नव निर्माणको खुद नाफा ६ लाख बढी

शेयेर गर्नुहोस

टीकापुर २१ मंसिर/
नव निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ लाख भन्दा बढी खुद नाफा कमाएको छ ।
सहकारी संस्थाले शनिबार आयोजना गरेको १२ औं वार्षिक साधारण सभामा प्रस्तुत गरेको लेखा परिक्षणको प्रतिवेदन अनुसार सहकारीले गत वर्ष ६ लाख १४ हजार ६ सय ९० रुपैयाँ १४ पैसा खुद नाफा कमाएको हो । सहकारीले ६३ लाख २२ हजार तीन सय ७ रुपैयाँ आम्दानी गरेकोमा ५५ लाख २४ हजार ९ सय ९५ रुपैयाँ ८९ पैसा खर्च भएको देखाएको छ । गत आर्थिक वर्षमा सहकारीले १ दशमलव ५० पैसा लाभांश शेयर सदस्यलाई वितरण गर्न प्रतिवेदनमा उल्लेख गरेको छ ।
तीन सय ९९ जना शेयर सदस्य रहेको सहकारीमा एक करोड ३७ लाख ४९ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा पाँच करोड ५० लाख ९२ हजार चार सय ८३ रुपैयाँ १२ पैसा कुल कारोबार गरेको सहकारीका व्यवस्थापक कमलेश जी. बोहराले जानकारी दिएका छन् ।
उनले सहकारी प्रती शेयर सदस्यहरुको लगानी आवश्यक रहेको उल्लेख गरे । सहकारीमा शेयर सदस्यले बचत गर्ने बानीको विकास गर्नुपर्ने भन्दै सहकारी प्रती सबै जिम्मेवार भएर लाग्न सके मात्रै सहकारीलाई उचाइमा पुर्याउन सकिने बोहराले बताएका छन् । उनले सहकारीमा भएका विभिन्न बचतमा आफ्नो क्षमता अनुसार बचत गर्ने बानीको विकास भए सहकारीलाई अझै सबल बनाउन सकिने बताए ।
सहकारी संस्थाका अध्यक्ष भगवती दास चौधरीको अध्यक्षतामा भएको १२ औं साधारण सभामा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले सहकारीको मेरुदण्ड शेयर सदस्य भएको बताउँदै सहकारीमा नियमित बचत गर्ने बानीको विकास हुनुपर्ने बताएका छन् । उनले पछिल्लो समय सहकारीले खराब कर्जालाई नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । “अहिले खराब कर्जाका कारण सहकारी प्रतिको विश्वास गुम्दै गएको छ ।” उनले भने, “त्यो विश्वास कायम राख्दै खराब कर्जालाई नियन्त्रण गर्न ध्यान दिनुपर्छ ।”
जानकी गाउँपालिका वडा नं. २ स्थित आदर्श माद्यामिक बिधालयका प्रधानाध्यापक गणेश प्रसाद ओझाले सहकारीलाई जीवन्त राख्नको लागि शेयर सदस्यले सहकारीमा बचत गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन् । उनले सहकारीले ऋण लगानी गरेर मात्रै नाफा हासिल गर्न नसक्ने बताउँदै उत्पादनमा लगानी गर्न आवश्यक रहेको बताएका छन् । ओझाले बजार मुल्य भन्दा कम नाफा खाएर व्यावसायिक लगानीमा सहकारी जानुपर्ने बताएका छन् ।
सहकारीले असल बचतकर्ताको रुपमा काशीराम चपाईलाई सम्मान गरिएको छ भने असल ऋणीको रुपमा मीना देवि चौधरी विना धितोमा र धितोमा झंकरी विकलाई सम्मान गरिएको छ । त्यसैगरी सहकारीका उपाध्यक्ष झनक राज ओझालाई टीकापुर स्थित खड्ग स्मृति माद्यामिक बिधालयको प्रधानाध्यापकमा नियुक्त भएको उपलक्ष्यमा सम्मानपत्र सहित सम्मान गरिएको छ । त्यसैगरी सहकारीको अभिभावकको भुमरीमा रहेर काम गर्दै आएका गणेश प्रसाद ओझालाई पनि जानकी गाउँपालिका वडा नं. २ स्थित आदर्श माद्यामिक बिधालयको प्रधानाध्यापकमा नियुक्त भएको भन्दै सम्मानपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा महिला शेयर सदस्यको तर्फबाट मथुरा रावल, देव बहादुर सुनार, हरियाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक धनबहादुर बुढामगर,दाताराम ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका सचीव बलबहादुर बोहराले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष झनक राज ओझाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *