नारी दिवसले छुन नसकेका महिलाका पीडा

शेयेर गर्नुहोस


झलनाथ खनाल,
टीकापुर २४ फागुन /

कैलालीको टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई नारी दिवसको जानकारी नै छैन । यस्ता दिवस कहिले आउँछन् ? कसले मनाउँछन् ? कहिले सकिन्छन् ? उहाँलाई यस्ता दिवसले कहिल्यै छोएको पनि छैन । शिविरको बास, पाँचजनाको परिवारको गुजाराका लागि कल्पना सात वर्षदेखि इलेक्ट्रिक मेकानिकको काम गर्दै आउनुभएको छ । श्रीमानबाट काम सिक्नु भएकी कल्पनालाई यस्ता दिवसहरुमा जाने फुर्सद पनि छैन । श्रीमान र कल्पना संगै काम गर्नुहुन्छ ।
“अहिलेसम्म नारी दिवसको कार्यक्रममा एक पटक गएकी थिएँ । त्यसपछि कहिले नारी दिवस पर्छ ? त्यो पनि थाह छैन ।’ कल्पनाले भन्नुभयो, “काम नगरी खान पुग्दैन । खानाका लागि काम गर्नैपर्छ । कार्यक्रमहरुमा जाने फर्सद पनि हुँदैन ।”
उहाले यस्ता कार्यक्रमहरु तामझाम साथ गर्नुभन्दा पिछडिएका महिलाहरुको जीवनस्तर उकास्नका लागिखर्च गर्नसके ठूलो मद्दत हुनसक्ने भन्दै वास्तविक समाजबाट प्रताडित महिलाहरुलाई यस्ता दिवस र कार्यक्रमहरुले अझै छुन नसकेको बताउनुभयो । “बरु, महिलालाई तालिम, सहुलियतमा ऋण उपलब्ध र उत्पीडनमा परेका महिलाहरुलाई न्याय दिने काममा महिला अगुवाहरु लागे राम्रो होला ।’ कल्पनाले भन्नुभयो, “तामझामका साथ हुने कार्यक्रम, बोल्ने भाषणले नारी दिवसको सान्दर्भिकता झल्काउन सक्दैन ।’
त्यस्तै, टीकापुर नगरपालिका वडा नं. १, एकतानगर शिविरकी सीता बि.क. एक होटलमा काम गर्दै आउनुभएको छ । उहाँलाई नारी दिवस के हो ? त्यो पनि थाह छैन । दिनभर कमाएको पैसाले घर परिवार पाल्नुपर्ने सीताको बाध्यता छ । उहाँको पीडा अहिलेसम्मका नारी दिवसहरुले मेटाउन सकेको छैन । मासिक पाँच हजारका लागि दिनभर भाँडा माझ्नु पर्ने बाध्यता रहेको सीता बताउनुहुन्छ ।
“नारी दिवस भनेर नाम सुनेकी छुँ । तर, त्यसको वास्तविकता बुझेकी छैन ।’ सीताले भन्नुभयो, “हामीलाई बुझेर पनि काम छैन । काम नगरी खान पुगेकाहरुलाई नारी दिवसले छोएको होला ।” उहाँले सरकारले नारी दिवस मनाइरहँदा पीडामा रहेका नारीहरुको उद्दार नहुने भन्दै त्यसका लागि पीडित नारी लक्षित कार्यक्रम ल्याउन सके घाउमा मल्हम लगाएको महसुस गर्न सकिने बताउनुभयो ।
संक्तिनगर शिविरको रामकुमारी डगौराको अबस्था पनि उस्तै छ । उहाँलाई नारी दिवसको बारेमा थाहै छैन । सात बर्षको उमेरमा अरुको घरमा काम गर्न थाल्नुभएकि रामकुमारी अहिले टीकापुरमा खाजा पसल संचालन गर्दै आउनुभएको छ । बिहानको समयमा स्थानिय पत्रीका वितरणको काम पनि रामकुमारीले गर्दै आउनुभएको छ । पहिलाको ज्याला मजदुरी र पत्रीका वितरणबाट आएको पैसा लगानी गरेर खाजा पसल संचालन गरेको रामकुमारी बताउनुहुन्छ । ” हुने खानेका लागि दिवस, सभा समारोह हुन्छन होला । हाम्रालागि त यहि काम प्यारो छ ।” रामकुमारीले भन्नुभयो, ” नत हामिलाई कसैले यस्ता अवसरमा खबर गर्छन, नत कोहि सान्त्वना दिन नै आउछन । आफ्नो काम नगरी खान पुग्दैन ।”
सानै उमेरमा अर्काको घरमा काम गर्नुको पीडा र दैनिक मजदुरी गरेर घर चलाउनेको पिडामा नारी दिवसले कुनै फरक नपार्ने उहाको भनाई रहेको छ । उहाँले दिनभर आदर्शका कुरा गर्नेहरुले नै श्रम शोषणको काम गर्दै आएको बताउदै उत्पीडित नारीहरुको उत्पिडनको पक्षमा बोल्ने धेरै र काम गर्ने कोहि नभएको बताउनुभएको छ ।
कल्पना, सीता र रामकुमारी यसका सानो उदाहरणमात्र हुन् । वास्तविक उत्पीडनमा परेका नारीहरुलाई नारी दिवसले छुन नसकेका थुप्रै उदाहरणहरु छन । सरकारी तथा गैरसरकारी संघ संस्थाले आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा थुप्रै कार्यक्रमहरु आयोजना गरिएका छन । केही सामाजिक अगुवाहरु भने कार्यक्रम गर्नु नराम्रो नभएको भए पनि वास्तविक उत्पीडनमा परेका नारीहरुको पक्षमा रहेर नारी दिवस मनाउँदा त्यसको परिणाम सकारात्मक आउने पक्षमा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *