नागरिकता भएर पनि नयाँ लिनुपर्ने बाध्यता

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १२ साउन /
कैलालीको टीकापुरका झनक प्रसाद तिमिल्सिना शैक्षिक क्षेत्रमा लामो समय कार्यरत रहेर सेवा निवृत्त हुनुभयो । सेवा निवृत भएपछि राज्यबाट पाउने निवृतिभरण पाइरहनुभएको छ । चालू आर्थिक वर्षबाट निवृतिभरणको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उहाँको पुरानो नागरिकताले काम नगर्दा नयाँ नागरिकता बनाउनुपर्ने भयो । २०३४ सालमा जिल्ला प्रशासन कार्यालय अछामबाट जारी भएको नागरिकताको प्रतिलिपी उहाँले लिन पाउनुभएन ।
सशस्त्र द्वन्दको समयमा अछाम जिल्लामा भएका सबै विवरण नष्ट भएका कारण तिमिल्सिनाको पुरानो अभिलेख भेटिएन । पुरानो अभिलेख नभेटेपछि उहाँका अगाडि नयाँ नागरिकता बनाउनुको अर्को विकल्प रहेन । “नागरिकता पुरानो भए पनि सबै कुरा प्रष्ट देखिन्छ । त्यो नागरिकताले राष्ट्रिय परिचयपत्र बन्दैन ।” उहाँ भन्नुहुन्छ, “प्रतिलिपीका लागि पुरानो अभिलेख छैन । नयाँ बनाउँदा आजसम्म पेश भएका निकायमा नयाँ नागरिकता लिएर विवरण सच्याउँदै जानुपर्ने हो कि भन्ने चिन्ता छ ।”
यो समस्या तिमिल्सिनाको मात्रै होइन । सशस्त्र द्वन्दको समयमा जिल्ला प्रशासन कार्यालय अछाममा अभिलेखका लागि राखिएका सबै कागजात नष्ट भएका कारण कैयौंलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय अछाममा २०५८ साल अगाडिको कुनै अभिलेख छैन । २०५८ सालभन्दा अगाडि नेपाली नागरिकता लिएकाले अहिले प्रतिलिपी नलिएर नयाँ नागरिकता लिनुपर्ने भएको छ ।आफुसँग नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता बनाउनुपर्ने बाध्यताले कैयौंले दुख पाएका छन् । टीकापुरकै पार्वती उपाध्याय उमेरले ९० पुग्नुभयो । सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएपछि नयाँ नागरिकता लिनुपर्ने बाध्यता उहाँलाई आइलागेको छ ।
“पुरानो नागरिकता हातमा हुँदाहुँदै पनि नयाँ नागरिकता बनाउन कठिन अवस्थामा प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता छ ।” उहाँ भन्नुहुन्छ, “पुरानो आधार नभएकाको लागि नयाँ नागरिकता आवश्यक भए पनि भएकाको त्यसैबाट काम हुँदा मजस्ता कैयौंले दुख पाउने थिएन ।”
सरकारले मातहतका कार्यालयमा अभिलेख नभए पनि बुझिने विवरण भएका नागरिकहरूलाई टिप्पणीका आधारमा नागरिकताको प्रतिलिपी उपलब्ध गराउन सकेको भए सहज हुने सेवाग्राहीको बुझाई छ । त्यसमा पनि अरुको सहारामा हिड्नु पर्ने जेष्ठ नागरिकहरु झन अप्ठ्यारोमा परेका छन् । घरमा अभिभावक नभएका जेष्ठ नागरिकहरूलाई सबैभन्दा बढी समस्या हुन थालेको छ । नयाँ नागरिकताको लागि साक्षी व्याक्ती नै सेवाग्राहीले पाउन सकेका छैनन ।
वडा कार्यालयदेखि ईलाका प्रशासन कार्यालयसम्म धाउनुपर्दा निकै दुख पाएको लम्कीचुहा नगरपालिका वडा नं. ७ का पदम बोहरा बताउनुहुँन्छ । “राष्ट्रिय परिचयपत्रका कारण बुढेसकालमा निकै दुख पाइयो । कहिले प्रशासन कहिले वडा कार्यालय धाउँदा धाउँदा बूढो शरीर निकै शिथिल बनेको छ ।” उहाँ भन्नुहुन्छ, “भएकै पुरानो नागरिकता राष्ट्रिय परिचयपत्र बनिदिएको भए यत्रो दुख पाउनुपर्ने थिएन ।” उहाँले नागरिकताको सिफारिसका लागि साक्षी बस्ने मान्छे पाउन नै मुस्किल हुने गरेको बताउनुभयो ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भुमिश्वर पोख्रेलले पुरानो अभिलेख नभएर नयाँ नागरिकता बनाउने सेवाग्राहीले दुख पाएको बताउनुभएको छ । उहाँका अनुसार विभागले पुरानो अभिलेखका आधारमा मात्रै नागरिकताको प्रतिलिपी लिन सकिने, अन्यथा नयाँ प्रक्रियाबाट गएर नयाँ नागरिकता लिनुपर्ने व्यवस्थाले सेवाग्राहीलाई समस्या भएको हो । “विभागबाट जस्तो परिपत्र भएको छ त्यसैअनुसार सेवाग्राहीको काम गर्ने हो । परिपत्र भएअनुसार नयाँ प्रक्रियामा जानुपर्नेलाई त्यसैअनुसार गर्न भनेका छौँ भने प्रतिलिपीको हकमा पनि त्यहीँ हो ।” उपसचिव पोख्रेलले भन्नुभयो, “सरकारी निकायमा अभिलेख नभएर व्याक्तीले पाएको प्रमाणपत्रको आधारमा अझै भनौं पुरानो नागरिकताको आधारमा प्रतिलिपी दिन सकेको भए धेरै सेवाग्राहीलाई सहज हुनेथियो ।”
उहाँले पुरानो नागरिकता भएकाको नयाँ लिनुपर्ने स्थितिमा पुरानो नागरिकता नम्बर र जारी भएको मिति नयाँ नागरिकताको पछाडि बोधार्थमा लेखिदिने गरेको बताउनुभयो । “नयाँ नागरिकता लिँदा प्रक्रियामा लाग्ने समय मात्रै हो । विवरणको हकमा नयाँमा पुरानो विवरण उल्लेख गरेर नागरिकता दिने गरेका छौँ ।” उहाँले भन्नुभयो, “सेवाग्राहीलाई यसमा बुझाउन भने निकै कठिन हुने गरेको छ । नयाँ नागरिकता लिँदा पनि समस्या हुँदैन भनेर बुझाउन समय लाग्छ ।”
राष्ट्रिय परिचयपत्रका लागि ईलाका प्रशासन कार्यालय टीकापुरमा अस्वभाविक भिड लाग्ने गरेको छ । प्रशासन कार्यालयले आएका सेवाग्राहीको फारम बुझेर बाँकी प्रक्रियाको लागि आउने समय दिने गरेको छ । तुरुन्त बनाउनुपर्ने सेवाग्राही बाहेकका लागि प्रशासन कार्यालयमा भदौ २१ गतेसम्म सेवाग्राहीका लागि समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *