नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन राजनीतिक दलहरूका नेताहरूको सम्बोधन

शेयेर गर्नुहोस


टीकापुर २७ पुस /
नागरिक उन्मुक्ति पार्टीको प्रथम ऐतिहासिक प्रथम महाधिवेशन टीकापुरमा सुरु भएको छ ।
पार्टीका संरक्षक तथा महाधिवेशन संयोजक रेशमलाल चौधरीको अध्यक्षतामा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका अध्यक्ष एवम् भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरी प्रमुख अतिथि रहेकी थिइन् । महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनले पार्टीलाई थप मजबुत बनाएर लैजाने विश्वास व्यक्त गरेकी छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन सबैले लाग्नुपर्ने बताउनुभएको छ । पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधनका क्रममा उहाँले देशको पहिचानलाई जोगाउन सबैले लाग्नुपर्ने बताउनुभएको हो । “आज त्यो वा त्यो भनेर पहिचानका एजेण्डा बाहिर आउन थालेका छन् । त्यसले सिंगो देशको पहिचानलाई संकटमा पुर्याउन सक्छ ।” पुर्व प्रधानमन्त्री नेपालले भन्नुभयो, “हामीले जात, धर्मको नाममा पहिचान खोज्नुभन्दा सिंगो देशको पहिचानलाई समेट्दै देशको समृद्धिसँग लाग्न अहिलेको आवश्यकता हो ।”
उहाँले गणतन्त्रका विरुद्धमा केही संयन्त्रले खुट्टा उचालिरहेको बताउँदै देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न नसक्ने बताउनुभयो । “दलीय व्यवस्था भन्दा निरंकुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन । विगतम त्यहीँ व्यवस्था ढाल्नको लागि त्यत्रो आन्दोलन गर्नुपर्यो ।” उहाँ भन्नुहुन्छ, “बरु कुनै पार्टी ठिक नहोला, कुनै नेता ठिक नहोला, तर त्यसको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ । निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन ।”
पुर्व प्रधानमन्त्री नेपालले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा पुगेका प्रतिनिधिहरुको निगरानी राजनीतिक दलले गर्नुपर्ने बताउनुभयो । “वार्षिक १६ लाख युवा रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यता छ । त्यसलाई रोक्नको लागि गम्भीर बन्नुपर्छ ।” उहाँ भन्नुहुन्छ, “आज सबैतिर अभाव छ, भएका सम्भावनालाई पछ्याउन सकेका छैनौं ।” त्यो युवा जनशक्तिलाई समयमै रोक्न नसकेर स्रोतसाधनलाई परिचालन गर्न नसके स्थिति गम्भीर बन्ने नेपालले बताउनुभयो । विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै नेपालले आगामी दिनमा त्यस्ता घटना घट्न नहुने बताउनुभयो ।
महाधिवेशनलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा सिके रावतले ठुला राजनीतिक दलहरूले राम्रो काम गर्न नसकेकै कारण वैकल्पिक राजनीतिक शक्तिको उदय भएको बताएका छन् । उनले पहिचान, समृद्धि र सुशासनका कुरामा ठुला राजनीतिक दल पटकपटक चुकेको बताए । “पहिचानका कुरा गर्दा जेल जानुपर्छ । समृद्धिको कुरा गर्दा लाखौं युवा बर्सेनि रोजगारीका लागि वैदेशिक रोजगारमा जान बाध्य छन् भने, सुशासनको कुरा गर्दा ठुला भ्रष्टाचारमा तिनै ठुला नेताहरुको संलग्नता हुन्छ र आपसमा चार जना मिलेर सुमसाम गर्छन् ।” अध्यक्ष रावतले भने, “यहाँ सबैलाई आफ्नै चिन्ता छ । अर्काको अस्तित्व स्वीकार गर्ने स्थितिमा कोहि छैनन् ।”
उनले जनतालाई राजनीतिक अधिकार चाहिएको बताउँदै त्यो अधिकार जनता आफैले लिनुपर्ने बताएका छन् । अध्यक्ष रावलले सीमान्तीकृत वर्ग एक ठाउँमा आउनुपर्ने भन्दै त्यसका लागि सबै पहिचानवादी वर्ग मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनालले संघीयता, लोकतान्त्रिक, गणतन्त्र जोगाउनका लागि जस्तोसुकै मूल्य चुकाउनका लागि पछी नहट्ने बताएका छन् । उनले संविधान जारी भएको आठ वर्षमा पनि प्रदेशलाई अधिकार दिन नसक्दा गणतन्त्र विरोधीहरु सलबलाउन थालेको बताएका छन् । सोनालले सुदुरपश्चिम प्रदेशको नामाकरणमा विमति राख्दै प्रदेशको नाम थरुहट प्रदेश राख्न आग्रह समेत गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदुराश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले देशमा लोकतन्त्र नभई दलतन्त्र स्थापित भएको बताएका छन् । उनले साम्प्रदायिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भुमिका महाधिवेशनले खेल्ने विश्वास व्यक्त गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले सञ्चालन गरेको कार्यक्रमको स्वागत केन्द्रिय सदस्य धर्मबहादुर चौधरीले गरेका थिए ।
५५ जिल्लाबाट महाधिवेशनमा प्रतिनिधिहरुको उपस्थिति रहेको छ । महाधिवेशन पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *