शेयेर गर्नुहोस
टीकापुर १८ असोज /
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले नागरिकहरूलाई शान्तिसुरक्षाका हकमा विश्वासमा लिएर काम गर्ने बताएका छन् ।
बिहीबार टीकापुरका पत्रकारहरुसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा बुढाथोकीले टीकापुरको बसाइ अवधिभर प्रहरी प्रतिको विश्वास नागरिकहरूमा बढाउँदै शान्तिसुरक्षामा प्रहरी छ भन्ने अनुभुती नागरिकहरूमा दिलाएर काम गर्ने बताएका हुन । “मैले कुनै लोभ लालच नगरेर निस्वार्थ भावनाका साथ काम गर्नेछु । त्यसमा मेरो मातहतका प्रहरी भित्रको समस्यालाई सुधार गर्दै लैजाने छु ।” प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने, “शून्य सहनशीलतालाई ख्याल गर्दै शान्तिसुरक्षा चुस्त दुरुस्त बनाउनेमा कुनै कसुर बाँकी रहनेछैन ।”
उनले लागुऔषध दुर्व्यसनी न्यूनीकरण, पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटनादेखि शान्तिसुरक्षामा प्रहरी कतै नचुक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी प्रमुख बुढाथोकीले दशै तिहार नजिकिँदै गएसँगै प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार वर्तमान अवस्थामा काम गर्ने उनको भनाई छ । नेपाल प्रहरीको प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रहेर टीकापुर सरुवा भएका बुढाथोकीले आफ्नो पुर्व सिकाइको आधारमा पनि काम गर्न सजिलो हुने बताए । ‘यहाँ आएकै दिनदेखि मैले विभिन्न संघ, संस्थाहरुसँग अन्तरक्रिया र छलफल गरिरहेको छु । सबैको प्रतिक्रिया लिँदै त्यसैअनुसार शान्तिसुरक्षा योजना तयार गरिरहेको छु ।” बुढाथोकीले भने ‘केन्द्रिय कार्यालयमा योजना निर्माणमै बसेर काम गरेको हुनाले पनि मैले योजना बनाएर काम गर्नेछु, यसमा यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छु ।’
छलफलका क्रममा पत्रकारहरुले लागुऔषध दुर्व्यसनी, चोरी डकैती, लुटपाट, भारतसँग खुला सिमानाका क्रममा हुने चोरीपैठारीको घट्नामा प्रहरीले निगरानी बढाउनुपर्ने सुझाव दिएका थिए । समाजलाई सकारात्मक प्रभाव पर्ने र नागरिकहरूले शान्तिसुरक्षाको महसुस गर्ने गरी काम गर्ने प्रहरी नायब उपरीक्षक बुढाथोकीलाई पत्रकारहरुले सुझाव दिएका छन् ।










