निर्माण सामाग्री राख्ने थलो बन्दै सार्वजनिक जग्गा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १८ माघ /
कैलालीको टीकापुर नगरपालिका अन्य स्थानीय तहको भन्दा धेरै सार्वजनिक जग्गा भएको पालिका हुनुपर्छ ।
एक समुदाय एक खुला मैदान छ भने सडकहरुको जग्गा पनि निकै फराकिलो छ । नेपालकै पुरानो योजनको शहरको रुपमा विकास भएको टीकापुर क्षेत्रमा खुला स्पेसहरुको कमि छैन । तर,विडम्बना ती अधिकांश खुला मैदान र सडकका किनारहरु वर्षौंदेखि अतिक्रमणमा छन् । विशेषगरी ठेकेदारहरुका लागि ती खुला मैदान र सडकका किनार निकै उपयोगी बनेका छन् । बजार क्षेत्र मात्रै नभई ग्रामीण क्षेत्रका सार्वजनिक जग्गाहरुमा ठेकेदारहरुले हैकम जमाउँदा पनि टीकापुर नगरपालिकाले कुनै प्रतिक्रिया दिन सकेको छैन ।
नगरपालिकाले लगानी गरेर निर्माण गरेको सिटी बसपार्क नगरपालिकाका लागि प्रयोगविहीन भएपनि कुनै ठेकेदारका लागि निकै उपयोगी बनेको छ । सिटी बसपार्कमा कतै बालुवाको थुप्रो देख्न सकिन्छ भने कतै ढुङ्गाको । राज्यको लाखौं लगानी रहेका संरचना अलपत्र अवस्थामा रहदा त्यसको फाइदा ब्याक्तीहरुले लिने गरेको स्थानीय बताउछन् । सार्वजनिक जग्गा यसरी अतिक्रमणमा पार्नु भन्दा नगरपालिकाले निश्चित क्षेत्रमा निर्माण सामाग्रीहरुको भण्डारणका लागि ठेक्का प्रक्रियाबाट अगाडी बढेको भए नगरपालिको आन्तरिक आयको स्रोत थपिने उनीहरुको भनाई रहेको छ । सीटी बसपार्क सञ्चालनमा आउने भएपछि ठूलो आशा बोकेका ब्यापारीहरु बसपार्क सञ्चालन नहुँदा व्यवसायबाट नै विस्थापित हुने अवस्था आएको बताउँछन् ।
सोही क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका करन पुरिले बसपार्क सञ्चालनमा आउला भनेरै व्यवसाय सुरु गरेको बताउँदै अहिले बसपार्क सञ्चालनमा नआउँदा भाडा तिर्न पनि मुस्किल हुने गरेको बताउनुभयो । “बसपार्कलाई देखाएर घरधनीले भाडा महंगो बनाएका छन् । अहिले बसपार्क आएको छैन।” पुरीले भन्नुभयो, “बसपार्क निर्माण भएको क्षेत्रमा बालुवाको थुप्रो छ । हामी ब्यापारी बसपार्क आउला र ब्यापार गरौंला भन्दै पर्खेको पनि बर्ष पुरा हुँदा पनि बसपार्क सार्ने कुरामा कसैको ध्यान पुगेको छैन ।”
हुन त नगरपालिकाकी राजस्व शाखा प्रमुख दिला उपाध्याय रेग्मी नगरपालिका क्षेत्र भित्रको अधिकांश सार्वजनिक जग्गा ठेकेदारको कब्जामा भएको स्वीकार गर्नुहुन्छ । नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण सामग्री राखेको भन्दै थुप्रै गुनासाहरु आएको बताउँदै राजस्व शाखा प्रमुख रेग्मीले त्यसको नियन्त्रणका लागि नगरपालिकाले तत्काल एक्सन लिने बताउनुभएको छ ।
“हामी कस्ले कहाँ कति जग्गा अतिक्रमण गरेर निर्माण सामाग्री राखेको छ त्यसको जानकारी लिएर त्यो सामाग्री त्यहाँबाट हटाउन पत्राचार गर्छौं ।” रेग्मीले भन्नुभयो, “हामिले भनेको समयमा निर्माण सामग्री नउठाएको अवस्थामा उक्त सामाग्री नियन्त्रणमा लिने र अन्य कार्वाही समेत गर्ने तयारी भैरहेको छ ।”
उहाँले सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा नगरपालिकाको भएको बताउँदै त्यसका लागि नगरपालिकाले रणनीति अपनाउने बताउनुभयो । राजस्व शाखा प्रमुख रेग्मीले पटकपटक नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण सामाग्री थुपार्ने कामलाई बन्द गर्न सुचना जारी गर्दा पनि त्यसको सुनुवाइ हुन नसकेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *