पक्की आवास पाएपछिको खुशी

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०८ चैत
टीकापुर नगरपालिका वडा नं. ८ का मनमाने भुल अहिले निकै खुशी हुनुहुन्छ । सुदुरपश्चिम प्रदेश सरकारको विषेश अनुदान र टीकापुर नगरपालिकाको समन्वयमा नयाँ पक्की घर पाएपछि मनमाने निकै खुशी हुनुभएको हो । टीकापुर नगरपालिका वडा नं. ८ को जग्गा अतिक्रमण गरी बस्दै आएका मनमाने लगायत १५ घरधुरीलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएको छ । “कयौं वर्ष हामिले घाम पनि नभनी कष्टकर जीवनयापन गरेका थियौं । त्यो हामीलाई राम्रोसँग थाहा छ ।” मनमानेले भन्नुभयो, “स्थानीय सरकार हाम्रो लागि भगवान भएर आयो । त्रीपालको हाम्रो बास आज पक्की घरमा हुन थालेको छ ।”
वडा नं. ८ कै चन्द्रमाने दमाई पनि पक्की घर पाएपछि निकै खुशी हुनुहुन्छ । सरकारले आफुहरुको कुनै लगानी नहुँदा पनि पक्की घर निर्माण गरि हस्तान्तरण गरेपछि आफुहरुलाई बस्नको लागि निकै सहज भएको चन्द्रमाने बताउनुहुँन्छ । “हामीले सोचेका पनि थिएनौं, सरकारले हामीलाई घर बनाएर दिन्छ भन्ने कुरा ।” चन्द्रमानेले भन्नुभयो, “अहिले ऐलानी जग्गामा भएपनी घर निर्माण गरिदिएको छ । परिवार सुरक्षित बस्न पाएका छौं । आफु कामको लागि घर बाहिर हुँदा पनि घरको चिन्ता कम हुने भएको छ ।” उहाँले घर बाहिर गएर कमाई नगरे साँझ बिहानको चुलो बल्न निकै कठिन हुने गरेको बताउँदै सडक किनारको बास र बाहिरको कमाईले आफुहरु सधै असुरक्षित महसुस गर्दै आएको स्मरण समेत गर्नुभयो ।
घुमन्तेको जस्तो जीवन रहेको आफुहरुको जीवन एकएक स्थानीय सरकारको सहयोगमा परिवर्तन भएको सोही ठाउँका दिपक बादी बताउनुहुँन्छ । उहाँले सडकको किनारमा परिवारसहित बस्दा आफुहरुले पाएको दुख सम्झदा निकै पीडा हुने गरेको बताउनुभयो । “हिउँदमा चिसोको पीडा, गर्मीमा हावाहुरी र लामखुट्टेको पिडा त वर्षातमा बाढी र डुवानको जोखिमले निकै सताउने गरेको थियो ।” दिपकले भन्नुभयो, “अब यो वर्षबाट त्यो समस्या आउने छैन । खान र लगाउनको समस्या होला तर बस्नको समस्या सरकारले समाधान गरिदिएको छ ।” उहाँले आफुहरुसँग भएको ऐलानी जग्गाको लालपुर्जा समेत पाइदिएको भएपछि आफुहरु अझै खुशी हुने बताउनुभएको छ ।
विपन्न दलित परिवारहरुका लागि नगरपालिकाको समन्वयमा आर्थिक वर्ष २०७६ / ०७७ मा ७ वटा घर निर्माण भएका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा ८ घर निर्माण भएका थिए । प्रदेश सरकारको विषेश अनुदानमा निर्माण भएका घर निर्माणको लागि प्रती घर करिब ९ लाख रुपैयाँ खर्च भएको वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले बताउनुभएको छ । “वडाका ती विपन्न दलित परिवारको अवस्था निकै कष्टकर थियो । वडाको जग्गामा उहाँहरु बस्दै आउनुभएको थियो ।” वडा अध्यक्ष ठकुल्लाले भन्नुभयो, “यसलाई हामिले निरन्तरता दिने तयारी गरेका छौं । पालिकामा भएका अति विपन्न परिवारहरुको व्यवस्थापनका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।”
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले आर्थिक अवस्था निकै कम्जोर भएका परिवारलाई राहत हुने गरि जनता आवास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “आर्थिक रुपमा विपन्न नागरिकहरुलाई यसैगरी जनता आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गर्दै जाने छौं । त्यसका लागि नगरपालिकाले गर्नुपर्ने कामका लागि सधै अग्रसर रहने छ ।” नगर प्रमुख रावलले भन्नुभयो, “एकैपटक सबैको आवश्यकता पुरा गर्न नगरपालिकाको आर्थिक अवस्थाले पनि भ्याउँदैन । आफ्नो स्रोतसाधन अनुसार नागरिकहरूको आवश्यकतालाई पूरा गर्दै लगिने छ ।” नगर प्रमुख रावलले चालू आर्थिक वर्षमा नगरपालिकाको वडा नं. ६ को पर्सेनीमा जनता आवास कार्यक्रम अन्तर्गत १८ घरको शिलान्यास भएर काम अगाडि बढाइएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *