नि:शुल्क प्लास्टिक सर्जरी स्वास्थ्य शिविर सुरु

शेयेर गर्नुहोस


टीकापुर ०८ असोज /
सुष्मा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग र टीकापुर नगरपालिकाको आयोजनामा आइतबारदेखि टीकापुरमा निशुल्क प्लाष्टिक सर्जरी स्वास्थ्य शिविर शुरु भएको छ । टीकापुर अस्पतालमा १० गतेसम्म सञ्चालन हुने शिविरको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रुपा चौधरीले यस्ता स्वास्थ्य शिविरहरुले स्वास्थ्यमा पहुँच नभएका नागरिकलाई राहात पुग्ने बताउँदै शिविर आयोजकलाई धन्यवाद व्यक्त गरेकी छन् । उनले स्वास्थ्य शिविर ग्रामीण क्षेत्रका नागरिकहरुका लागि निकै उपयोगी हुने बताउँदै त्यस्ता कार्यक्रमहरुलाई स्थानीय सरकारको समन्वयमा आयोजना गर्दै जानुपर्ने बताइन् ।
शिविर संचालनका सहजकर्ता सुष्मा कोइराला मेमोरियल हस्पिटलका सल्लाहकार डा. खकेन्द्र भण्डारीले टीकापुर नगरपालिकाले आर्थिक सहयोग गरेमा दुई करोड सम्मको सहयोग हुने गरी टीकापुर अस्पतालमा आगोले जलेको उपचारको लागि छुट्टै युनिट संचालनका लागि इन्डो प्लाष्टर जर्मनी संस्थामा पहल गर्ने बताएका छन् । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले टीकापुर अस्पतालमा आगोले जलेको विरामीका उपचारका लागि सेवा सञ्चालन गर्न नगरपालिकाले आवश्यक रकम छुट्टयाउने बताउँदै सहजीकरणका लागि अस्पताललाई आग्रह गरेका छन् ।
कार्यक्रम नगरप्रमुख थाारुको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी, ललिता सुनार, सुष्मा कोइराला मेमोरियल हस्पिटलका जनरल सर्जन डाक्टर रोजिना शिल्पकार स्वाँरले शुभकामना मन्तव्य राखेका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक कमलबहादुर रावलले सञ्चालन गरेको कार्यक्रममा स्वागत टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले गरेका थिए ।
४ दिनसम्म सञ्चालन हुने शिविरमा सुष्मा कोइराला मेमोरियल हस्पिटलका जनरल सर्जन डाक्टर रोजिना शिल्पकार स्वाँरको नेतृत्वमा रहेको १४ जनाको टोलीले सेवा दिनेछ । शिविरमा आगोले पोलेका बिरामीदेखि जन्मजात रुपमा ओट तथा तालु फाटेका र अन्य गाँठागुँठीहरुको पनि उपचार गरिने आयोजकले जानकारी दिएको छ । यसअघि पनि टीकापुर यस्तो प्रकारको शिविर सञ्चालन भएको थियो । यसअघि सञ्चालन भएको शिविरमा ८ सय जना विरामी दर्ता भएको मध्ये एक सय ८० जनाको सर्जरी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *