शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १२ असार /
शनिबार आएको वर्षाले नागरिकहरुमा केही राहत गर्यो ।
लामो समयदेखि वर्षा नहुँदा धान रोप्न नपाएका किसानहरु खुशी भए । गर्मीको मार खेप्दै आएका नागरिकलाई समेत राहतको महसुस भयो । तर एकाएक आएको वर्षाले केही छिनमै टीकापुर बजार जलमग्न भयो ।टीकापुर बजार क्षेत्रको मुटु मानिने बलभद्र चोक एकै चोटिको सामान्य वर्षाल जलमग्न हुँदा त्यस क्षेत्रमा व्यार गर्दै आएका नागरिकहरुलाई निकै सास्ती भयो ।
पछिल्लो समय शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले निर्माण गर्दै आएको नमूना ब्लक निर्माण कार्यक्रम अन्तर्गत निर्माण भइरहेको बजार क्षेत्रमा अधिकांश नालाहरु पुरिएका कारण बजार डुवानमा परेको हो ।
चोकको पानी नालामा जाने निकास नहुँदा बजार क्षेत्र सामान्य वर्षाले समेत जलमग्न भएको स्थानीय व्यापारी हर्कबहादुर बुढाले बतएका छन् । “नाला निर्माण गरिएका छन् । तिनको निकास कतै छैन । निकास भएका नालाहरु पनि सबै पुरिएका छन् ।” बुढाले भने, “एक दिनको सामान्य वर्षाले यस्तो अवस्था बनायो । वर्षातको समयमा कस्तो होला ?” बलभन्द्र चोकका केही पसलहरुमा पानी पस्दा लाखौंको क्षति समेत भएको उनको भनाइ छ ।
समयमै निर्माण कार्य सम्पन्न नहुँदा तथा निर्माण भएका नालीहरु समेत सफा नहुँदा वर्षामा जलमग्न हुने समस्या आएको व्यवसायी शंकर देवकोटाले बताएका छन् । उनले वर्षाको पानीको निकास नहुँदा बर्सेनि व्यापारीहरुले डुवानको समस्या झेल्नुपरेको बताएका छन् । “यसपटकको समस्या मात्रै होइन । बर्सेनि डुवानको समस्याबाट हामी आजित छौं ।” देवकोटाले भने, “जबसम्म समस्या पर्दैन तबसम्म कसैले चासो नदिने । भनेको नसुन्ने अनि समस्या आएपछि मात्रै सोच्ने हाम्रो मानसिकताले निकै अप्ठ्यारो पारेको छ ।”
टीकापुर नगरपालिका वडा नं. १ को ब्लक नं. “ए”लाई स्मार्ट सिटी कार्यक्रम अन्तर्गत नमूना ब्लक निर्माणको कार्य भइरहेको छ । निर्माणको जिम्मा पाएको महालक्ष्मी एम के जेभीले काममा निकै लापरबाही गरेको स्थानीयको गुनासो छ । उसो त आयोजनाको दोस्रोपटक थपिएको म्याद पनि सकिएको छ । निर्माण कम्पनीले पुनः आयोजनाको म्याद थपको लागि फाइल बिभागमा पठाएको निर्माण कम्पनीका ओभरसियर गजेन्द्र थापाले बताएका छन् । उनका अनुसार आयोजनाको दुई पटक थपिएको म्यादसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ ।
डुवानको समस्यामा टीकापुर बजार मात्रै होइन भजनीमा पनि व्यापारीहरुको समस्या उस्तै छ । शनिबारको वर्षाले भजनी नगरपालिका वडा नं. १ र ३ को भजनी बजार क्षेत्र जलमग्न भयो । सडक निर्माण गर्दा नाली निर्माण नहुँदा भजनीका व्यापारीहरुले पनि सास्ती खेप्दै आएका छन् । भजनी नगरपालिकाले जहाँ नालीको आवश्यकता हो त्यहाँ नाली निर्माण नगरी सडकको बीच भागमा कतैबाट पनि निकास नहुने नाली निर्माण गरेको छ । सडक निर्माण सम्पन्न भएको भजनी बजारको मुख्य सडकमा पुरानै नाली छ । जुन नालीमा पानी भन्दा अन्य फोहोरले भरिएका छन् ।
कैलालीमा सबैभन्दा बढी भजनी नगरपालिका क्षेत्रमा डुबान हुँदै आएको छ। भजनीमा हरेक वर्ष डुबान समस्या हुँदा स्थानीयहरु पीडित हुँदै आएका छन् । पहिलो दिन विहान मात्रै वर्षा भएपछि खुटिया र काँढा नदीमा बाढी आएको छ। लामो सुख्खाका कारण दुवै नदीमा पानी सुकेको थियो। नेपालको पूर्वी र मध्ये क्षेत्रमा मनसुन सक्रिय भएपनि सुदूरपश्चिममा अझै मनसुन सक्रिय भएको छैन।
मनसुनको लामो पर्खाइका कारण अधिकांश कृषकहरुले अझसम्म रोपाइको काम शुरु गर्न सकेका छैनन्।