नगरपालिकाले गर्यो बजार क्षेत्रको अनुगमन

शेयेर गर्नुहोस


टीकापुर २७ साउन/
टीकापुर नगरपालिकाले शुकवार बजारको अनुगमन गरेको छ ।
नगरपालिकाका नगर उपप्रमुख खडक शाहको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायहरु मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार जुन पालिकमा व्यवसाय गर्दै आएको छ त्यसको दर्ता त्यस वडामा गर्नुपर्ने व्यवस्था भएपनि अनुगमनका क्रममा अधिकांश व्यवसायहरु वडा कार्यालयमा दर्ता नभएको पाइएको हो । त्यसमा केही व्यवसाय दर्ता नभएरै पनि १२ वर्षदेखि सञ्चालन भएको पाइएको छ । अनुगमनमा परेका किसाना पसलहरुको अवस्था निकै दयनीय देखिएको छ । जहाँ भएको सामानको ७० प्रतिशत भन्दा बढी सामान म्याद नाघेको भेटिएको छ ।
अनुगमनका क्रममा पहिलो चरणमा नगरपालिकाले व्यवसाय दर्ता, म्याद नाघेको सामान नष्ट, मूल्य सुची अनिवार्य राख्नुपर्ने जस्ता कुराहरुमा सम्झाएर त्यसको व्यवस्थापनका लागि एक हप्ताको समय तोकेको छ ।
१२ वर्षदेखि बेतबासको फर्निचरको काम हुँदै आएको छ । तर दर्ता छैन । पार्वती बेतबास उद्योग राम मनोर चौधरी । नगरपालिकाका नगर उपप्रमुख खडक शाहले चालू आर्थिक वर्षको पहिलो बजार अनुगमन भएको भन्दै व्यापारीहरुलाई सचेत गराउने काम भएको बताउँदै आगामी दिनमा कडा ढंगबाट प्रस्तुत हुने बताएका छन् । “पहिलो चरणमा व्यापारीहरुलाई सम्झाउने काम भएको छ । अब केही दिन बजारमा सुचना आह्वान गर्ने र सबै व्यापारीलाई दर्ता प्रक्रियामा आउन आग्रह गर्छौं ।” नगर उपप्रमुख शाहले भने, “त्यो गर्दा पनि जुन व्यापारीले व्यवसाय वडामा दर्ता गरेन, म्याद नाघेका सामानको व्यवस्थापन गरेन वा नियमविपरीत गयो त्यसलाई कानुनी दायरामा ल्याउने काममा नगरपालिका अगाडि बढ्छ ।”
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले उपभोक्ताको दैनिक जनजीवनसँग जोडिएको किराना पसलको अवस्था निकै दयनीय देखिएको बताएका छन् । उनले पसल दर्ता गरेर सरकारको मापदण्डअनुसार चल्नुपर्ने भन्दै आगामी दिनमा सम्झाउने बुझाउने भन्दा पनि गलत गर्नेलाई कठोर भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । “ठिक छ, पहिलो चरणमा चेतावनीसम्म दिनु ठिकै हो । पछिपछि पनि त्यसको सुधार भएन भने कठोर रुपमा प्रस्तुत हुनुपर्छ ।” प्रमुख राना भन्छन्, “विशेषगरी स्थानीय सरकारले व्यवसायीहरुलाई वडामा दर्ताको लागि निश्चित समय दिएर काम अगाडि बढायो भने त्यसपछिको अनुगमन प्रभावकारी हुन्छ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले अनुगमनका क्रममा बजारको अवस्था संतोषजनक नरहेको बताएका छन् । उनले व्यवसायीहरुलाई स्थानीय तहमा दर्ताको प्रक्रियामा ल्याउनको लागि नगरपालिकाले केही दिनमै सुचना आव्हान गर्ने बताए । “हामी व्यवसाय दर्ताको लागि सुचना आव्हान गर्छौं । त्यो समयावधि भित्र सबैलाई दर्ताको लागि आग्रह पनि गर्छौं ।” प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, “सुचनाको समय सकिएपछि पुनः बजार अनुगमनको क्रमलाई निरन्तरता दिन्छौं । त्यो त्यो समयमा पनि स्थिति अहिलेको जस्तै भेटियो भने कानुनी प्रक्रिया अनुसार व्यवसायीलाई कारबाहीको दायरामा ल्याउछौँ ।”
उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले स्थानीय सरकार ढिलो भएका कारण बजारको अवस्था चिन्ताजनक स्थितिमा पुगेको बताएका छन् । उनले बजार अनुगमनका क्रममा विगतमा जुन अवस्था बजारको देखिन्थ्यो त्यसमा कुनै प्रकारको परिवर्तन नभएको बताए । “एउटा त बजारको अनुगमन पनि निकै कम हुन्छ । त्यो अनुगमनका क्रममा विगतमा चेतावनी दिएका व्यवसायीहरुमा पनि कुनै परिवर्तन आएको पाइएन ।” तिमिल्सिनाले भने, “व्यापारीहरुको बहाना धेरै छ । अब व्यवसाय दर्ताका लागि पनि बहाना गर्नुपर्ने स्थिति छ । त्यसमा स्थानीय सरकार जिम्मेवार र कडा रुपमा प्रस्तुति नभएसम्म उपभोक्ता मारमा परिरहने देखिन्छ ।”
शुक्रबारको अनुगमनमा १९ वटा पसलको अनुगमन भएको थियो । त्यसमा स्थानीय तहमा दर्ता भएका दुईवटा पसलमात्रै भेटिएका छन् । तीनको पनि नवीकरण छैन । केही पसलहरु दर्ता नै नभएर सञ्चालन हुँदै आएको पनि भेटिएको छ भने १३ वर्ष पहिले म्याद सकिएको सामान पनि बिक्रीका लागि राखिएको भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *