नगरपालिकाले उठाउन थाल्यो निर्माण सामाग्री

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ असार /
टीकापुर नगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा थुपारेर राखिएको निर्माण सामग्री ढुंगा, बालुवा, ग्राभेल उठाउन शुरु गरेको छ ।
२७ दिनको समय दिँदा समेत कतिपय निर्माण व्यवसायीहरुले अटेर गरेका भन्दै नगरपालिकाले बुधबारदेखि आफै उठाउन थालेको हो । नगरपालिकाले यसअघि दुई पटक म्याद थपेर सडक तथा सार्वजनिक स्थल खाली गर्न सूचना जारी गरेको थियो । जेठ २० गते पहिलो र जेठ २७ गते दुई पटक सुचना जारी गरेको थियो ।टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सूचना जारी गर्दै पटक पटक ताकेता गर्दा समेत अटेरी गरेका व्यवसायीको ढुंगा, बालुवा, ग्राभेल नगरपालिकाले उठाउन शुरु गरेको बताएका छन् ।
‘सडक छेउमा ढुंगा, बालुवा राख्दा सडक दुर्घटना हुने, ढल निकासलाई समस्या हुने भएकाले हामीले हटाउन भनेका हौं । पटकपटक आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नदिनेहरुको सामाग्री उठाउन थालेका हौं ।” नगर प्रमुख थारुले भने ” उठाउँदा उठाउँदै पनि समय अपुग भएका व्यवसायीको भने उठाएका छैनौं, उहाँहरुलाई केही समय अझै नगरपालिकाले दिन्छ । जसले हटाउँदैन र आजसम्म पनि हाम्रो आग्रहलाई बेवास्ता गरेको छ, उसको सामान हामी नगरपालिकाले लिन्छ, आवश्यक परेको ठाउँमा काम लगाउँछौं ।”
नगर उपप्रमुख खडक बहादुर शाहले नगरपालिकाले पटक पटक सामाग्री उठाउन ताकेता गर्दा पनि केहि निर्माण व्यवसायीले अटेर गर्दा कारवाही स्वरुप यो सामाग्री उठाउनु परेको बताएका छन् । उनले नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागि भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन पनि आग्रह गरेका छन् । “नगरको सुन्दरता बढाउनमा हामी सबैको सकारात्मक भुमिका रहनुपर्छ । यो अभियान कसैको विरुद्धमा चलाइएको अभियान होइन ।” नगर उपप्रमुख शाहले भने, “सबै मिलेर टीकापुर बनाउनुपर्छ । टीकापुर सुन्दर भएपछि मात्रै यसको सम्भावना बढ्दै जाने हो ।” टीकापुर नगरपालिका वडा नं. १ भित्र मात्र ३२ ओटा स्थानमा अनाधिकृत रुपमा ढुंगा, गिट्टी, वालुवा, ग्राभेल थुपारेको तथ्यांक टीकापुर नगरपालिकासंग रहेको छ । ति मध्ये केहि निर्माण व्यवसायीले नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफै हटाउन शुरु गरेका छन । तर केहि निर्माण व्यवसायी भने निर्माण सामाग्री हटाउनुको साटो उल्टै वादविवादमा उत्रिएका छन् । निर्माण व्यवसायी वादविवादमा उत्रिदा नगरपालिकाको सामाग्री उठाउन गएको नगर प्रमुख र उपप्रमुख सहितको टोली र निर्माण व्यवसायीबिच केहि समय भनाभन् पनि भएको थियो । सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका निर्माण व्यवसायी टीका रावललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रावललाई अवको केहि दिन भित्र सार्वजनिक स्थानमा रहेका आफ्ना सबै निर्माण सामाग्री हटाउने प्रतिवद्धतापछि सम्झाई बुझाई छोडीएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
निर्माण व्यवसायी पुर्ण बहादुर ठकुल्लाले वर्ष दिन लगाएर जम्मा गरेको सामान एक महिनामै उठाउन नसकिने बताएका छन् । “वर्षदिन लागेर जम्मा गरेको सामान एकैपटक कसरी सकिन्छ ? कम्तीमा पनि हामीलाई समय दिइनुपर्छ ।” ठकुल्लाले भने, “वर्षाको समयमा लेबर नपाएर, खाली जग्गा नपाएर समेत हामीलाई समस्या भएको छ, समय पर्याप्त दिनुपर्छ । अनिमात्र हामिले थुपारेको सामाग्री उठाउन सक्छौं ।”
सडक छेउमा थुपारेका निर्माण सामाग्रीका कारण नागरिकहरुले निकै सास्ती खेप्दै आएका छन् । एकातिर दुर्घटनाको जोखिम भने अर्कोतिर ठुलो सवारीसाधन साधनले सामाग्री थुपार्ने समयमा सडकमा समेत क्षति पुग्ने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *