागि बजेटको आकार बढाउँदै पालिकाहरूलाई ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *