शेयेर गर्नुहोस
टीकापुर ०७ कार्तिक/
कैलालीको जानकी गाउँपालिका वडा नं. ५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदिबहिनी सहित तीनजनाको ज्यान गएको छ ।
राष्ट्रिय गौरव रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीवहिनी सहित तीनजना बालिकाको ज्यान गएको हो । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १५ का जुम्ल्यहा दिदीबहिनी निशा वजगाई, मानुषी बजगाईं र जानकी गाउँपालिका वडा नं.५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
मृतक निशा र मानुषी टीकापुर स्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा सुलोचना तिमिल्सैना जानकी गाउँपालिका वडा नं. १ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए ।
प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । मृतकहरुको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।










