न्यौपानेले चुनावी एजेण्डा गरे सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर २५ माघ /
नेकपा एमाले कैलाली क्षेत्र नं. १ बाट उम्मेदवार बनेका द्वारिका प्रसाद न्यौपानेले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।
आउने फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीबाट उम्मेदवार बनेका न्यौपानेले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त एजेण्डा सार्वजनिक गरेका हुन । न्यौपानेले कैलाली क्षेत्र नं. १ लाई मध्यनजर गर्दै आवश्यकता र आम्दानीलाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन् ।
जनताबाट निर्वाचित भएर संसदमा गएपछि सांसदले पाउने सबै सेवासुविधा सामाजिक क्षेत्रका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “मैले संसदबाट पाउने सबै सेवा सुविधा यसै क्षेत्रका माद्यामिक तहमा अध्ययन गरिरहेका विपन्न गरिब परिवारका बिद्यार्थीलाई अध्ययनमा खर्च गर्ने छु ।” उनले भने, “अन्य सामाजिक क्षेत्रमा पनि त्यो रकम खर्च हुने छ ।” तिनै तहको सरकारसँग समन्वय गरेर आफ्ना सबै एजेण्डालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनतासँग प्रत्यक्ष सहजीकरणका लागि कैलाली क्षेत्र नं. मै सचिवालय स्थापना गरेर काम गर्ने प्रतिबद्धता गरेका न्यौपानेले बस्ती जोगाउनका लागि कर्णाली करिडोरलाई प्रमुख प्राथमिकतामा राखेर त्यसलाई पर्यटनसँग जोड्दै आम्दानीसँग जोड्ने उनको योजना छ । टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पनालाई आत्मसात गर्दै त्यसलाई जानकी, जोशीपुर हुँदै भजनीसम्म फैलाएर विकासको योजना तयार पारिने पत्रकार सम्मेलनमा न्यौपानेले बताए ।
क्षेत्र नं. १ लाई जोड्ने चक्रपथ निर्माण गर्ने योजना उनको रहेको छ । स्वास्थ्यमा टीकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आंगिक क्याम्पस वा मेडिकल कलेजको रुपमा विकास गर्ने, अस्पताललाई सिकलसेल र जलनको उपचारका लागि तत्काल विभाग खडा गरि बृहत सेवा भवन निर्माण गर्ने र जोशीपुर गाउँपालिकामा आधारभूत विशेषज्ञ सेवा सहित २५ शैयाको अस्पताल विकास गर्ने बताइएको छ ।
उनले २०७९ सालको प्रदेशको निर्वाचनमा उठाइएका एजेण्डालाई आत्मसात गर्दै गर्न सक्ने योजनाको साथ जनताको माझमा आएको बताएका छन् । “एजेण्डा बनाउने मात्रै होइन । ती एजेण्डा पूरा गर्ने सामर्थ्य र योजनाको साथ जनताको माझमा आएको छु ।” उनले भने, “मलाई मतदाताले विश्वास गरेर एकपटक मौका दिनुहुनेछ ।” टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने विषयमा पनि आफू गम्भीर रहेको उनले बताए । पत्रकार सम्मेलनमा न्यौपानेले यो निर्वाचनमा नेकपा एमालेले सरकार बनाउनका लागि स्पष्ट बहुमत ल्याउने उल्लेख गर्दै निर्वाचन पछि एमालेको सरकार बन्ने दाबी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *