शेयेर गर्नुहोस
टीकापुर ११ असोज/
टीकापुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिको पदस्थापन तथा दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । संघको नवनिर्वाचित टिममा अध्यक्ष चक्रपाणी सापकोटा, उपाध्यक्ष उद्योगतर्फ सन्तोष खड्का, उपाध्यक्ष वाणिज्यतर्फ कृष्ण बजगाई, महासचिव नवराज रिमाल, सचिव तपेन्द्र कुँवर र कोषाध्यक्ष लोकेश साउँद रहेका छन । त्यस्तै सदस्यहरुमा प्रकाश तिमिल्सिना, पृथ्वीराज ढुंगाना, हेमन्त रावल, दुर्गा साहु, बमबहादुर ओली, नमराज देवकोटा, हंशराज रावल र लालबहादुर चौधरी रहेका छन भने महिला सदस्यमा टीका शाही, दलित सदस्यमा माया बागदास र जनजाति सदस्यमा जीतबहादुर चौधरीले सपथ लिएका छन ।
संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा पहिलो सत्र सम्पन्न भएको थियो भने दोस्रो सत्रको अध्यक्षता नवनिर्वाचित अध्यक्ष चक्रपाणी सापकोटाले गरेका थिए । कार्यक्रममा टीकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहले टीकापुरको बृहत्तर विकासका लागि सबैको हातेमालो जरुरी रहेको बताएका छन् । उनले सबैको उद्देश्य र लक्ष्य साझा हुनुपर्नेमा जोड दिएका छन् । ‘के राजनीतिकर्मी के ब्यापारी, हामी सबैको उद्देश्य र लक्ष्य एउटै हुनुपर्छ ।” नगर उपप्रमुख शाहले भने, ‘हामी सबैको साझा प्रयासले मात्रै टीकापुरको बृहतर विकास सम्भव छ ।”
उनले औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन भैरहेको जानकारी गराउँदै आफ्नै नेतृत्वमा सम्भाव्यता अध्ययन भैरहेको र दशैं तिहार लगत्तै तिब्र गतिमा काम अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।नगर उपप्रमुख शाहलेले टीकापुर पार्कलाई साझेदारी वा निजी क्षेत्रलाई ठेक्कामा दिएर सञ्चालन गर्ने बारेमा नगरपालिकाले नीतिगत निर्णय गरेको बताए । उनले निजी क्षेत्रलाई ठेक्कामा दिएर पार्कको व्यवशायिकरणमा जोड दिईने बताएका छन् ।
सोही कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन विकले समाज परिवर्तनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले एकता र सहकार्यका माध्यमबाट अघि बढ्न स्थानीय सरकार तयार रहेको बताउँदै विकासका लागि एकता र सहकार्य महत्त्वपूर्ण हुने बताएका छन् । सो अवसरमा संघका पूर्वअध्यक्षद्वय नरेशकुमार खत्री र आनन्द हमाल, निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारी, ब्यवशायी तर्क बुढा लगायतले मन्तव्य राखेका थिए ।