नियम विपरीत प्रयोगमा उद्योगको जग्गा

शेयेर गर्नुहोस


टीकापुर ०२ साउन /

टीकापुर विकास समितिद्धारा विभिन्न प्रयोजनका लागि सस्तोमा खरिद भएको जग्गा प्रयोजन विपरीत सञ्चालन भएको पाइएको छ ।
विकास समितिले उद्योग, होटल तथा वर्कसपका नाममा वितरण भएका जग्गाको अवस्था सार्वजनिक गर्दै सोमबार टीकापुरमा भएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएको प्रतिवेदनले त्यस्तो देखाएको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख तथा विकास समितिका अध्यक्ष रामलाल डंगौरा थारुले अर्कै प्रयोजनमा प्रयोग भएका जग्गाबारे कानूनी पक्रिया अघि बढाइने बताएका छन् ।
“टीकापुर विकास समितिले सहुलियत दरमा उद्योग, होटल तथा व्यवसाय सञ्चालनका लागि दिएका जग्गाको अवस्थाको स्थलगत अध्ययनपछिको विवरण सार्वर्जनिक गरिएको छ । विकास समितिले त्यसरी वितरण भएका जग्गाको हालको अवस्था सार्वजिनक गर्दै अध्यक्ष थारुले उद्योग तथा होटल सञ्चालनका लागि सहुलीयत दरमा उपलब्ध गराएका अधिकांश जग्गा कित्ताकाट गरिएका, फरक व्यवसाय सञ्चालन भएका, आवासका लागि घर निर्माण भएका पाइएको बताएका छन् ।
विकास समितिले टीकापुरको गुरुयोजना अनुसार उद्योग, होटल तथा विभिन्न व्यवसाय सञ्चालनका लागि जग्गा वितरण गरेको थियो । समितिसँग जुन प्रयोजनका लागि जग्गा लिइएको हो सो प्रयोजनमा प्रयोग नभएकाले जग्गाको अवस्था सार्वजनिक गरिएको र अब कानून अनुसार अघि बढ्ने बताउँदै थारुले जग्गा लिएर अर्कै प्रयोजनमा प्रयोग गर्दा टीकापुरको गुरुयोजनामा समेत असर परेको बताए । हाल उद्योगका नाममा लिइएका १४ वटा उद्योग सञ्चालनमा रहेका, २१ वटा कित्ता, कित्ताकाट भएका, ३९ वटा कित्तामा घर बनाइ आवासका रुपमा प्रयोग भएका पाइएको प्रतिवेदनले देखाएको छ । विकास समितिको विवरण अनुसार उद्योगका नाममा लिइएका एक सय २७ कित्तामा ५३ कित्ता हाल खाली अवस्थामा रहेका छन् ।
विकास समितिले वि. सं. २०५४ सालमा ४६ विघा १५ कठ्ठा ६ धुर जग्गा उद्योग सञ्चालनका लागि वितरण गरेको थियो । जसमा प्लटको क्षेत्रफल २८ विघा १७ धुर रहेको छ भने त्यसभित्र बाटो र चोक चौराह १७ विघा १२ कठ्ठा ९ धुर रहेको विकास समितिका सहायक सव इन्जिनियर नेत्रप्रसाद रावलले बताएका छन् । वि.सं. २०५४ साल कात्तिक ११ गते तत्कालिन अध्यक्ष नैनबहादुर स्वाँरको अध्यक्षतामा बसेको बोर्ड बैठकले उद्योग सञ्चालनका लागि प्रतिकठ्ठा न्यूनतम २० हजारका दरले उद्योग सञ्चालनका लागि जग्गा उपलब्ध गराउने निणर्य गरेको थियो । साथै सोही वर्षको माघ १३ गतेको अर्को बोर्ड बैठकले जग्गा लिएको ५ वर्षसम्म उद्योग सञ्चालन नगरे जग्गा विकास समितिमा फिर्ता लिने निणर्य पनि गरेको थियो ।
त्यसैगरी होटल सञ्चालनका लागि लिइएको १३ वटा कित्तामा अधिकाँश जग्गामा होटल नभएका, अन्य व्यवसाय शुरु गरिएका, ३ कित्ता खाली रहेका, ५ जनाले कित्ताकाट गरेका, एउटा बोर्डिङ सञ्चालन भएको, २ वटा वर्क सप सञ्चालन भएका, १ ठाउँका विरुवा रोपिएको अवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विकास समितिले ४ जनालाई वर्कसप सञ्चालनका लागि समेत जग्गा वितरण गरेको थियो । वर्कसपका लागि लिएका जग्गामा समेत घर बनेका, होटल खुलेका वा अन्य कार्यमा प्रयोग भएको पाइएको छ ।
सहायक सव इन्जिनियर रावलले होटलका नाममा ढाई कठ्ठादेखि ५ कठ्ठासम्म जग्गा दिइएको, वर्कसपलाई ३ कठ्ठा ५ धुरका जग्गा उपलब्ध गराइएको बताएका छन् । त्यसैगरी विकास समितिले मन्दिर निर्माणका लागि समेत जग्गा उपलब्ध गराएको थियो । मन्दिरका लागि उपलब्ध गराएको जग्गामा प्रायः सबै ठाउँमा मन्दिर निर्माण भएका, कतिपय सार्वजनिक स्थानमा टोल तथा स्थानीय समुदायले आफैँ मन्दिर निर्माण गरेका, कतिपय सार्वजनिक स्थानमा मन्दिरका नाममा जग्गा अतिक्रमण भएको जानकारी दिइएको छ । मन्दिरका नाममा करिव २ विघा जग्गा अतिक्रमण भएको उपसमितिका संयोजक दिपक निसानीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *