नगरपालिकामा बेथिति मौलाएको सरोकारवालाको गुनासो

शेयेर गर्नुहोस


टीकापुर ०३ असार /
महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक गरेको टीकापुर नगरपालिकाको प्रतिवेदनले गम्भीर स्थिति सिर्जना गरेको सरोकारवालाले बताएका छ ।
आइतबार सामुदायिक रेडियो टीकापुर एफएमले महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन माथी चलाएको छलफलका क्रममा सरोकारवालाहरुले त्यस्तो बताएका हुन । नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का पुर्व सभापति भुवनेश्वर अधिकारीले स्थानीय तहमा पुराना गल्तिहरुलाई सच्याएर जानुको साटो कमजोरीहरु थुपार्दै गएको टिप्पणी गरे । “स्थानीय तहलाई महालेखाले सुधार गर्नुपर्ने भनेर औल्याएका कुराहरु सुधार हुनुको साटो झन मौलाउँदै गएको देखिन्छ ।” उनले भने, “नागरिकहरू र राजनीतिक दलहरूले सचेत नगराएकै कारण पनि जनप्रतिनिधि बलियो भएका हुन ।” उनले खरिद प्रक्रियामा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताउँदै महालेखा पनि कमिसनको खेलमा लागेकोले वास्तविक कुरा अझै बाहिर आउन नसकेको बताए ।
त्यस्तै पत्रकार तथा समाजसेवी मातृकाप्रसाद तिमिल्सिनाले स्थानीय सरकारमा जवाफदेहिता भन्ने कुरा नै नभएको बताएका छन् । उनले जनप्रतिनिधि जवाफदेही नहुँदा स्थिति नियन्त्रण भन्दा बाहिर जानसक्ने चेतावनी पनि दिएका छन् । “अहिले जनप्रतिनिधिहरुमा जनतालाई जवाफ नदिए पनि हुन्छ भन्ने परिसकेको छ । चारचार पटक हुनुपर्ने सार्वजनिक सुनुवाइ अहिले हुन छाडेको छ ।” तिमिल्सिनाले भने, “सुशासनको पाटोमा यस्तै स्थिति रह्यो भने भोलि निकै गाह्रो हुनसक्छ ।” उनले विकासको पाटोमा बजेट खर्च भयो भन्दा ३० करोड बेरुजु जनताको लागि गरेको विकास हो ? भन्दै प्रश्न गरे ।
ठुला करोडौंका योजनाको रकम रकमान्तर गरेर १० लाखमा योजना बनाउँदै कोटेशन मार्फत जानुको पछाडि कमिसनको खेल भन्दा अरु केही हुन नसक्ने उनको भनाई छ । नेपाल समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष वीरेन्द्र साउँदले नीतिगत भ्रष्टाचारमा पनि नगरपालिका सक्रिय देखिएको बताएका छन् । उनले जनताको माझमा जनप्रतिनिधि एउटा कुरा बोल्ने र भित्र आफ्नो अनुकुलताम काम गर्ने परिपाटीले जनप्रतिनिधि प्रतिको जनविश्वास गुम्दै गएको बताएका छन् । “कुरा एक हुन्छ अनि काम अर्को हुन्छ । त्यो भन्दा गलत काम जनप्रतिनिधिका लागि अरु के हुनसक्छ ?” साउँदले भने, “अब विगतका कुरालाई भुलेर जनप्रतिनिधिहरुको निगरानीमा राजनीतिक दल सक्रिय बन्नुको विकल्प छैन ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबिर चौधरीले विषयगत शाखाको कमजोरीका कारण पनि बेरुजु बढेको बताएका छन् । उनले बेरुजु भन्ने बित्तिकै जनमानसमा नकारात्मक कुराहरू मात्रै जान नहुने बताउँदै त्यसलाई सुधारेर लैजान सकिने बताएका छन् । “महालेखाले देखाएको बेरुजु सबै असुलउपर गर्नुपर्ने भन्ने हुँदैन । केही सैद्धान्तिक बेरुजु अर्थात कागजात छुट भएका विषयलाई पनि बेरुजुमा राख्दा बढेको हो ।” वडा अध्यक्ष चौधरी भन्छन्, “यति भनिरहँदा नकारात्मक कुरालाई निरुत्साहित गर्दै महालेखाले औल्याएको बेरुजुमा नगरपालिका गम्भीर हुनुपर्छ ।”
उनले जनप्रतिनिधि भन्दा कर्मचारी प्रशासन बढी जिम्मेवार भए सुशासन कायम गर्न सकिने बताउँदै एकले अर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा आफ्नो जिम्मेवारी सफलतापुर्बक सम्पन्न गर्नु नै महत्त्वपूर्ण हुने बताएका छन् । सहभागी हुँदा सबैको सहभागिता हुने गरे पनि अन्तिम दोष जनप्रतिनिधि माथी आउने हुँदा समस्या भएको उनले बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *