शेयेर गर्नुहोस
टीकापुर २३ जेठ /
टीकापुर नगरपालिकाको ५१ औं कार्यपालिका बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने मिति तय गरेको छ ।
नीति तथा कार्यक्रम सहित बजेटको बाडफाडका विषयका केही दिन चलेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम प्रस्तुत र आगामी आर्थिक वर्षको वार्षिक बजेट ल्याउने मिती तय गरेको हो ।
बैठकले असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १० गते आगामी आर्थिक वर्षको लागि वार्षिक बजेट ल्याउने मिती तय गरेको कार्यपालिका सदस्य समेत रहेका वडा नं. ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिएका छन् । उनले बैठकले नीति तथा कार्यक्रमका बारेमा मोटामोटी सहमति गरेपनि बजेटका बारेमा भने त्यस्तो कुनै सहमति भै नसकेको बताए ।
संघीय सरकारले प्रदान गर्ने बजेटको आकारका आधारमा नगरपालिकाको बजेटको आकार तय गर्ने वडा अध्यक्ष ठकुल्लाले बताएका छन् । संघीय सरकारको बजेटमा नगरपालिकाले प्राप्त गर्ने आगामी वर्षको बजेटको आकार घटेको देखिन्छ । त्यसैको आधार बनाउने हो भने यसवर्ष नगरपालिकाको बजेट घट्ने अनुमान गरिएको छ ।
अर्का कार्यपालिका सदस्य रामबहादुर नगार्जीले विगत वर्षको भन्दा आगामी वर्षको बजेटको आकार घट्न सक्ने बताएका छन् । उनले आन्तरिक आम्दानीमा आएको कमीले बजेटको आकारमा असर पार्ने सम्भावना देखिएको बताए । उनका अनुसार वडा कार्यालयमा जाने बजेटको आकारमा कमी आउन सक्ने छ ।










