निर्माण सामाग्री नपाउँदा समयमा निर्माण सकिएन

शेयेर गर्नुहोस


टीकापुर ११ पुस /
कैलालीको लम्की–टीकापुर–खक्रौला सडक खण्डको काम समयमा निर्माण सामाग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीहरुले बताएका छन् । हुलाकी सडक आयोजना अन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९.७ किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको भएपनि समयमा माटो तथा ग्राभेल लगायतका निर्माण सामाग्री नपाएकै कारण समयमा काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीहरूले बताएका हुन् ।
स्थानीय साकारसँग सहयोग माग्दा समन्वय नगरेको र सडकको बेसका लागि चाहिने माटो र ग्राभेल समयमा नपाएका कारण काम समयमा सम्पन्न हुन नसकेको उहाँहरू गुनासो छ । सडकको पहिलो खण्ड अर्थात लम्कीदेखि पथरैयासम्मको सडक कालोपत्रेको जिम्मा पाएको कालिका कुमार जेभीका साइड इन्चार्ज हरि नाथ योगीले काम भइरहेको बताउनुभयो । उहाँले कोरोनाका कारण भएको बन्दाबन्दी, वर्षातको समयमा काम हुन नसक्नु र ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदिजन्य निर्माण सामाग्रीको अभावका कारण काम समयमै सम्पन्न हुन नसकेको बताउनुभएको हो । योगीले सडकको ६५ प्रतिशत काम सम्पन्न गरेको दाबी दाबी गर्नुभयो । उक्त सडकको १ हजार ८ शय मिटर कालोपत्र गरिएको र आगामी जेठ मसान्तभित्र सडक कालोपत्रको काम सकाउने योगी बताउनुहुँन्छ ।
“हामी धमाधम काम गरिरहेका छौं आगामी जेठ मसान्तसम्म सबै काम सक्ने गरी काम थालेका छौँ’ ” उहाँ भन्नुहुन्छ, “अब ढिलाइ हुँदैन । नदिजन्य पदार्थको आपूर्तिमा समस्या भएका कारण पनि काममा अवरोध भएको छ । सहयोग र समन्वय भनेअनुसार पाएका छैनौं ।”
दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेभी र तेस्रो खण्डको रायमाझी गल्वा जगदम्बा जेभीले निर्माण गरिरहेको छ । दुई निर्माण कम्पनीको प्रगति पहिलो खण्डको भन्दा कम छ । एपेक्स खड्का कृष्ण जेभीको पहिलो चरणको सम्झौता म्याद नै सकिएको छ । म्याद सकिँदासम्म सडकको ४० प्रतिशत काम सम्पन्न भएको साइड इन्चार्ज प्रमोद कुमार मण्डल बताउनुहुँन्छ । उहाँले पनि माटोको अभावका कारण काम गर्ने सिजनमा खाली बस्नुपर्दा समयमा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । “सबैभन्दा बढी समय माटोको खोजीमा बित्यो । त्यसपछि बिजुलि पोल, खानेपानी पाइप र कोरोनाका कारण पनि कामा प्रभाव पर्यो ।” मण्डलले भन्नुभयो, “सडकक बेसको काम करिब सम्पन्न भैसकेको छ । बेसको काम पूरा भएपछि कामको प्रगति देखिने छ ।” उहाँले सडकको म्याद एक वर्ष थपका लागि निवेदन दिएको बताउनुभएको छ ।
तेस्रो खण्डको सडक निर्माणको जिम्मा पाएको रायमाझी गाल्भा जगदम्बा जेभीका साइड इन्चार्ज चन्द्र लम्सालको गुनासो पनि उस्तै छ । उहाँले स्थानीय सरकारकै सहयोग नपाएको गुनासो गर्नुभयो । “हामीले सडकको लागि एक वर्ष पहिला नै क्रसरका लागि अनुमति मागेका थियौं । बल्ल अहिले अनुमति पाएका छौं ।” लम्सालले भन्नुभयो, “सडकको बेसको लागि चाहिने माटो र ग्राभेल नपाउँदा त्यो भन्दा बढी समस्या भएको थियो । अहिले आएर समस्याहरु समाधान हुँदै जाँदा कामले गति लिएको छ ।” उहाँले काम गरिरहेको आयोजनाको म्याद यहीँ पौष १३ गते सम्पन्न हुँदै छ । उहाँकाअनुसार सडकको काम सम्पन्न गर्न अर्को असारसम्म लाग्नसक्ने देखिएको छ ।
उक्त सडक लम्की बजारबाट दक्षिणतर्फ झण्डै २ किलोमिटर, टीकापुर बजार क्षेत्रमा झण्डै ४ किलोमिटर र अन्य क्षेत्रमा गरी ७ किलोमिटर चार लेनको बाटो हुनेछ भने बाँकी दुई लेनको हुनेछ । पहिलो खण्डको ८ किलोमिटर सडकका लागि २०७७ जेठ २८ गते ४० करोड १९ लाखमा सम्झौता भएको थियो । दोश्रो खण्डको १० किलोमिटर सडकका लागि २०७७ जेठ २६ गते ४० करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो भने त्यसको गएको मंसिर २६ गते सम्झौता म्याद सकिएको छ । त्यस्तै तेश्रो खण्डको लागि २०७७ असार १४ गते ३३ करोड २० लाखमा हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *