कक्षा आठको नतिजा निराशाजनक

शेयेर गर्नुहोस


भजनी ०४ वैशाख /
भजनी नगरपालिकाले सञ्चालन गरेको कक्षा आठको वार्षिक परिक्षाको नतिजाले शैक्षिक क्षेत्रमा निकै निराशा देखाएको छ ।
नगरपालिकाले सोमबार सार्वजनिक गरेको नतिजा निकै निराशाजनक देखिएको हो । नतिजा सार्वजनिक भएपछि नगरपालिकाको चौतर्फी आलोचना पनि हुन थालेको छ । नगरपालिका र शैक्षिक संस्थामाथी नैतिक प्रश्न उठेको शिक्षाका जानकारहरु बताउँछन् । सामाजिक सञ्जाल मार्फत कतिपयले कक्षा आठको नतिजालाई लिएर निकै चिन्ता पनि व्यक्त गरेका छन् । नगरपालिका भित्र रहेका २३ सामुदायिक तथा संस्थागत बिधालयबाट ७ सय ८९ जना बिद्यार्थी वार्षिक परिक्षामा सहभागी हुँदा एक सय ८९ जना बिद्यार्थी मात्रै कक्षा ९ मा अध्ययन गर्न योग्य भएको अर्थात कक्षा ८ मा उतिर्ण भएको देखिएको छ । ६ सय जना बिद्यार्थी अनुत्तीर्ण हुँदा त्यसमध्येबाट ग्रेड वृद्धिका लागि एक सय ४४ जना बिद्यार्थीहरुले मौका परिक्षा दिन पाउने नगरपालिकाले सार्वजनिक गरेको रेकर्डमा उल्लेख छ ।
एक सय ६५ जना बिद्यार्थी भएको भजनीको शैक्षिक धरोहरको रुपमा चिनिएको महुन्याल माद्यामिक बिधालयमा सात जना बिद्यार्थी उतिर्ण हुँदा एक सय ५८ जना अनुत्तीर्ण भए । जसबाट २७ जनाले ग्रेड वृद्धिका लागि मौका परिक्षा दिन पाउने भए पनि बाँकी एक सय ३१ जना बिद्यार्थी ग्रेड वृद्धिको मौका परिक्षामा समेत सहभागी नहुने स्थितिमा पुगे । उता राष्ट्रिय माद्यामिक बिधालय पचमुडिया र महेन्द्र माद्यामिक बिधालय पगियापसारले एकजना बिद्यार्थी पनि उतिर्ण गराउन सकेनन् । राष्ट्रिय माद्यामिक बिधालयबाट ४८ जना र महेन्द्र माद्यामिक बिधालयबाट ४१ जना बिद्यार्थी परिक्षामा सहभागी रहेका थिए । कक्षा आठको परिक्षाको नतिजा हेर्दा सामुदायिक र संस्थागत बिधालयको स्थिति करिब एउटै देखिको छ । तुलनात्मक रुपमा भने सामुदायिक भन्दा संस्थागत बिधालयको नतिजा केही संतोषजनक छ ।
नगरपालिकाका शिक्षा अधिकृत पंखबहादुर शाहले परिक्षा प्रणाली व्यवस्थित हुँदा कम बिद्यार्थी उतिर्ण भएको बताएका छन् । बिद्यार्थीको लेखनशैली अनुसार शैक्षिक गुणस्तरमा प्रश्न उठनु स्वभाविक भएको बताए । “हामीले परिक्षालाई व्यवस्थित र उत्तर पुस्तिका परिक्षण गर्दा मर्यादित भएर काम गर्दा पनि यस्तो नतिजा आएको हो ।” उनले भने, “यसो भनिरहँदा फेल भएका बिद्यार्थीहरुलाई पास गर्ने भन्ने होइन । जस्ताको त्यस्तै रिजल्ट बाहिर आउँदा शैक्षिक क्षेत्र प्रति चिन्ता व्यक्त गर्नु सुखद पक्ष हो ।”
शिक्षा अधिकृत शाहले सबै पक्ष जिम्मेवार भएमात्र शैक्षिक गुणस्तर कायम गर्न सकिने बताए । उनले बिधालयमा शिक्षकलाई र नगरपालिकालाई दोष दिनुभन्दा सकारात्मक सुझावको अपेक्षा गरेका छन् । “हामी सबै जिम्मेवार बन्नुपर्छ । नगरपालिका, शिक्षक, बिद्यार्थी, अभिभावक र समुदायका जिम्मेवार व्याक्तिहरु सबैले चिन्तित भएर समन्वय र सहकार्यका साथ अगाडि बढ्नुको विकल्प छैन ।” उनले भने, “त्यसका लागि सबैको समन्वय र सहकार्य गराउने माध्यम नगरपालिका बन्छ । आगामी दिनमा शैक्षिक गुणस्तरलाई वृद्धि गर्न सर्वपक्षीय छलफलबाट शैक्षिक योजनाका साथ नगरपालिकाले काम गर्छ ।”
यता टीकापुर नगरपालिकाले भने अझै कक्षा आठको परिक्षा फल सार्वजनिक गरेको छैन । अन्य छिमेकी पालिकाको परीक्षा फल सार्वजनिक हुँदा टीकापुर नगरपालिकाको नतिजालाई पनि विशेष चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *